७१ औं वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक, गभर्नरले भने: अर्थतन्त्रको दिगो विकासमा काम गर्छौं

105
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ७१ औं वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सवको विशेष अवसरमा केन्द्रीय बैंकले मुलुकको समग्र आर्थिक हित र वित्तीय प्रणालीको सुदृढीकरणका लागि आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ ।

गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले एक सन्देश जारी गर्दै मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकासका लागि काम गर्ने संकल्प व्यक्त गरेका छन् । बैंकले सुरक्षित र सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण र व्यवस्थापनलाई प्राथमिकता दिने जनाएको छ ।

यस्तै, वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न बैंक सधैं समर्पित रहने प्रतिबद्धता समेत जनाइएको छ ।

नेपाल राष्ट्र बैंकको स्थापना वि.सं. २०१३ साल वैशाख १४ गते (सन् १९५६ अप्रिल २६) मा भएको थियो । नेपाल राष्ट्र बैंक ऐन २०१२ अन्तर्गत यसको स्थापना भएको थियो । राष्ट्र बैंकको प्रथम गभर्नर हिमालय शमसेर राणा हुन् ।

केन्द्रीय बैंकको रुपमा राष्ट्र बैंकले मौद्रिक नीति र विदेशी विनिमय नीति तर्जुमा गर्दै आएको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को प्रस्तावनामा अर्थतन्त्रको दिगो विकासमा सहयोग पुग्ने गरी मूल्य र शोधनान्तर स्थिरता तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नका लागि केन्द्रीय बैंकको रुपमा नेपाल राष्ट्र बैंकको आवश्यकता रहेको उल्लेख छ ।

आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्न आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी व्यवस्थापन गर्नु केन्द्रीय बैंकको उद्देश्य हुने ऐनमा उल्लेख छ । त्यस्तै वित्तीय सेवाको पहुँच अभिवृद्धि र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी बैंकिङ तथा वित्तीय प्रणाली प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने र सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने केन्द्रीय बैंकको उद्देश्य हो ।

यी उद्देश्यमा प्रतिकूल प्रभाव नहुने गरी नेपाल सरकारको आर्थिक नीतिमा सहयोग गर्नु केन्द्रीय बैंकको उद्देश्य हुने ऐनमा उल्लेख छ ।

ऐनले राष्ट्र बैंकको दर्जन बढी काम, कर्तव्य र अधिकारको व्यवस्था गरेको छ :

बैंक नोट तथा सिक्का निष्कासन गर्ने ।

मूल्य स्थिरता कायम गर्न आवश्यक मौद्रिक नीति तर्जुमा गर्ने र मौद्रिक नीति कार्यान्वयन गर्ने, गराउने ।

विदेशी विनिमय नीति निर्माण गर्ने तथा विदेशी विनिमय नीति कार्यान्वयन गर्ने, गराउने ।

विनिमय दर पद्धति निर्धारण गर्ने ।

विदेशी विनिमय सञ्चितिको व्यवस्थापन र सञ्चालन गर्ने ।

वाणिज्य बैंक तथा वित्तीय संस्थालाई बैंकिङ तथा वित्तीय कारोबार गर्न इजाजतपत्र जारी गर्ने, त्यस्तो कारोबारको सम्बन्धमा आवश्यक नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने ।

बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको नियमन, निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धमा निर्देशन तथा मापदण्ड जारी गर्ने ।

पचास करोड रुपैयाँभन्दा बढी सेयर पूँजी भएको वा सो रकम बराबरको वार्षिक कारोबार गर्ने सहकारी संस्थाको वित्तीय सुशासन तथा जोखिमको आधारमा सहकारी विभागको अनुरोधमा सहकारी सम्बन्धी प्रचलित कानूनको समेत अधिकार प्रयोग गरी नियमन, निरीक्षण तथा सुपरिवेक्षण गर्ने ।

नेपाल सरकारको बैंकर, सल्लाहकार तथा वित्तीय एजेन्टको रुपमा कार्य गर्ने ।

वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम ऋणदाताको रुपमा कार्य गर्ने ।

भुक्तानी, फछ्र्यौट (क्लियरिङ) तथा हिसाब मिलान (सेटलमेन्ट) पद्धतिको स्थापना तथा प्रवर्धन गरी सो कार्यलाई नियमित गर्ने ।

तरलता व्यवस्थापनका लागि आवश्यक उपकरणको माध्यमबाट खुला बजार कारोबार सञ्चालन गर्ने ।