
काठमाडौं । चुनावको समयमा बढेको चलनचल्ती वा प्रचलनमा रहेको मुद्रा (करेन्सी इन सर्कुलेसन) घट्न लागेको छ । नेपाल राष्ट्र बैंकले चैत मसान्तसम्मको वित्तीय प्रतिवेदन सार्वजनिक गर्दा फागुन मसान्तको तुलनामा चैतमा चलनचल्तीमा रहेको मुद्रा घटेको देखिएको हो ।
फागुन २१ गतेको निर्वाचनका कारण फागुन मसान्तमा चलनचल्तीमा रहेको मुद्रा करिब ८ खर्ब रुपैयाँसम्म पुगेको थियो ।
माघ मसान्तमा ७ खर्ब ७६ अर्ब ३१ करोड रुपैयाँ रहेको चलनचल्तीमा रहेको मुद्रा फागुन मसान्तमा ७ खर्ब ९६ अर्ब २० करोड ५५ लाख रुपैयाँ पुगेको थियो ।
२०८२ चैत मसान्तमा आउँदा चलनचल्तीमा रहेको मुद्रा घटेर ७ खर्ब ६९ अर्ब २१ करोड रुपैयाँमा झरेको छ । यसले चुनावको समयमा बढेको नगद कारोबार बैंकिङ प्रणाली हुँदै राष्ट्र बैंकमा फर्किँदा चलनचल्तीमा रहेको मुद्रा पनि घटेको देखिन्छ ।
२०८२ असार मसान्तमा ७ खर्ब ५० अर्ब ११ करोड रुपैयाँ रहेको यस्तो मुद्रा दशैं–तिहार लगायत चाडपर्वको समयमा बढ्ने गरेको थियो ।
असोज मसान्तमा चलनचल्तीमा रहेको मुद्रा ७ खर्ब ८८ अर्ब ७८ करोड रुपैयाँसम्म पुगेको थियो । पुस मसान्तमा घटेर ७ खर्ब ६० अर्ब १० करोड रुपैयाँसम्म झरेकोमा माघ र फागुनमा बढ्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । चैतमा भने पुनः घटेको छ ।
नेपालमा डिजिटल भुक्तानी बढ्दै जाँदा चलनचल्तीमा रहेको मुद्रा घट्दै जानुपर्ने भए पनि त्यसको प्रभाव भने न्यून देखिएको छ । हरेक आर्थिक वर्षमा चलनचल्तीमा रहेको मुद्रा बढ्दै गएको छ ।
२०८१ असार मसान्तमा ६ खर्ब ८० अर्ब ५ करोड रुपैयाँ रहेको चलनचल्तीको मुद्रा २०८२ असार मसान्तमा ७ खर्ब ५० अर्ब ११ करोड रुपैयाँ पुगेको हो । २०८० असार मसान्तमा चलनचल्तीमा रहेको मुद्रा ६ खर्ब २५ अर्ब ७९ करोड रुपैयाँ मात्रै थियो ।











प्रतिक्रिया