
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा (४) को प्रयोजनका लागि सम्पत्ति विवरण पेश गरेका हुन् ।
डेपुटी गभर्नर पण्डितले पेश गरेको सम्पत्ति विवरणमा पण्डितको घरजग्गा, नगद मौज्दात, सुनचाँदी र सेयर लगानी गरेको देखिन्छ।
विवरणअनुसार डेपुटी गभर्नर पण्डितको काठमाडौंको टोखामा श्रीमती कामना शर्मा पण्डितको नाममा २ करोड २० लाख रुपैयाँमा खरिद गरिएको १६३० वर्गफिटको घर रहेको छ । घर निर्माण गर्ने सीडी डेभलपर्सलाई १ करोड ७४ लाख ५० हजार रुपैयाँ भुक्तानी, अन्य लागत २० लाख ४५ हजार रुपैयाँ र २५ लाख ५ हजार रुपैयाँ बैंक कर्जाको ब्याज समेत रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । आम्दानीको स्रोतका रूपमा राष्ट्र बैंकको तलब, कलेजमा अध्यापन, पत्नीको आर्जन, जग्गा बिक्रीबाट भएको आय र सिटिजन्स बैंकबाट लिएको कर्जा रहेको उल्लेख गरेका छन् ।
यसैगरी, काठमाडौंको सामाखुसीमा आमा गौरी पण्डितको नाममा ६ आनामा बनेको साढे दुईतले पैतृक घर रहेको उल्लेख गरेका छन् ।
जग्गाको हकमा पण्डितको आफ्नै नाममा कैलालीको धनगढीमा १० लाखमा खरिद गरिएको जग्गा छ । ३३८.६३ वर्गमिटरमा रहेको उक्त जग्गा आफ्नो र पत्नीको आर्जनबाट खरिद गरेको उल्लेख गरेका छन् । उक्त जग्गा नेपाल राष्ट्र बैंक, धनगढीको नाममा मालपोत कार्यालयमा रोक्का रहेको उल्लेख गरेका छन् ।
यस्तै, भाइ बुहारी अनिता गौतको नाममा रुपन्देहीमा ४० लाखमा खरिद गरिएको संयुक्त लगानीको जग्गा रहेको उल्लेख गरेका छन् । ३९३.६५ वर्गमिटर रहेको उक्त जग्गामा ५० प्रतिशत हिस्सा आफ्नो रहेको र निजी आर्जन र पत्नीको आर्जनबाट उक्त जग्गा खरिद गरेको उल्लेख गरेका छन् ।
काठमाडौंको तारकेश्वरमा श्रीमतीको नाममा ६९ लाखमा खरिद गरिएको ५ आना ३ पैसा जग्गा रहेको उल्लेख गरेका छन् । यसमा निजी आर्जन, पत्नीको पेन्सन फन्ड र वैदेशिक जागिरबाट आर्जन गरेको रकम, नेपाल राष्ट्र बैंकको तलब र कर्जा समेतबाट खरिद गरेको उल्लेख गरेका छन् । तनहुँमा बुबा केशरीराज पण्डितको नाममा ११ रोपनीभन्दा बढी पैतृक जग्गा रहेको विवरणमा उल्लेख छ ।
पण्डितको सम्पत्ति विवरणमा बैंक मौज्दात २ करोडभन्दा माथि रहेको उल्लेख गरिएको छ । उनको नेपाल राष्ट्र बैंकको खातामा १ करोड १ लाख २६ हजार रुपैयाँ र अर्को एक वाणिज्य बैंकको खातामा १ करोड ११ लाख ८ हजार रुपैयाँ मौज्दात रहेको छ । कर्मचारी सञ्चय कोषमा २४ हजार, नागरिक लगानी कोषमा २३ हजार २८० रुपैयाँ र एक वाणिज्य बैंकमा ७ हजार ८५६ अमेरिकी डलर रहेको उल्लेख गरेका छन् ।
श्रीमती कामना शर्मा पण्डितको नाममा ५ लाख ७६ हजार नेपाली रुपैयाँका साथै ३३ हजार ५७९ अमेरिकी डलर समेत बचत रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । यो रकम पारिश्रमिक, बचत र पेन्सन कोषबाट प्राप्त भएको उल्लेख गरिएको छ । छोरा अभ्युदय पण्डितको बैंक खातामा ५ लाख ७६ हजार ६२३ रुपैयाँ र छोरी आयिका पण्डितको बैंक खातामा ४ लाख ४६ हजार ४०८ रुपैयाँ रहेको छ ।
डेपुटी गभर्नर पण्डितले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार पण्डित परिवारसँग २० तोला सुन, २५० तोला चाँदी र करिब २ लाख रुपैयाँ मूल्यमा खरिद गरिएको हीराको औँठी र टप रहेको छ । यी धातुहरू दाइजो, उपहार र निजी आर्जनबाट प्राप्त भएको जनाइएको छ ।
डेपुटी गभर्नर पण्डितको विभिन्न बैंक, जलविद्युत कम्पनी र बीमा कम्पनीहरूमा आईपीओ भरेको हजारौं कित्ता सेयर लगानी रहेको छ । बैंक, जलविद्युत र बीमा कम्पनीमा गरी ५ हजार ७ सय कित्ताभन्दा बढी सेयर आफ्नो नाममा रहेको छ । बैंक तथा वित्तीय संस्थाको २ हजार ९४८ कित्ता, जलविद्युत कम्पनीको ३६०६ कित्ता र बीमा कम्पनीको ३६ कित्ता सेयर रहेको छ । श्रीमती कामना शर्मा पण्डितको नाममा बैंक तथा वित्तीय संस्थाको ५११ कित्ता र बीमाको १२ कित्ता सेयर छ । छोरा अभ्युदय पण्डितको नाममा बैंक तथा वित्तीय संस्थाको २२० कित्ता सेयर र बीमा कम्पनीको १२ कित्ता सेयर छ ।
सवारी साधनतर्फ पण्डितको नाममा एउटा मोटरसाइकल छ भने श्रीमतीको नाममा दुईवटा मोटरसाइकल र २४ लाख रुपैयाँमा खरिद गरिएको महिन्द्राको विद्युतीय गाडी छ ।
उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार नेपाल राष्ट्र बैंकबाट २ करोड ३० लाख २५ हजार रुपैयाँ ऋण लिएकोमा १ करोड २१ लाख ५९ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यस्तै, सिटिजन्स बैंकबाट पनि उनले १ करोड ३ लाख रुपैयाँ ऋण लिएकोमा सन् २०१९ मै सावाँ तथा ब्याज भुक्तानी गरीसकेको र कुल १ करोड २८ लाख ५ हजार रुपैयाँ भुक्तानी गरेको उल्लेख गरेका छन् ।
पण्डितले आफ्नो सम्पत्तिको मुख्य स्रोतमा पारिश्रमिक, भत्ता, अध्यापन, श्रीमतीको आय, घरजग्गा बिक्री र पैतृक सम्पत्तिलाई उल्लेख गरेका छन् । यस्तै, हजुरबुबाबाट प्राप्त ७ लाख ३२ हजार ९१९ रुपैयाँ पनि उनले आम्दानीको रूपमा देखाएका छन्, जुन रकम हजुरबुबाको आफ्नै कामबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ ।









प्रतिक्रिया