व्यवसायी दीपक भट्ट र शुलभ अग्रवालविरुद्ध बैंकिङ कसुरमा पनि अनुसन्धान सुरु

1.1k
Shares

काठमाडौं । व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालमाथि बैंकिङ कसुरमा पनि अनुसन्धान सुरु हुने भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको भट्ट र अग्रवालमाथि बैंकिङ कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पनि अनुसन्धान सुरु गरेको हो ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान अन्तिम चरणमा भए पनि त्यससँग जोडिएको धितोपत्र ऐन, बीमा ऐन अन्तर्गतको सम्बद्ध कसुरमा थप अनुसन्धान गर्नुपर्ने भन्दै बुधबार थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

सम्पत्ति शुद्धीकरणसँगै सम्बद्ध कसुर अन्तर्गत बीमा ऐन र धितोपत्र सम्बन्धी ऐन अन्तर्गतको कसुरमा अनुसन्धान हुँदै गर्दा भट्ट र अग्रवालमाथि बैंकिङ कसुरको पनि अनुसन्धान सुरु गरिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानमा प्राप्त भएको तथ्य र प्रमाणसमेतको आधारमा बैंकिङ कसुरको मुद्दामा पनि अनुसन्धान गर्न सिआईबीलाई पत्राचार गरेको स्रोतले बताएको छ ।

सुलभ अग्रवालले व्यावसायिक प्रयोजनका लागि लिएको कर्जा दुरुपयोग गरी दीपक भट्टको व्यक्तिगत खातामा ट्रान्सफर गरेको अभियोगमा पनि अनुसन्धान सुरु गरेको हो ।

शंकर ग्रुपका बैंक खातामार्फत दीपक भट्टको खातामा रकम ट्रान्सफर भएको र उक्त कारोबार शंकास्पद कारोबार भएको पाइएपछि राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू) ले अनुसन्धान गर्न भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्र पठाएको थियो ।

राष्ट्र बैंकले विभागलाई पठाएको पत्रमा भट्टका नाममा सिद्धार्थ बैंकमा रहेको खातामा जुन २०२१ मा जगदम्बा स्टिल प्रालिका नाममा नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको खाताबाट ४५ करोड ‘ट्रान्सफर’ गरिएको थियो ।

यस्तै हिमालयन बैंक (मर्जरअगाडिको सिभिल बैंक) को खाता प्रयोग गरी दीपक भट्टको सिद्धार्थ बैंकको खातामा पनि २०७९ को अन्तिम त्रैमासमा रकम जम्मा भएको थियो ।

शंकर समूहको जगदम्बा स्टिलको नाममा लिएको कर्जा व्यावसायिक प्रयोजन विपरीत दीपक भट्टको खातामा जम्मा भएको पाइएपछि बैंकले वित्तीय जानकारी इकाईमा दिएको सूचनाको आधारमा वित्तीय जानकारी इकाईले थप अनुसन्धान गरेको थियो।

यस्तै जगदम्बा स्टिलकै लागि लिएको ४५ करोड रुपैयाँ कर्जा दुरुपयोग गरी दीपक भट्टको खातामा जम्मा भएको विषयमा वित्तीय जानकारी इकाईले २०७९ मै सम्पत्ति शुद्धीकरण विभागमा थप अनुसन्धानको लागि पठाएको थियो । सोही रकमबाट भट्टले हिमालयन री-इन्स्योरेन्सको सेयरमा लगानी गरेको आशंका छ।

सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान नगरी फिर्ता पठाएपछि वित्तीय जानकारी इकाईले सिआईबीमा पनि पठाएको थियो । दुवै निकायले त्यतिबेला यसमा अनुसन्धान नगरी फाइल तामेलीमा राखेका थिए ।

शंकर ग्रुपको कम्पनी जगदम्बा स्टिलबाट भट्टका नामको ओभरड्राफ्ट खातामा सीमाभन्दा बढी कारोबार भएको विषयमा अनुसन्धान नगरी निकायले तामेलीमा राखेको फाइल अब पुनः खुल्ने भएको छ ।

यति मात्रै नभएर शंकर समूह र दीपक भट्टकै लगानी रहेको हिल्टन होटलले भ्यालुएसन बढाएर बढी कर्जा लिएको विषयमा समेत अनुसन्धान हुने स्रोतले बताएको छ ।

‘शंकरलाल अग्रवाल, सुलभ अग्रवाल र दीपक भट्टबीच शंकर समूहका विभिन्न कम्पनीको लागि लिएको कर्जा प्रयोजन विपरीत व्यक्तिगत खातामा ट्रान्सफर गरी दुरुपयोग भएको देखिएको छ,’ स्रोतले भन्यो, ‘जगदम्बा स्टिलको लागि लिएको चालू पुँजी कर्जा दुरुपयोग गरी शंकरलाल अग्रवालसहितको व्यक्तिगत खातामा ट्रान्सफर हुने र त्यसपछि दीपक भट्टको खातामा ट्रान्सफर भएको देखिएको हो ।’

८० अर्ब रुपैयाँभन्दा बढी कर्जा उपयोग गरिरहेको शंकर समूहका विभिन्न कम्पनीको कर्जा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानका क्रममा प्रयोजन विपरीत दुरुपयोग भएको देखिएपछि कर्जा दुरुपयोगमा बैंकिङ कसुर अन्तर्गत अनुसन्धानको लागि सिआईबीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यही साता पत्राचार नै गरेको स्रोतले जनाएको छ ।

शंकर ग्रुपले कर्जा दुरुपयोग गरी पुँजी पलायन गरेको पनि आरोप छ । यो समूहले दुबईमा कार्यालय नै खोलेर रियलस्टेट लगायत बिजनेस गरिरहेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान अन्तिम चरणमा पुगेको र धितोपत्र ऐन र बीमा ऐन सम्बद्ध कसुरमा थप अनुसन्धानको लागि हिरासतमा राख्न ७ दिनको म्याद थप गरेको छ ।

उक्त अनुसन्धान सकिएसँगै भट्ट र सुलभ अग्रवाललाई सिआईबीले नियन्त्रणमा लिएर बैंकिङ कसुरमा अनुसन्धान अगाडि बढाउने स्रोतको दाबी छ । सिआईबीले बैंकिङ कसुरको अनुसन्धानको लागि कागजात र प्रमाण संकलन गरिरहेको छ ।

‘सुरुमा शंकर समूह र दीपक भट्ट समेत संलग्न भएका सबै कम्पनीको कर्जा विवरण र कर्जा स्वीकृत गर्दाको मूल्यांकन प्रतिवेदनसमेत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट माग भएको थियो,’ स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘सिआईबीले पनि शंकर समूहको सबै परियोजनाको कर्जा र खाताको कारोबार विवरण २ साताअगाडि नै माग गरेको थियो ।’

दीपक भट्ट, सुलभ अग्रवालसहित परिवारका सदस्यहरूको बैंक खाता र कारोबार विवरणसमेत माग गरेर सिआईबीले अनुसन्धान गरिरहेको स्रोतले पुष्टि गरेको छ । विशेष गरी कर्जा स्वीकृत भएका खाताको कारोबार रेकर्डहरू माग भएको एक बैंकरले बताए ।

शंकर ग्रुपका ४० भन्दा बढी कम्पनी छन् । जसमा ८० अर्बभन्दा बढी कर्जा प्रवाह भएको देखिएको राष्ट्र बैंक स्रोतले बताएको छ।