भारत र चीनलाई गाली दिँदै आप्रवासीहरूका विरुद्ध विषवमन गर्ने पोस्ट ट्रम्पले सेयर गरे

588
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक आप्रवासीविरोधी पोस्ट पुनः साझा गरेका छन् ।

मध्यावधि निर्वाचनअघि उनको लोकप्रियता खस्कँदै गएको सर्वेक्षणहरूले देखाइरहँदा उनले जन्मसिद्ध नागरिकताको विषयमा उत्तेजक बयानबाजीलाई बढावा दिएका हुन् ।

एक दक्षिणपन्थी टिप्पणीकारको उक्त लामो पोस्टमा आप्रवासन र अमेरिकामा जन्मिएकाहरूलाई दिइने कानुनी संरक्षणको कडा विरोध गरिएको छ । उक्त पोस्टमा वर्तमान जन्मसिद्ध नागरिकताको व्याख्याले आप्रवासीहरूलाई ‘चीन वा भारत वा पृथ्वीको कुनै अन्य नरक जस्तै ठाउँबाट पूरै परिवार ल्याउन’ अनुमति दिने दाबी गरिएको छ ।

‘यहाँ जन्मिएको बच्चा तुरुन्तै नागरिक बन्छ र त्यसपछि उनीहरूले चीन वा भारत वा पृथ्वीको कुनै अन्य नरक जस्तै ठाउँबाट पूरै परिवार ल्याउँछन् । यो देख्न धेरै टाढा जानु पर्दैन । यहाँ अब अंग्रेजी बोलिँदैन । आज आउने आप्रवासी वर्गमा यो देशप्रति लगभग कुनै वफादारी छैन । पहिले यस्तो हुँदैनथ्यो,’ पोस्टमा लेखिएको छ ।

उक्त पोस्टमा रोजगारी र आप्रवासन प्रणालीमा प्रणालीगत पक्षपात रहेको आरोप समेत लगाउँदै भनिएको छ, ‘तपाईं भारत वा चीनको हुनुपर्छ किनभने लगभग सबै आन्तरिक संयन्त्रहरू भारतीय र चिनियाँहरूद्वारा सञ्चालन हुने गरी बनाइएका छन् ।’

पोस्टमा पहिलेको युरोपेली आप्रवासनमा देखिएको घुलमिल हुने प्रक्रिया धेरै पहिले नै सकिएको दाबी गर्दै अमेरिका मेल्टिङ पट (विविधता मिसिएको समाज) बाट क्यास इन पट (पैसा कमाउने ठाउँ) मा परिणत भएको तर्क गरिएको छ ।

साझा गरिएको उक्त पोस्टले जन्मसिद्ध नागरिकताको बहसलाई कानुनी प्रश्नभन्दा पनि सांस्कृतिक र राजनीतिक संकटका रूपमा प्रस्तुत गरेको छ । ‘यो वास्तवमा कानुनको बारेमा होइन । यो जनमतको बारेमा हो,’ पोस्टमा भनिएको छ ।

ट्रम्पले पोस्ट साझा गर्दा कुनै क्याप्सन थपेका छैनन् तर यो कदम आप्रवासन नीति र राजनीतिक प्रतिद्वन्द्वीहरूमाथि उनको बढ्दो आक्रमणसँग मेल खान्छ ।

यो बयानबाजी ट्रम्पका लागि राजनीतिक रूपमा संवेदनशील समयमा आएको छ । रोयटर्स÷इप्सोस र एपी–एनओआरसी सहितका धेरै सर्वेक्षणहरूले ट्रम्पको अनुमोदन दर ३० प्रतिशतको हाराहारीमा रहेको देखाएका छन् । अर्थतन्त्र, आप्रवासन र जारी इरान द्वन्द्व जस्ता मुख्य विषयहरूमा उनको समर्थन घट्दै गएको छ । बहुसंख्यक जनताले देश गलत दिशामा गइरहेको बताएका छन् ।

अप्रिलको सुरुमा ट्रम्प जन्मसिद्ध नागरिकता सम्बन्धी सर्वोच्च अदालतको सुनुवाइमा उपस्थित भएका थिए । यसो गर्ने उनी पहिलो बहालवाला अमेरिकी राष्ट्रपति बनेका हुन् ।

यस मुद्दाको केन्द्रमा डोनल्ड ट्रम्पद्वारा जनवरी २०२५ मा जारी गरिएको एक कार्यकारी आदेश छ जसले अमेरिकी संविधानको चौधौं संशोधनको लामो समयदेखिको व्याख्यालाई उल्टाउन खोजेको छ ।

सुनुवाइका क्रममा प्रधानन्यायाधीश जोन रोबर्ट्स र न्यायाधीश एलेना कागनले ट्रम्पको कानुनी तर्कमा शंका व्यक्त गरे भने नागरिक स्वतन्त्रताका वकिलहरूले संवैधानिक ग्यारेन्टीको बचाउ गरे । यो विवाद अमेरिकी संविधानको चौधौं संशोधनमा केन्द्रित छ र आलोचकहरूले यसलाई खारेज वा परिवर्तन गर्दा लाखौं मानिस प्रभावित हुन सक्ने चेतावनी दिएका छन् । यसको फैसला गृष्म ऋतुको सुरुसम्ममा आउने अपेक्षा गरिएको छ ।

रोयटर्स÷इप्सोसको सर्वेक्षणले ५२ प्रतिशत अमेरिकीहरूले ट्रम्पको देशनिकाला नीतिको समर्थन गर्ने उम्मेदवारहरूलाई साथ दिने सम्भावना कम रहेको फेला पारेको छ । आप्रवासन व्यवस्थापनमा उनको समर्थन पनि सन् २०२५ को सुरुवाती स्तरबाट उल्लेख्य रूपमा घटेको छ ।