
काठमाडौं । सरकारद्वारा समस्याग्रस्त घोषित २० वटा सहकारी संस्थाका ऋणी, सञ्चालक र जमानीकर्ताहरूलाई ऋण चुक्ता गर्न १५ दिनको अल्टिमेटम दिएको छ । ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय’ले वैशाख ८ गते एक जरुरी सूचना जारी गर्दै उक्त चेतावनी दिएको हो ।
समितिका अनुसार पटक–पटक फोन, एसएमएस र अन्य माध्यमबाट जानकारी गराउँदा पनि ऋणको साँवा, ब्याज र हर्जाना बुझाउन आलटाल गरेपछि सूचना प्रकाशित गर्दै ऋण तिर्न १५ दिनको अल्टिमेटम दिइएको हो ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बुद्धनगरस्थित समितिको कार्यालयमा सम्पर्क गरी ऋण राफसाफ नगरेमा ऋणीहरूको नाम र ठेगानासहितको विवरण सार्वजनिक गरिने समितिको सूचनामा उल्लेख छ ।
तोकिएको समयभित्र ऋण चुक्ता नगर्ने ऋणी, निजको परिवार तथा जमानीकर्ताको बैंक खाता र चल–अचल सम्पत्ति रोक्का गरिने जनाइएको छ । त्यस्तै, राज्यबाट प्राप्त हुने सार्वजनिक सेवा–सुविधाहरू रोक्काका लागि सम्बन्धित निकायमा लेखी पठाइने चेतावनी दिइएको छ ।
सहकारी ऐन, २०७४ र नियमावली, २०७५ बमोजिम धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गरी ऋण असुल उपर गरिने सूचनामा उल्लेख छ ।
सरकारले २० सहकारीहरूलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति तथा दायित्व राफसाफका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पेस गरेको छ ।
स्टान्डर्ड सेभिङ एण्ड क्रेडिट, प्यासिफिक, सोसाइटल, प्रभु बचत, कन्जुमर, कोहिनुर हिल, भेगास, लुःनिभा र ओरिएन्टल सहकारी समस्याग्रस्त घोषणा भएका छन् । त्यस्तै पशुपति सेभिङ, तुलसी, शिवशिखर, हाम्रो नयाँ कृषि, कृषि विकास, कान्तिपुर सेभिङ, श्री लालीगुराँस, गौतमश्री, गोरखा सेभिङ, नेपाल सहकारी वित्तीय संस्था र आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाहरू पनि समस्याग्रस्त घोषणा भएका छन् ।
आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थामा समायोजित संस्थाहरू- घेदुङ बहुउद्देश्यीय सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था र हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीलाई पनि १५ दिनभित्र ऋण चुक्ता गर्न अल्टिमेटम दिइएको हो ।
सहकारी संस्थाहरू समस्याग्रस्त भई निक्षेपकर्ताको रकम फिर्ता हुन नसकिरहेको अवस्थामा समितिले सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीको प्रक्रियालाई तीव्रता दिन ऋणीबाट असुलीको प्रक्रिया अगाडि बढाएको हो ।





प्रतिक्रिया