अमेरिकाले पुराना ग्रीन कार्ड होल्डरहरूमाथि छानबिन थालेपछि त्रास


एजेन्सी । अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले विगतको जो बाइडन प्रशासनको समयमा जारी गरिएका ग्रीन कार्डहरूलाई जालसाजी अनुसन्धानको हिस्साका रूपमा पुनरवलोकन गर्ने निर्णय गरेको छ ।

यसले स्थायी बसोबासका आवेदकहरूमाथि थप कडा निगरानी बढाउन सक्ने विज्ञहरूले बताएका छन् ।

यूएससीआईएसका निर्देशक जोसेफ बी. एडलोले यस सप्ताहान्तमा एजेन्सीले बाइडनकालीन ग्रीन कार्डहरूमा जालसाजी भए–नभएको जाँच गर्न पुराना मुद्दाहरू पुनः खोल्ने बताए । ग्रीन कार्ड जारी गर्ने प्रक्रियामा कडा निगरानी र अस्वीकार दरमा भएको वृद्धिका बीच यो कदम चालिएको हो ।

माइग्रेसन पोलिसी इन्स्टिच्युटको अनुमान अनुसार, आर्थिक वर्ष २०२३ मा ग्रीन कार्ड प्राप्त गर्ने आप्रवासीहरूको संख्याका आधारमा मेक्सिको र क्युबापछि भारत तेस्रो ठूलो देश थियो ।

यसका साथै यस कदमले अंगीकरणको प्रक्रियामा पनि नकारात्मक असर पार्न सक्छ । सफलतापूर्वक ग्रीन कार्ड प्राप्त गरिसकेका कानुनी आप्रवासीहरूले समेत अब देशमा सुरक्षित महसुस नगर्ने बाउन्डलेस इमिग्रेशनका स्याओ वाङले बताए ।

‘यी सबै नीतिहरूलाई समग्रमा हेर्दा मलाई लाग्छ आप्रवासनप्रतिको चासोमा कमी आउनेछ र देश छाड्ने दरमा वृद्धि हुनेछ,’ उनले भने ।

आप्रवासन अधिवक्ता केभिन जे. एन्ड्य्रुजका अनुसार, निवेदकहरूले अब अन्तर्राष्ट्रिय यात्रा गर्दा प्रवेश विन्दुहरूमा लामो जाँच र पहिलेका कागजातहरूमा असंगति पाइएमा अंगीकरणका लागि अझ कठिन अन्तर्वार्ताहरूको सामना गर्नुपर्ने सम्भावना छ ।

उच्च–दक्ष श्रेणीहरू जस्तै ईबी–१ए र ईबी–२ एनआईडब्ल्यू (राष्ट्रिय हित छुट) अन्तर्गतका ग्रीन कार्ड आवेदनहरूको अस्वीकार दर हालका महिनाहरूमा बढेको छ । पछिल्लो श्रेणीले राष्ट्रिय हितका क्षेत्रमा काम गर्ने उच्च शैक्षिक योग्यता भएका व्यक्तिहरूका लागि स्थायी बसोबासको बाटो बुझाउँछ ।

ईबी–१ए को हकमा, अस्वीकार दर समग्रमा दोब्बरभन्दा बढी भएको छ । यसको स्वीकृति दर ७० प्रतिशतबाट घटेर ६० प्रतिशत (अनुमानित) मा झरेको छ भने प्रमाणका लागि अनुरोध गर्ने दर दोब्बरभन्दा बढी भएको वाङले बताए ।

एन्ड्य्रुजका अनुसार, एनआईडब्ल्यूको स्वीकृति दर आर्थिक वर्ष २०२४ को ७१ प्रतिशतबाट घटेर २०२५ मा ५५ प्रतिशतमा झरेको छ र २०२५ को चौथो त्रैमासिकमा यो ३६ प्रतिशतभन्दा तल पुगेको छ ।

लक्वेस्ट संस्थाकी प्रबन्ध साझेदार तथा आप्रवासन अधिवक्ता पूर्वी चोथानीले पहिलेको तुलनामा अब ग्रीन कार्ड र अंगीकरणका आवेदकहरूले आफैं सक्रिय भएर आफ्नो असल नैतिक चरित्र प्रमाणित गर्नुपर्ने बताए । कतिपय अवस्थामा उनीहरूले छिमेकीहरूबाट वा आफ्नो चर्च वा मन्दिरका गतिविधिहरू मार्फत शपथपत्र समेत समावेश गर्नुपर्ने हुन सक्छ ।

आप्रवासन प्लेटफर्म द भिसा कोडका संस्थापक ज्ञानमुकन सेन्थुरजोथीले बताए अनुसार, विवाहमा आधारित ग्रीन कार्ड आवेदनहरूमा पनि थप प्रमाणको माग आएका दुईवटा घटनाहरू देखिएका छन् जुन असामान्य कुरा हो ।

‘हामीले अंगीकरणका लागि अझ कठिन अन्तर्वार्ताहरू र सानातिना उल्लंघनहरूमा पनि कडा निगरानी भइरहेको देखेका छौं,’ उनले थपे ।