
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सूर्य (नेकपा एमाले) र तारा (नेपाली कम्युनिस्ट पार्टी) आदिको पराजय वामपन्थी विचारको पराजय होइन । उनीहरू एक समयका परिवर्तनकामी वामपन्थीहरू नै हुन् । जबसम्म उनीहरू वामपन्थी विचारमा केन्द्रित थिए, समाजमा व्याप्त अव्यवस्थित शासन, बेथिति र श्रमिकप्रति गरिने व्यवहारलाई चिनेर परिवर्तनको मार्गदर्शन गरे, तबसम्म उनीहरूले जनताको माया पाइरहे ।
जब विचार छाडे, जनमतले उनीहरूलाई पछाडि छाड्यो । तसर्थ, यो साँच्चै वामपन्थी विचारधाराको अस्वीकृति हो वा वामपन्थी झण्डा बोकेर आफ्नो स्वार्थ सिद्ध गर्ने केही व्यक्तिहरूको हार हो ? यस तथ्यलाई राजनीतिज्ञ र समाजशास्त्रीहरूले विचारपूर्वक विश्लेषण गर्नैपर्छ ।
यो भन्दै गर्दा सर्वप्रथम ‘वाम विचारधारा’ भनेको के हो भन्ने बुझ्नुपर्छ । ‘साम्यवादी वा प्रगतिशील विचारधारा’ जसले समाजमा समानता, गरिब र धनीको खाडल घटाउने, श्रमिक र सामान्य जनताको अधिकारलाई प्राथमिकता दिने, प्रगतिशील कर, शिक्षा र स्वास्थ्यमा सामाजिक लगानी, कृषि, उद्योग र विशाल रोजगारी जस्ता नीतिहरूलाई समर्थन गर्छ ।
अब प्रश्न उठ्छ—के भर्खरै सम्पन्न निर्वाचनको परिणामले माथिका यी मुख्य विषयलाई नेपालमा लागू गर्न अस्वीकार गरेको हो ? यदि हो भने, नेपाली जनमत एउटै कुराको पर्खाइमा छ—त्यो हो ‘मौका’ । यदि होइन भने, वाम विचार पराजित भएको हो भन्ने निष्कर्ष निकालिहाल्नु हुँदैन ।
अब प्रश्न उठ्छ, यदि वाम विचार पराजित भएको होइन भने सूर्य, तारा र अहिले चर्चामा रहेका जनार्दन शर्माको ‘प्र.लो.पा’ (प्रगतिशील लोकतान्त्रिक पार्टी/समूह) को थिए ? जो यो निर्वाचनमा नराम्रोसँग हारे । बेला–बखत उनीहरू गौरवशाली वाम एकताका कुरा पनि गर्थे, पुष्पलाल र मदन भण्डारीका प्रसङ्ग पनि निकाल्थे । यी प्रश्नको उत्तर पेचिलो छ । खास विचार–विमर्श गर्नुपर्ने पक्ष पनि यही हो ।
नेपालको सन्दर्भमा वाम विचारको प्रमुख मुद्दा समृद्ध रोजगारी सिर्जना गर्ने औद्योगिकीकरण हो । त्यसैगरी, ‘होली फ्यामिली’ जस्ता पुँजीवादी चिन्तनमा महिलालाई बजारमा बेचिने वा मनोरञ्जनको वस्तुको रूपमा हेरिने प्रवृत्तिको पनि वाम विचारले आलोचना गर्छ । यो मुद्दा नेपालको हित र विकाससँग मात्र जोडिएको छैन, यो त पुँजीवादले ल्याएको विचारधारात्मक लडाइँ हो, जहाँ व्यक्तिबीच असमानता छ ।
लाखौं नेपाली शरणार्थी जस्तै बनेर अवसरको पर्खाइमा बसिरहेका छन् । त्यही समाजमा केही व्यक्ति वा एनआरएन जस्ता पात्रहरूले सामन्ती प्रणालीमा आफ्नो आत्मविश्वास र साहस देखाउँदै अगाडि बढ्ने प्रयास गर्छन्, यो त्यस विरुद्धको लडाइँ र कर्म पनि हो । यो हस्तक्षेपका विरुद्धमा सूर्य र ताराहरूले विद्रोह वा प्रतिवाद गरे कि गरेनन् ?
वैदेशिक रोजगारीका नाममा पासो थापेर लाखौं बेरोजगार युवाहरूलाई विदेश पठाइयो, जसका कारण आज उनीहरूले ‘शरणार्थी’को ट्याग भिरेर बस्नुपरेको छ । धेरैको परिवार नै सखाप भयो । आफूलाई कट्टर वामपन्थी भन्ने दुई ठूला पार्टीले कहिल्यै यो समस्यालाई गहिराइबाट कोट्याउन सकेनन् । यस सन्दर्भमा उनीहरूले आफ्नो विचार त्यागे, त्यसैले आज यो हविगत बेहोर्नुपर्यो ।
त्यसबाहेक वाम विचारको अर्को क्षेत्र ‘सामूहिकता’ थियो । द पोभर्टी अफ फिलोसोफी नामक महत्त्वपूर्ण कृतिमा कार्ल मार्क्सले आदर्शवादी समाजवादी चिन्तन गरेका छन् । यही चिन्तन हाम्रा वाम विचारधारा बोकेका अभिभावकहरूमा किन भएन ? सहकारी अभियान कसरी ध्वस्त भयो ? एउटा सामान्य मानिस रातारात धनी हुने प्रक्रिया कसरी बढ्यो ? कृषि कर्म गर्नेहरू दिनानुदिन कसरी गरिब भए ? हरेक क्षेत्रमा बिचौलियाहरू कसरी हाबी भए ? सरकारको आर्थिक नीति निर्माणमा आफ्नै स्वार्थ मात्र हेर्ने प्रभावशाली व्यापारी कसरी हाबी भए ? यस्ता अनेकौं आलोचनामा वामपन्थी भनिने पार्टीहरू आज पनि चुप छन् ।
द कम्युनिस्ट मेनिफेस्टो जस्तो महत्त्वपूर्ण र जटिल सिद्धान्त बोकेका नेताहरूले समाजलाई एकीकरणतर्फ लैजानुपर्ने थियो । नेपालमा जति वामपन्थी अभियान्ताहरू बढे, जति उनीहरूले सरकारका नीतिहरूमा विखण्डन ल्याए (चाहे त्यो भौगोलिक होस् वा सामाजिक), त्यति नै मात्रामा धनी र गरिब तथा शक्तिशाली र कमजोर बीचको खाडल बढ्दै गयो । नारा वा घोषणापत्रमा सीमित ‘सुशासन र भ्रष्टाचार न्यूनीकरण’ मा नेताहरू आफैं लिप्त भए ।
प्रतिपक्षमा रहेको ठूलो दल नेपाली कांग्रेसका महामन्त्रीले प्रधानमन्त्रीलाई लक्षित गर्दै ‘प्रधानमन्त्रीको बेडसम्म बिचौलियाको पहुँच छ’ भनेर संसद्मै भने । पछिल्लो कालखण्डमा त पार्टीभित्र तर्क र तथ्य समाप्त भएको थियो । सुशासनको कुरा गर्दा यहाँ केवल नियमको झल्को मात्र थियो, तर जनताको जीवनमा कुनै सुधार महसुस भएन । धनी र गरिब बीचको खाडल बढ्दै जाँदा त्यसबाट बसाइँसराइ, बलात्कार र सम्बन्धविच्छेद जस्ता नकारात्मक परिणामहरू बढे । पार्टीको संरचनामा दासहरू, राज्यको संरचनामा बिचौलियाहरू र नीति निर्माणमा ‘शरणार्थी’ चिन्तन हाबी भएपछि के घण्टी बज्दैन त ?
कम्युनिस्टहरूको अर्को मुख्य काम ‘प्रविधि र इन्टरनेट’ मार्फत मानिसहरूलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गर्नु थियो । तर शासकहरूले कहिलेकाहीँ यो स्वतन्त्र प्रवाहलाई नियन्त्रण वा सीमित गर्न चाहे, ताकि आफ्नो सन्देश र रणनीतिमा असर नपरोस् । रास्वपाले परिवर्तन र प्रविधिको कुरा गर्यो ।
उनीहरूले कुशासन र भ्रष्टाचारको कुरा गरे, नयाँ र पुरानाबीचको फरक देखाए । तर आफूलाई वाम ठान्नेहरूले विगतमा आफूले गरेको विद्रोह, ढुङ्गा–मुढा र परिवर्तनका पुराना कुरा मात्र गरिरहे । विकासको नाममा धरहरा र रानीपोखरी बनाएको चर्चा गरे । राष्ट्रपति र प्रधानमन्त्रीको चाहनामै जनताको चाहना छ भन्ने भ्रम सिर्जना गरे । नियम, कानुन र संविधानको पाठ सिकाउँदै गर्दा सम्पत्ति शुद्धीकरणको मामिलामा नेपाललाई ‘ग्रेलिस्ट’ मा हाम्रै वामपन्थीहरूले धकेले ।
‘जे छ राम्रो छ’ भन्दै गर्दा ‘जे भइरहेको छ, त्यो पर्याप्त छैन, परिवर्तन जरुरी छ’ भन्ने कुरा रास्वपाले उठाइदिँदा वामपन्थी भनिनेहरू मुद्दाविहीन र सिद्धान्तविहीन देखिए भने रास्वपा प्रगतिशील जस्तो देखियो । परिवर्तन र सुशासनको मुद्दालाई वामपन्थीहरूले नछाडेको भए के रास्वपा जस्तो पार्टीले समाजको विद्रोही मत पाउन सक्थ्यो ?
तसर्थ, मुख्य कुरा के हो भने सूर्य र ताराहरूको पराजय वामपन्थी विचारको पराजय होइन । उनीहरू कुनै बेलाका परिवर्तनकामी वामपन्थी नै हुन्, तर जब विचार छाडे, जनमतले उनीहरूलाई पनि छाडिदियो ।
आजको समस्या केपी र प्रचण्ड मात्र होइनन्; समस्या नीति, व्यवहार, कार्यक्रम, संगठन र शैलीमा छ । ती पार्टीमा हजारौं इमानदार वामपन्थीहरू छन् । के उनीहरूले यी पार्टीहरूलाई पुनः वामपन्थी बाटोमा फर्काउन सक्लान् ? के चुनाव मात्र सही बाटो हो ? आजको मुख्य प्रश्न यही हो ।
(खत्री सूचना प्रविधि तथा अर्थशास्त्रका विद्यार्थी हुन्)









प्रतिक्रिया