इरानसँग अमेरिकाको युद्धविराम कायम रहला कि द्वन्द्व फेरि चर्किएला ? चीनसँग छ जवाफ !


काठमाडौं । ह्वाइट हाउसमा डोनल्ड ट्रम्पको पुनरागमनले विश्वव्यापी भूराजनीतिको परिदृश्यलाई मौलिक रूपमा परिवर्तन गरिदिएको छ । ट्रम्प प्रशासनले विगतको सतर्क कूटनीतिबाट टाढा रहँदै अधिकतम दबाबको उच्च जोखिमपूर्ण रणनीतितर्फ पाइला चालेको छ ।

यो परिवर्तन भेनेजुएला र पश्चिम एसियामा सबैभन्दा स्पष्ट रूपमा देखिन्छ । त्यहाँ अमेरिका आफ्नो मुख्य प्रतिद्वन्द्वी चीनको ऊर्जा घेराबन्दी रणनीतिमा सहभागी छ ।

इरानविरुद्धको हालैको युद्ध र त्यसपछिको युद्धविराम यस रणनीतिको एउटा महत्त्वपूर्ण मोड हो । ट्रम्पले यस कमजोर शान्तिलाई निरन्तरता दिनेछन् कि युद्ध पुनः सुरु गर्नेछन् भन्ने कुरा बुझ्नका लागि यी घटनाहरूलाई पृथक् क्षेत्रीय द्वन्द्वका रूपमा मात्र नभई महाशक्ति प्रतिस्पर्धाको ठूलो खेलको रूपमा हेर्नुपर्छ ।

इरानी प्रभावलाई नियन्त्रण गर्ने वा भेनेजुएलामा लोकतन्त्रको पुनःस्थापना गर्ने मात्र ट्रम्प प्रशासनको लक्ष्य हैन । यो चीनलाई आर्थिक आत्मसमर्पण गराउनका लागि उसको ऊर्जा सुरक्षालाई व्यवस्थित रूपमा ध्वस्त पार्ने रणनीति हो ।

वर्तमान तनाव आर्थिक क्षेत्रमा दिइएको दबाबबाट सुरु भएको हो । सन् २०२५ मा ट्रम्प प्रशासनले चिनियाँ सामानहरूमा १४५ प्रतिशत भन्सार शुल्क लगाएर आर्थिक युद्धको उद्घोष गरेको थियो । त्यसले विश्वव्यापी सहयोगको युगको अन्त्य भएको संकेत दियो ।

चीनले ट्रम्पलाई अमेरिकी सामानमा १२५ प्रतिशत महसुलका साथ प्रतिक्रिया दिएपछि अनि अमेरिकी उद्योगका लागि अत्यावश्यक दुर्लभ खनिज पदार्थको निर्यातमा रोक लगाएपछि ट्रम्प प्रशासनले परम्परागत व्यापार युद्धबाट प्रतिफल नपाइने अनुभव गरेको थियो । त्यसैले अमेरिकाले आफ्नो ध्यान तयारी वस्तुहरूको प्रवाहबाट कच्चा ऊर्जाको प्रवाहतर्फ सारेको छ ।

यसै क्रममा भेनेजुएला अमेरिकाको बृहत्तर अभियानमा पहिलो निशाना बन्यो । सन् २०२६ को आरम्भमै अमेरिकी सैन्य अपरेसनको बलमा राष्ट्रपति निकोलस मदुरोको अपहरण गरियो । त्यो कदम अन्तर्राष्ट्रिय व्यवस्थाका लागि धक्का थियो तर यसको मुख्य लक्ष्य चिनियाँ ऊर्जा संयन्त्र नै थियो ।

इरानले बेइजिङलाई अमेरिकी नेतृत्वको प्रतिबन्धहरू छल्न र आफ्नो कमजोर अर्थतन्त्र चलायमान बनाउन भारी छुटमा तेल उपलब्ध गराउँदै आएको छ

चीनले समुद्री मार्गबाट गर्ने कुल कच्चा तेलको ४.५ प्रतिशत भेनेजुएलाबाट ल्याउने गरेको थियो र त्यसका लागि मलेसिया वा अन्य मुलुकको झण्डा भएको गोस्ट फ्लीट भन्ने छायाँ जहाजहरूमार्फत आयात गर्ने गरेको थियो ।

भेनेजुएलाको निर्यात पूर्वाधारमा नियन्त्रण जमाएर अनि जलसैनिक नाकाबन्दी लागू गरेर अमेरिकाले चिनियाँ रिफाइनरीहरूका लागि सस्तो र भारी कच्चा तेलको महत्त्वपूर्ण स्रोतलाई प्रभावकारी रूपमा ठप्प पारिदियो ।

अमेरिका आफ्ना प्रतिद्वन्द्वीहरूको आपूर्ति श्रृंखलालाई अवरुद्ध पार्नका लागि प्रत्यक्ष सैन्य हस्तक्षेप उपयोग गर्न इच्छुक रहेको उक्त सैन्य कारवाहीले देखाएको छ । यसले इरानसँगको आगामी मुठभेडका लागि नजिर स्थापित गर्यो ।

इरानविरुद्धको युद्ध यस ऊर्जा केन्द्रित रणनीतिको अर्को कदमको रूपमा देखा पर्यो । दशकौंदेखि इरानले चीनको लागि एक महत्त्वपूर्ण ऊर्जा साझेदारको रूपमा काम गर्दै आएको छ ।

चीनले समुद्री मार्गबाट हुने आफ्नो कुल तेल आयातको करिब १३ प्रतिशत अर्थात् दिनको १४ लाख ब्यारल कच्चा तेल इरानबाट आयात गर्ने गरेको छ । इरानले बेइजिङलाई अमेरिकी नेतृत्वको प्रतिबन्धहरू छल्न र आफ्नो कमजोर अर्थतन्त्र चलायमान बनाउन भारी छुटमा तेल उपलब्ध गराउँदै आएको छ ।

तेहरानविरुद्ध सैन्य अभियान सुरु गरेर ट्रम्पले एकैसाथ दुईवटा लक्ष्यहरू प्राप्त गर्न खोजेका छन् । सन् २०२५ मा इरानी पूर्वाधारहरूमा इजरायली आक्रमणपछि इजरायलको सुरक्षा चासोहरूलाई सम्बोधन गर्ने र साउदी ऊर्जाको लागि चीनको सबैभन्दा भरपर्दो विकल्पका रूपमा रहेको इरानलाई निस्तेज बनाउने ट्रम्पको लक्ष्य हो ।

अमेरिकी र इजरायली स्वार्थको मिलनले यस सैन्य अभियानको लागि राजनीतिक आधार प्रदान गरेको छ । तर, चीनको रणनीतिक स्थितिलाई कमजोर बनाउनु यसको मुख्य उद्देश्य थियो ।

यसपछाडिको तर्क सरल थियो । चीनले आफ्ना कारखानाहरू चलाउन सक्दैन भने उसले विश्वव्यापी प्रभुत्वको लागि प्रतिस्पर्धा गर्न सक्दैन । यो दृष्टिकोण अमेरिकी विदेशनीतिको ‘ज्याक्सनियन’ विचारसँग मेल खान्छ जसले राष्ट्रिय हितको रक्षा गर्न र अमेरिकी प्रभुत्वलाई चुनौती दिने विरोधीहरूलाई दण्ड दिन अत्यधिक बलप्रयोगमा जोड दिन्छ ।

इरानविरुद्धको सैन्य अभियानले ह्वाइट हाउसको अपेक्षाबमोजिम द्रुत गतिमा सत्ता परिवर्तन गर्न सकेन । धेरै उच्चपदस्थ नेताहरूको मृत्युको बावजुद इरानको राजनीतिक र सैन्य संयन्त्र उल्लेखनीय रूपमा लचिलो साबित भयो । भेनेजुएलाको विपरीत इरानी प्रणालीले यस्तो द्वन्द्वको लागि दशकौं तयारी गरेको थियो ।

चीनसँगको महाशक्ति प्रतिस्पर्धा २१औं शताब्दीको निर्णायक विशेषता हो र ऊर्जा अमेरिकी हतियारको सबैभन्दा शक्तिशाली साधन हो । अमेरिकी दृष्टिकोणबाट नियन्त्रित युद्धविरामले अमेरिकालाई इरानी शासनमाथि डेमोक्लिसको तरबार झुण्ड्याइराख्न अनुमति दिन्छ

सन् २००३ मा अमेरिकाले इराकमाथि गरेको आक्रमणपछि सद्दाम हुसेनको सत्ता गर्ल्यामगुर्लुम ढलेको उदाहरणबाट सिक्दै इरानले आफ्नो कमान्ड संरचनालाई विकेन्द्रीकृत गर्दै आफ्नो मिसाइल तथा ड्रोन क्षमतालाई सुदृढ बनाएको छ । सन् २०२५ को इजरायली आक्रमणले पनि तेहरानलाई सचेत गराएको थियो । यसरी अमेरिकाले सक्रिय सैन्य कारवाही थालेपछि सजिलै पछि हट्न तयार नहुने इरान जस्तो प्रबल रक्षाशक्तिको सामना गर्नुपर्यो ।

यस अप्रत्याशित प्रतिरोधले ट्रम्पका लागि रणनीतिक दुविधा सिर्जना गर्यो । लामो समयसम्म चल्ने युद्धका लागि स्रोत र सेनाको ठूलो प्रतिबद्धता आवश्यक छ जुन पश्चिम एसियामा कहिल्यै अन्त्य नहुने युद्ध (फरेभर वार्स) बाट जोगिने उनको ‘अमेरिका फर्स्ट’ प्रतिबद्धताको प्रत्यक्ष विपरीत थियो ।

४० दिनसम्मको आक्रमण र प्रत्याक्रमणपछि युद्धविराम गर्ने ट्रम्पको निर्णय मुख्यतया आन्तरिक राजनीतिक यथार्थद्वारा प्रेरित थियो । अमेरिकामा मध्यावधि संसदीय निर्वाचन नजिकिँदै गर्दा रिपब्लिकन पार्टीले इन्धनको उच्च मूल्य र अमेरिकी हताहतीको सम्भावनाका कारण आलोचनाहरूको सामना गर्नुपरिरहेको थियो ।

ट्रम्पको ‘लेनदेनमुखी’ (ट्रान्ज्याक्शनल) प्रकृति यहाँ स्पष्ट भयो । उनी अमेरिकामा राजनीतिक स्थिरताको बदलामा सैन्य गतिलाई केही समयका लागि रोक्न तयार थिए । द्वन्द्व घटाएर ट्रम्पले इरानमा अन्त्यहीन युद्धको बोझ बिना नै ‘शक्तिको माध्यमबाट शान्ति’ (पिस थ्रु स्ट्रेन्थ) को विजय भएको दाबी गर्न सक्थे ।

तर, अहिले समाप्त हुन लागेको युद्धविरामलाई भूराजनीतिक विज्ञहरूले स्थायी समाधानको साटो रणनीतिक विश्रामको रूपमा हेरेका छन् । ट्रम्पले कूटनीतिको माध्यमबाट दबाब जारी राख्नु फाइदाजनक ठान्नेछन् कि आन्तरिक राजनीतिक वातावरण स्थिर भएपछि युद्धको सक्रिय चरण पुनः सुरु गर्नेछन् भन्ने मुख्य प्रश्न अझै बाँकी छ ।

युद्ध पुनः सुरु हुन्छ कि हुँदैन भन्ने कुरा लगभग पूर्ण रूपमा चीनको व्यवहारमा भर पर्छ । बेइजिङले रुस वा मध्य एसियाबाट स्थलमार्गबाट ऊर्जा आयात बढाउने लगायतका विकल्पहरू खोजिरह्यो भने ट्रम्पले इरानमा फेरि प्रहार गर्नुपर्ने ठान्न सक्छन् ।

चीनसँगको महाशक्ति प्रतिस्पर्धा २१औं शताब्दीको निर्णायक विशेषता हो र ऊर्जा अमेरिकी हतियारको सबैभन्दा शक्तिशाली साधन हो । अमेरिकी दृष्टिकोणबाट नियन्त्रित युद्धविरामले अमेरिकालाई इरानी शासनमाथि डेमोक्लिसको तरबार झुण्ड्याइराख्न अनुमति दिन्छ ।

युद्धको खतरालाई जीवित राखेर अमेरिकाले चीनलाई निरन्तर ऊर्जा असुरक्षाको अवस्थामा बस्न बाध्य बनाउँछ जसले दीर्घकालीन लगानीलाई निरुत्साहित गर्छ र चिनियाँ आर्थिक वृद्धिलाई सुस्त बनाउँछ ।

आयातित ऊर्जामा धेरै निर्भर रहेको चीनको तुलनामा अमेरिकाले विश्वव्यापी अस्थिरताको अवधिलाई राम्रोसँग सामना गर्न सक्ने विश्वास वाशिङटनले गरेको छ

यो विषम नियन्त्रण (एसिमेट्रिक कन्टेनमेन्ट) को एक रूप हो । यसमा शत्रुलाई एउटै युद्धमा पराजित गर्ने लक्ष्य नराखी समयसँगै उनीहरूको स्रोत र संकल्पलाई कमजोर बनाउने उद्देश्य राखिन्छ ।

भेनेजुएलाको उदाहरणले पुनः सुरु हुन सक्ने द्वन्द्व कस्तो देखिन सक्छ भन्ने कुराको रूपरेखा प्रदान गर्छ । भेनेजुएलामा अमेरिकाले पूर्ण स्तरको कब्जा गर्न नखोजेर ‘चोकपोइन्ट नियन्त्रण’ मा ध्यान केन्द्रित गर्यो ।

इरानसँगको युद्धविराम असफल भयो भने हामी यस्तै दृष्टिकोणको अपेक्षा गर्न सक्छौं । अमेरिकाले पर्सियाली खाडीमा अझ आक्रामक जलसैनिक नाकाबन्दी र तेल टर्मिनलहरू तथा रिफाइनरी सुविधाहरूमा लक्षित प्रहारहरू गर्न सक्छ । इरानी तेललाई महँगो वा ढुवानी गर्न गाह्रो बनाएर चीनलाई आफ्नो ऊर्जा साझेदारलाई परित्याग गर्नका लागि बाध्य बनाउने यसको उद्देश्य देखिन्छ ।

तर, यस रणनीतिमा ठूला जोखिमहरू छन् । यसमा अन्य शक्तिहरूलाई तान्न सक्ने व्यापक क्षेत्रीय युद्धको सम्भावना पनि छ । ट्रम्प प्रशासनले अमेरिकी श्रेष्ठता स्थापित गर्नका लागि उच्च जोखिम सहने क्षमता देखाएको छ ।

आयातित ऊर्जामा धेरै निर्भर रहेको चीनको तुलनामा अमेरिकाले विश्वव्यापी अस्थिरताको अवधिलाई राम्रोसँग सामना गर्न सक्ने विश्वास वाशिङटनले गरेको छ । तर, तेलको भाउ केही बढ्दा मात्र पनि आक्रोशित भएका अमेरिकीहरूले मध्यावधि निर्वाचनमा ट्रम्पलाई पाठ पढाइदिन सक्ने सम्भावना पनि प्रबल नै छ ।

युद्धविराम कायम राख्ने वा पुनः युद्ध सुरु गर्ने निर्णयमा इजरायलको भूमिकालाई कम आकलन गर्न मिल्दैन । इजरायली सरकारका लागि इरानले तेर्स्याएको जोखिम अस्तित्वसँग जोडिएको छ ।

युद्धविरामले इरानलाई आफ्नो सैन्य क्षमता पुनर्निर्माण गर्न वा आफ्नो आणविक कार्यक्रम अगाडि बढाउन अनुमति दिइरहेको इजरायलले ठान्यो भने उसले सम्भवतः अमेरिकालाई सैन्य कारबाही पुनः सुरु गर्नका लागि दबाब दिनेछ ।

इजरायलका सुरक्षा चासोहरूप्रति ट्रम्प सहानुभूतशील छन् । उनको विदेशनीति प्रायः जेरुसेलमको प्राथमिकताहरूसँग जोडिएको हुन्छ । इजरायलले यो ‘कूटनीतिक विश्राम’ अब उपयोगी छैन भन्ने निर्णय गरेमा ट्रम्पले शान्तिको चाहनाका बावजुद आफूलाई फेरि सक्रिय द्वन्द्वको अवस्थामा पाउन सक्छन् । यसले सिर्जना गरेको अस्थिर वातावरणमा एउटै सानो गल्ती वा खाडीमा हुने सानो झडपले क्षेत्रीय युद्ध गराउन उत्प्रेरकको काम गर्न सक्छ ।

व्यापक दृष्टिकोणबाट हेर्दा इरानसँगको द्वन्द्व विश्व द्विपक्षीय संघर्षमा फर्किएको लक्षण हो । पहिलो शीतयुद्धको समयमा अमेरिका र सोभियत संघले वैचारिक प्रभावका लागि प्रतिस्पर्धा गरेका थिए भने आज अमेरिका र चीन भौतिक स्रोत र प्रविधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

भेनेजुएला र इरानलाई लक्षित गरेर अमेरिकाले ऊर्जा बजारलाई ‘डिग्लोबलाइज’ गर्ने प्रयास गरिरहेको छ । यसमा ऊर्जा अब सबैभन्दा बढी मूल्य तिर्नेलाई बेचिने वस्तु मात्र नभई बलियो जलसेना भएका शक्तिहरूले नियन्त्रण गर्ने रणनीतिक सम्पत्ति बन्नेछ।

ट्रम्पले इरान द्वन्द्व पुनः सुरु गर्नेछन् वा रणनीतिक विश्रामलाई कायम राख्नेछन् भन्ने कुरा गैरसैन्य दबाबको प्रभावकारिता र विश्वव्यापी ऊर्जा बजारको स्थिरतामा भर पर्नेछ

चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ अमेरिकी–नियन्त्रित समुद्री मार्गहरूलाई छल्न डिजाइन गरिएको थियो । तर, सन् २०२६ मा ट्रम्प प्रशासनले गरिरहेका कार्यहरूको गति र आक्रामकता हेर्दा स्थलमार्गहरूले मात्र चिनियाँ अर्थतन्त्रलाई पूर्ण रूपमा धान्न नसक्ने देखाएको छ । अहिले ‘ऊर्जा घेराबन्दी’ ले काम गरिरहेको छ र इरानसँगको युद्धविराम चीनसँगको जारी महाशक्ति संघर्षको पछिल्लो अध्याय मात्र हो ।

अमेरिका र इरान बीचको युद्धविराम अल्पकालीन राजनीतिक आवश्यकताहरूले धानेको एक कमजोर सन्तुलन मात्र हो । इरानको प्रतिरोध र आन्तरिक चुनावी चक्रका कारण युद्धको सक्रिय चरणलाई रोक्ने डोनल्ड ट्रम्पको निर्णय व्यावहारिक प्रतिक्रिया थियो । तर, यसले चीनलाई निष्प्रभावी बनाउने उनको दीर्घकालीन लक्ष्यमा परिवर्तन भएको संकेत गर्दैन ।

इरान विरुद्धको युद्ध वास्तवमा चिनियाँ औद्योगिक संयन्त्रको मुटुमा गरिएको प्रहार थियो । चीन विश्वव्यापी प्रभावका लागि अमेरिकाको प्रतिद्वन्द्वी रहिरहेसम्म युद्ध (हरू) को खतरा कायम रहनेछ ।

ट्रम्पले इरान द्वन्द्व पुनः सुरु गर्नेछन् वा रणनीतिक विश्रामलाई कायम राख्नेछन् भन्ने कुरा गैरसैन्य दबाबको प्रभावकारिता र विश्वव्यापी ऊर्जा बजारको स्थिरतामा भर पर्नेछ । तर, पूर्ण प्रतिस्पर्धाको अमेरिका फर्स्ट तर्कलाई ध्यानमा राख्दै विश्वले ऊर्जाका मुख्य नाकाहरू महाशक्तिहरूको मुख्य युद्धभूमि रहनेछन् भन्ने कठोर सत्यलाई मनन गर्नुपर्ने हुन्छ ।

Skip This