कालिञ्चोक हाइड्रोको आईपीओ बाँडफाँड


काठमाडौं । कालिञ्चोक हाइड्रोपावरले गत चैत २२ गतेदेखि २५ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्गको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो । कम्पनीको उक्त आईपीओमा ४२.६२ गुणा बढी आवेदन परेको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङले जनाएको छ ।

मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले गत चैत २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ६ करोड ८४ लाख ७५ हजार रुपैयाँबराबरको ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । सो निष्काशनमा कुल २७ लाख ८४ हजार ५१९ जनाले आवेदन दिएका थिए ।

जसमध्ये २६ लाख ३५ हजार ६३४ आवेदन स्वीकृत भएको थियो भने बाँकी आवेदन रद्द भएको थियो । कुल सदर आवेदकमध्ये ६८ हजार ४७५ जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँड गरिएको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङले जनाएको छ ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।