
एजेन्सी । अमेरिकाको एफबीआई निर्देशक काश पटेलले दी एट्लान्टिक विरुद्ध मुद्दा हाल्ने धम्की दिएका छन् ।
उक्त पत्रिकाले पटेल अत्यधिक मद्यपान गर्ने र बिना जानकारी अनुपस्थित रहने गरेको र त्यसका कारण उनलाई आफ्नो जागिर जाने डर रहेको दाबीसहितको रिपोर्ट प्रकाशित गरेपछि उनले यस्तो धम्की दिएका हुन् ।
पटेलले शनिबार एक्समा एउटा पोस्ट गर्दै भने, ‘तिमी र तिम्रा गलत रिपोर्टिङ गर्ने सबै टोलीलाई अदालतमा भेट्नेछु ।’ उनले उक्त पत्रिकालाई फेक न्युज (भ्रामक समाचार) को आरोप पनि लगाए र यो मुद्दा आफ्नो लागि जित्न धेरै सजिलो हुने बताए ।
केही घण्टाअघि मात्रै, पटेलको कानुनी टोलीले द एट्लान्टिकलाई उक्त लेख प्रकाशित नगर्न चेतावनी दिएको घोषणा गरेको थियो ।
‘उनीहरूलाई यी दाबीहरू पूर्ण रूपमा झूटो र मानहानिपूर्ण छन् भन्ने जानकारी गराइएको थियो । तैपनि उनीहरूले प्रकाशित गरे । अब अदालतमा भेटौंला,’ बिन्नाल ल ग्रुपका जेसी आर. बिन्नालले एक्समा लेखे ।
ती वकिलले दी एट्लान्टिकलाई पठाइएको भनिएको एउटा पत्र पनि सार्वजनिक गरे जसमा उनले शुक्रबार प्रकाशित लेखमा उद्धृत गरिएका अज्ञात स्रोतहरूसँग सम्बन्धित जानकारी लगायत पटेलसँग जोडिएका सबै सञ्चार विवरणहरू सुरक्षित राख्न माग गरेका छन् ।
उक्त रिपोर्टमा दी एट्लान्टिकले दुई दर्जन अज्ञात अधिकारी र भित्री व्यक्तिहरूलाई उद्धृत गर्दै पटेलको आचरण र मद्यपानको समस्याबारे चिन्ता व्यक्त गरिएको दाबी गरेको छ । केहीले उनको व्यवहार राष्ट्रिय सुरक्षाका लागि जोखिम भएको बताएको पनि रिपोर्टमा उल्लेख छ ।
‘म यस रिपोर्टिङको हरेक शब्दमा अडिग छु । हामीसँग उत्कृष्ट वकिलहरू छन्,’ लेखकी लेखिका सारा फिट्जप्याट्रिकले शुक्रबार एमएस नाउको द ब्रिफिङ कार्यक्रममा भनिन् ।
लेखका अनुसार, गुप्तचर प्रमुख (पटेल) ले कथित रूपमा यतिसम्म रक्सी पिउने गरेका थिए कि धेरैपटक उनको सुरक्षा टोलीलाई उनलाई ब्युँझाउनै गाह्रो हुन्थ्यो । उनले ब्रिफिङहरू छोड्ने गर्थे र कहिलेकाहीँ बन्द कोठाभित्र कसैको सम्पर्कमा समेत आउँदैनथे ।
लेखमा यो पनि उल्लेख गरिएको छ कि हालै महान्यायाधिवक्ता पाम बोन्डीको बर्खास्तगीपछि पटेललाई आफ्नो जागिरको डर लागेको छ । ट्रम्पकी कट्टर समर्थक बोन्डीलाई एपस्टीन फाइलहरू सार्वजनिक गर्ने क्रममा लापरवाही गरेको भन्दै दुवै पक्षको आरोपपछि यसै महिनाको सुरुमा बर्खास्त गरिएको थियो ।








प्रतिक्रिया