
एजेन्सी । ऊर्जा अनुसन्धान संस्था राइस्ट्याडले सार्वजनिक गरेको एक विश्लेषणका अनुसार, इरान विरुद्धको अमेरिका–इजरायल युद्धले मध्यपूर्वको क्षेत्रीय मर्मत लागत ५८ अर्ब डलरसम्म पुर्याउन सक्छ । त्यसमा तेल र ग्यास केन्द्रहरूको मात्रै खर्च ५० अर्ब डलरसम्म हुनेछ ।
प्रतिवेदनले मुख्य अवरोध बजेट नभई प्रमुख उपकरण र इन्जिनियरिङ सेवाहरू आपूर्ति गर्ने सीमित विश्वव्यापी क्षमता भएको कुरामा जोड दिएको छ । त्यसले गर्दा मर्मत कार्य वर्षौंसम्म ढिलो हुन सक्छ ।
राइस्ट्याडको यो अनुमान तीन हप्ताअघि संस्थाले सार्वजनिक गरेको २५ अर्ब डलरको प्रारम्भिक प्रक्षेपण भन्दा उल्लेख्य वृद्धि हो । त्यसले अप्रिल ८ मा अमेरिका र इरानबीच भएको युद्धविराम अघिको क्षतिको व्यापक दायरालाई झल्काउँछ ।
‘मर्मत कार्यले नयाँ क्षमता सिर्जना गर्दैन । यसले अवस्थित क्षमतालाई अन्तै मोडिदिन्छ र त्यो परिवर्तनको असर मध्यपूर्व भन्दा धेरै टाढासम्म आयोजनाहरूमा ढिलाइ र मुद्रास्फीतिका रूपमा महसुस गरिनेछ,’ राइस्ट्याडका वरिष्ठ विश्लेषक करण सत्वाणीले भने ।
‘५८ अर्ब डलरको बिल मुख्य शीर्षक हो तर विश्वव्यापी ऊर्जा लगानीको समयसीमामा पर्ने असरहरू पनि उत्तिकै महत्त्वपूर्ण हुन सक्छन्,’ सत्वाणीले जोड दिए ।
राइस्ट्याडका अनुसार, कुल मर्मत खर्च औसतमा करिब ४६ अर्ब डलर हुने सम्भावना छ । त्यसमा क्षतिको मात्रा र जटिलताका कारण डाउनस्ट्रीम रिफाइनिङ र पेट्रोकेमिकल क्षेत्रको हिस्सा सबैभन्दा बढी हुनेछ । औद्योगिक, विद्युत् र नुनिलो पानीलाई पिउने बनाउने (डिसेलिनेशन) केन्द्रहरूमा थप ३ अर्ब देखि ८ अर्ब डलर खर्च हुन सक्छ ।
कार्यान्वयन क्षमता र आपूर्ति श्रृंखलाका अवरोधहरूका कारण विभिन्न देश र सम्पत्तिहरूको मर्मत हुने समयसीमा फरक–फरक हुन सक्छ ।
कम्पनीका अनुसार, इरानले सबैभन्दा व्यापक क्षतिको सामना गरिरहेको छ जहाँ ग्यास प्रशोधन, रिफाइनिङ र निर्यात पूर्वाधारमा खर्च १९ अर्ब डलरसम्म पुग्न सक्छ । यसैबीच, कतारमा परेको असर भने कम क्षेत्रमा तर प्राविधिक रूपमा जटिल देखिन्छ । यो खास गरी रास लाफान एलएनजी हबमा केन्द्रित छ जहाँको मर्मत कार्य हाल भइरहेका विस्तार आयोजनाहरूसँगै पर्न सक्छ ।
तेहरानले पछिल्लो सैन्य मुठभेडबाट भएको क्षतिको क्षतिपूर्ति पाँच अरब राष्ट्रहरू बहराइन, जोर्डन, कतार, संयुक्त अरब अमिरात (यूएई) र साउदी अरबबाट माग्ने योजना बनाएको संयुक्त राष्ट्रसंघका लागि इरानी राजदूत अमिर सईद इराभानीले तस्निम समाचार संस्थालाई बताए । ती देशहरूले अमेरिका र इजरायलसँग मिलेर काम गरेको र इरानप्रतिको आफ्नो दायित्व उल्लंघन गरेको उनले दाबी गरे ।
गत साता इरानी रेड क्रिसेन्ट सोसाइटीले रिपोर्ट गरेअनुसार युद्धबाट १ लाख २५ हजार ६ सय ३० नागरिक एकाइहरू प्रभावित भएका छन् । तिनमा १ लाख आवासीय घरहरू छन् र केही त पूर्ण रूपमा नष्ट भएका छन् । यसले २३ हजार ५०० व्यावसायिक सम्पत्ति, ३३९ चिकित्सा केन्द्र, ३२ विश्वविद्यालय, ८५७ विद्यालय र २० वटा रेड क्रिसेन्ट केन्द्रहरूमा क्षति पुगेको उल्लेख गरेको छ।
इरानी रेड क्रिसेन्ट सोसाइटीका प्रमुख पिर हुसेन कोलिभान्डले इन्धन डिपो, विमानस्थल र नागरिक विमानहरूसहित करिब १५ वटा प्रमुख बन्दोबस्तीका ठाउँहरूमा प्रहार भएको कुरामा जोड दिए । यसले यातायात, ऊर्जा र सार्वजनिक सेवाहरूमा व्यापक अवरोध पुगेको देखाउँछ ।








प्रतिक्रिया