लागत बढेपछि प्रशोधित खानेपानीको मूल्य बढ्ने, महासंघद्वारा मूल्य समायोजन गर्न आग्रह



काठमाडौं । कच्चा पदार्थ र इन्धनको मूल्यमा भएको अत्यधिक वृद्धिका कारण प्रशोधित खानेपानीको बजार मूल्य बढ्ने भएको छ ।

नेपाल पानी उद्योग महासंघले प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान अवस्थामा पुरानै मूल्यमा पानी वितरण गर्न नसकिने भन्दै मूल्य समायोजनका लागि आफ्ना सदस्य उद्योगीहरूलाई आग्रह गरेको हो ।

महासंघका अनुसार पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्यापिङ रोल र जार लगायतका कच्चा पदार्थको मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि भएको छ ।

त्यसैगरी, डिजेल तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी लागतमा पनि ठुलो असर परेको महासंघले जनाएको छ ।

विज्ञप्तिमा उल्लेख भए अनुसार अन्तर्राष्ट्रिय परिस्थिति, विशेषगरी इरान–इजरायल तनाव र इरान–अमेरिका सम्बन्धका कारण कच्चा पदार्थको आपूर्ति प्रणालीमा असहजता उत्पन्न भएको छ । जसले गर्दा उद्योग सञ्चालन लागत अस्वाभाविक रूपमा बढेको छ ।

महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘लागत विश्लेषण र वर्तमान अवस्थाको मूल्याङ्कन गर्दा हाल कायम मूल्यमा प्रशोधित पिउने पानी बिक्री वितरण गर्दै उद्योग सञ्चालन गर्न सकिने अवस्था छैन । यो कुनै नाफामूलक निर्णय नभई बढेको उत्पादन लागत र बाध्यात्मक परिस्थितिका कारण गरिएको मूल्य समायोजन हो ।’

हाल नेपालमा ६२० भन्दा बढी प्रशोधित पिउने पानी उद्योगहरू सञ्चालनमा छन् ।

यस क्षेत्रमा १६ अर्बभन्दा बढी लगानी भएको र करिब ३० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाइरहेको तथ्याङ्क महासंघले जनाएको छ ।

महासंघले उद्योगको दिगोपन, गुणस्तर कायम र नियमित आपूर्तिका लागि बढेको लागतको अनुपातमा मूल्यवृद्धि गरी बिक्री वितरण गर्नु अहिलेको अपरिहार्य आवश्यकता भएको स्पष्ट पारेको छ ।

साथै, उद्योग सञ्चालनलाई सहज बनाउन, कच्चा पदार्थको उपलब्धता सुनिश्चित गर्न र ढुवानी लागत नियन्त्रणका लागि आवश्यक कूटनीतिक पहल र नीतिगत सहजीकरण गरिदिन महासंघले नेपाल सरकारसँग माग समेत गरेको छ ।

महासंघले यस बाध्यात्मक परिस्थितिलाई बुझिदिन आम उपभोक्ता, वितरक र सरोकारवाला निकायहरूसँग अनुरोध गर्दै उद्योगको संरक्षण र सेवाको निरन्तरताका लागि सहयोगको अपिल गरेको छ ।