मेघाश्री लगायतको गुट्खा बेच्ने कम्पनीले एकै वर्ष गर्‍यो करिब साढे १ अर्बको कारोबार


काठमाडौं । मेघाश्री र मन्जुश्री ब्रान्डको गुट्खा बेच्ने देउती गुट्खा इन्डष्ट्रिजले एकै वर्ष करिब १ अर्ब रुपैयाँको कारोबार गरेको छ।

कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ३४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा १ अर्ब २५ करोड ७० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब १६ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापार गत आवमा ६.९५ प्रतिशतले बढेको छ । गत आवमा उच्च परिमाणमा बिक्री हुँदा व्यापारमा वृद्धि भएको हो । त्यस्तै, गत आवमा मूल्य पनि बढेको जनाएको छ ।

कम्पनीले गत आवमा प्रति मेट्रिक टन ५ लाख ९० हजारमा बिक्री गरेको छ । सन् २०२४ मा प्रति मेट्रिक टन ५ लाख ७० हजार रुपैयाँमा बिक्री गरेको थियो ।

त्यसैगरी, कम्पनीले गत आवमा ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सन् २०२४ मा ७ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको गत आवमा ७ करोड ५० लाख रुपैयाँ कुल नगद सञ्चय संकलन भएको छ ।

सन् २०२४ मा ९ करोड १० लाख रुपैयाँ कुल नगद सञ्चय थियो । त्यस्तै, कम्पनीले चालु आवको ८ महिनाको अवधिमा ९० करोड ५० लाख रुपैयाँको व्यापार गरिसकेको छ ।

सन् २०१५ मा स्थापना भएको कम्पनीले गुट्खा र टब्याकु सामग्री उत्पादन गर्दै आएको छ ।

कम्पनीसँग वार्षिक ८ हजार मेट्रिक टन गुट्खा अर्थात् पान मसला र ५ सय मेट्रिक टन गुलियो सुपारी उत्पादन क्षमता छ ।

कम्पनीले उच्च गुणस्तरको गुट्खा उत्पादन गर्दै आएको छ । कम्पनीले सुपारी, सुर्ती र अन्य स्वादको प्रयोग गरी गुट्खा उत्पादन गर्दै आएको हो । कम्पनीले उत्पादन गरेको उक्त गुट्खा मन्जुश्री र मेघाश्री ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले गुट्खा उत्पादनका लागि आवश्यक कच्चा पदार्थ विदेशबाट आयात गर्दै आएको छ । कम्पनीले सुपारी इन्डोनेसिया, थाइल्यान्डबाट आयात गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७२ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३१ करोड ९२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४० करोड ८७ लाख रुपैयाँको रेटिङ गराएको हो ।

यज्ञबहादुर ओलीको स्वामित्व रहेको कम्पनीको देशभर २ सय आधिकारिक वितरक छन् ।

Skip This