रिकभरीको वातावरण बन्यो तर आर्थिक गतिविधि नबढ्दा असुली अपेक्षाअनुसार सुधार भएन

154
Shares


काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरूको रिकभरी केही सकारात्मक देखिएको छ । पछिल्ला दुई त्रैमासमा बक्यौता ब्याज पनि बढ्दै गएकोमा तेस्रो त्रैमासमा भने ब्याज असुलीमा सुधार देखिएको बैंकरहरू बताउँछन्।

तर, नयाँ सरकार गठन भएपछि निर्माण व्यवसायीको भुक्तानीमा ढिलाइ हुँदा निर्माण व्यवसायीको कर्जाका कारण कर्जा नोक्सानी व्यवस्थामा भने खासै सकारात्मक प्रभाव नदेखिएको बैंकरहरू बताउँछन् । ‘रिकभरी अझै खराब भयो भन्ने अवस्था पनि छैन । उल्लेख्य सुधार पनि छैन । तर, रिकभरीका लागि एउटा सकारात्मक वातावरण भने बनेको छ,’ एक बैंकरले भने ।

रिकभरीमा अपेक्षित रूपमा सुधार हुन नसके पनि वातावरण भने सकारात्मक देखिएको छ । रिकभरीमा पछिल्ला वर्षहरूमा बैंकहरूले जुन समस्या भोगेका थिए, पछिल्ला दिनहरूमा त्यस्तो अवस्था नभएको बैंकरहरू बताउँछन् । फागुन २१ मा भएको चुनावपछि वालेन्द्र शाहको नेतृत्वमा सरकार गठनपछि पनि दुर्गा प्रसाईं समूहका देवी संग्रौला लगायतले पाल्पा लगायतका क्षेत्रमा बैंकका कर्मचारीलाई शाखा कार्यालयमा पुगेर धम्क्याएका थिए । तर, प्रहरीले कारबाही अगाडि बढाउने चेतावनी दिएपछि माफी मागेर छोडिएको एक बैंकरले बताए ।

रिकभरीमा जाने कर्मचारीमाथि सुरक्षा चुनौती रहेकोमा कतिपय अवस्थामा प्रहरी प्रशासनको समन्वयका कारण विगतमा जस्तो चुनौती नभएको बैंकरहरूले बताए । जसले गर्दा पनि रिकभरीको वातावरण बन्दै गएको छ । तर, आर्थिक गतिविधिमा अपेक्षित सुधार नदेखिएकोले रिकभरीमा नै भने सुधार नभएको र नयाँ सरकारको आर्थिक नीति र वातावरणले समेत प्रभाव पर्ने बैंकरहरूको तर्क छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भएको छलफलमा पनि विगतमा नै सरकारले अगाडि बढाएर केही कारबाही गर्नै पर्ने फाइल बाहेक लगानीकर्तामाथि धरपकड नगरी आर्थिक जरिबानामा जानुपर्छ भन्नेमा सरकार रहेको र सोही अनुसार अगाडि बढ्ने भन्दै व्यवसायीलाई सोही अनुसारको सन्देश पुर्‍याउन आह्वान समेत गरेको एक बैंकरले बताए । बैंकरहरूले अर्थमन्त्री डा. वाग्लेसँग भेटेर गत साता छलफल गरेका थिए । ५ वर्षको स्थायी सरकार आएको र व्यवसायीमाथि धरपकड नगर्ने प्रतिबद्धता समेत जनाएकोले पनि आगामी आर्थिक वर्षबाट अर्थतन्त्रमा सकारात्मक संकेत देखिने अपेक्षा रहेको ती बैंकरले बताए ।

भदौमा भएको जेन जी मुभमेन्टपछि निजी क्षेत्र समेत प्रभावित हुँदा असोज र पुसमा केही खराब देखिएको बैंकहरूको रिकभरी चैतमा भने केही सकारात्मक देखिएको बैंकरहरू बताउँछन् । ‘सुधार भएर रिकभरीमा राम्रो भयो भन्ने अवस्था छैन । पछिल्लो त्रैमासको तुलनामा केही सकारात्मक अवस्था देखिए पनि उल्लेख्य सुधार भएको छैन । गत वर्षकै अवस्थाको निरन्तरता देखिएको छ,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली भन्छन्, ‘भर्खर नयाँ सरकार आएको छ । सरकारको आर्थिक नीति कस्तो हुन्छ र अर्थतन्त्र कसरी अगाडि बढ्छ, त्यसले बैंकहरूको रिकभरीमा प्रभाव पार्छ । रिकभरीमा कुनै उल्लेख्य परिवर्तन देखिएको छैन । यथास्थितिकै अवस्था रहेको छ ।’

पछिल्ला आर्थिक वर्षमा वित्तीय अवस्था तुलनात्मक रूपमा सबल भएका बैंकहरूले रिकभरी यथास्थिति रहेको बताइरहँदा पछिल्लो ३ वर्षदेखि लगातार दबाबमा रहेको वित्तीय विवरण प्रकाशित गरेका बैंकहरूले भने केही सकारात्मक रहेको बताएका छन् । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा रिकभरीमा उल्लेख्य सुधार नदेखिए पनि बक्यौता ब्याज घट्न लागेको बताउँछन् । ‘कर्जाको बिग्रिएका फाइलहरूमा प्रोभिजन भइसकेको छ । अब थप बिग्रिएर गएको अवस्था छैन । यसले सकारात्मक संकेत देखिएको छ,’ सिईओ राणाले भने, ‘प्रोभिजन राइटब्याक गर्ने अवस्था देखिएको छैन । पछिल्ला वर्षहरूमा जस्तो उच्च कर्जा नोक्सानी व्यवस्था गरेर जानुपर्ने अवस्था पनि छैन । यसले केही सकारात्मक अवस्था भएको छ । घाटा बढेर जाने भन्दा अब बिस्तारै रिकभर हुने अवस्था देखिन्छ ।’

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल पनि रिकभरीमा सकारात्मक प्रभाव देखिएको बताउँछन् । ‘बक्यौता ब्याज घट्दै गएको छ । केही कर्जाका फाइलहरू सेटल पनि हुँदै गएका छन् । जेन जी मुभमेन्टपछि पहिलो र दोस्रो त्रैमासमा केही समस्या भए पनि तेस्रो त्रैमासमा ब्याज असुलीमा सुधार देखिएको छ ।’ सीईओ खनाल पनि कर्जा नोक्सानी व्यवस्थाबाट राइटब्याक नै नभए पनि पछिल्लो आर्थिक वर्षको जस्तो भारी मात्रामा कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने अवस्था नभएको बताउँछन् । केही साना फाइल बिग्रने र केही असुल हुने भए पनि ठुला कर्जाहरू भने सेटलमेन्ट नभएको उनको तर्क छ ।

पछिल्लो १-२ वर्षयता बैंकसँगको सम्पर्कमै नभएका कतिपय ऋणीहरू पछिल्लो एक-डेढ महिना यता सम्पर्कमा आएर कर्जा भुक्तानीका लागि योजना पेश गर्ने र छलफल समेत गर्ने अवस्था देखिएको अर्का एक बैंकरले बताए । कर्जा असुली भएर सुधार भयो भन्ने अवस्था नभए पनि बजारमा सकारात्मक वातावरण बनेको र डिफल्टरको सूचीमा रहेकाहरूले पनि काम गर्ने नयाँ योजना पेश गर्न लागेको ती बैंकरले बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला भने उल्लेख्य सुधार पनि नदेखिएको र थप बिग्रियो भन्ने अवस्था पनि नभएको बताउँछन् । ‘बक्यौता ब्याज उल्लेख्य बढेको अवस्था पनि छैन । ऋणीहरूको फाइल थप बिग्रिएर खराब अवस्था भएको छैन भने नियमित भएका ऋणीहरूमा पनि ठुलो समस्या देखिँदैन,’ अध्यक्ष कोइरालाले भने ।

अर्का एक बैंकर भने चैत मसान्तमा सरकारले निर्माण व्यवसायीको भुक्तानी नगर्दा केही कर्जा नोक्सानी व्यवस्था बढ्ने अवस्था देखिएको बताउँछन् । निष्क्रिय कर्जा नै बढ्यो भन्ने अवस्था नभए पनि निर्माण व्यवसायीको भुक्तानी नभएर ब्याज नआउँदा कतिपय कर्जालाई वाच लिस्टमा राखेर ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्दा केही प्रोभिजन बढ्ने देखिएको ती बैंकरले बताए । निर्माण व्यवसायीको भुक्तानी भएर ब्याज असुल भएको भए रिकभरीमा केही सुधार देखिने थियो, तर निर्माण व्यवसायीको ब्याज नआउँदा विगतकै जस्तो अनुपातमा कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने देखिएको ती बैंकरले बताए । अन्य कर्जाको फाइलहरू थप बिग्रिएर निष्क्रिय कर्जा बढेर गएको अवस्था भने नभएको उनले बताए । पुसमा वाच लिस्टमा राखेका केही कर्जालाई प्रोभिजन थप गर्नुपर्ने सुधार नदेखिएको उनले बताए ।