कस्तो हुनेछ यो वर्षको अन्तिम दिनको मौसम ?

21
Shares

काठमाडौं । नेपालको मौसमी प्रणालीमा अहिले पश्चिमी र स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भागमा वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको हो।

अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ भने अन्य पहाडी भूभागमा आंशिक बादल लागेको देखिन्छ। तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा नै रहेको छ।

सोमबारको मौसम पूर्वानुमान हेर्दा देशका हिमाली भेगमा बादलको प्रभाव बढी रहने र पहाडी क्षेत्रमा आंशिक बदली हुने सङ्केत देखिएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा र अन्य हिमाली भूभागका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

तराई क्षेत्रमा भने घाम लाग्ने र मौसम मुख्यतया सफा रहनेछ। हिमाली क्षेत्रमा हुने वर्षा र हिमपातले तापक्रममा केही गिरावट ल्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।