कसले बनायो बिटकोइन ? न्युयोर्क टाइम्सले गर्यो खुलासा

497
Shares

एजेन्सी । बिटकोइन कसले बनायो भन्ने विषयको रहस्य १५ वर्षपछि पनि कायमै छ ।

हालै न्युयोर्क टाइम्सको एक अनुसन्धान प्रतिवेदनले ब्रिटिस क्रिप्टोग्राफर एडम ब्याक नै बिटकोइनका जन्मदाता सतोशी नाकामोतो भएको दाबी गरेको छ । तर, एडम ब्याकले यी दाबीहरूलाई अस्वीकार गरेका छन् ।

न्युयोर्क टाइम्सका पत्रकार जोन क्यारिरूले सतोशीको खोजीका लागि एआईको सहयोग लिए । उनले सन् १९९२ देखि २००८ को बीचमा क्रिप्टोग्राफी समूहहरूमा पठाइएका हजारौं इमेलहरू एआई टूलमा हाले ।

सतोशीको लेख्ने तरिका, शब्द चयन र व्याकरणका गल्तीहरू एडम ब्याकसँग धेरै मिल्दोजुल्दो रहेको एआईले पत्ता लगायो । उदाहरणका लागि, सतोशी अक्सर संयुक्त शब्दहरूको बीचमा हाइफन (–) राख्दैनथे र धेरै पटक इट्स र इट्’सको प्रयोगमा गल्ती गर्थे ।

एडम ब्याक सतोशी हुन् भन्ने ३ कारणहरूः

१. ह्यासक्यासः एडमले ह्यासक्यास बनाएका थिए जसको प्रयोग सतोशीले बिटकोइनको माइनिङमा गरे । ह्यासक्यास एउटा प्रूफ–अफ–वर्क प्रणाली हो, जुन इमेल स्पाम रोक्न बनाइएको थियो । पछि यो प्रविधि क्रिप्टोकरेन्सीमा प्रयोग भयो ।

२. ब्लकस्ट्रिमः एडम ब्लकस्ट्रिमका सीईओ हुन् जसले ब्लकचेन पूर्वाधारमा काम गर्छ । ब्लकचेन यस्तो प्रविधि हो जसमा दर्ता भएको जानकारी कुनै एक व्यक्तिले परिवर्तन गर्न वा मेटाउन सक्दैन ।

३. आफू शंकाको घेरामा सबैभन्दा माथि रहेको एडम आफैं पनि मान्छन् । सतोशी पनि उनीजस्तै ५० वर्षको हाराहारीका ब्रिटिस साइफरपंक हुन सक्छन् भनी उनले अमेरिकी पत्रकारलाई भनेका छन् ।

न्युयोर्क टाइम्सको रिपोर्ट सार्वजनिक भएपछि एडम ब्याकले एआईले पत्ता लगाएका समानताहरू संयोग मात्र भएको बताएका छन् । उनका अनुसार, एउटै क्षेत्र र रुचिका मानिसहरूको भाषा र शब्दहरू अक्सर मिल्न सक्छन् । उनले बिटकोइनको निर्माता भएको कुरा अस्वीकार गरे ।

जोन क्यारिरूले सतोशीको लेखन शैली विश्लेषण गर्न एआई टोलीका पत्रकार ड्यालन फ्रीम्यानको सहयोग लिए । क्यारिरूको विश्वास थियो कि सतोशी त्यस क्रिप्टोग्राफी समुदायका सदस्य थिए जो साइफरपंक, क्रिप्टोग्राफी र ह्यासकैशको मेलिङ लिस्टसँग जोडिएका थिए ।

सन् १९९२ देखि ३० अक्टोबर २००८ को बीचमा ३४ हजारभन्दा बढी प्रयोगकर्ताहरूले यी लिस्टहरूमा पोस्ट गरेका थिए ।

१० भन्दा कम पोस्ट गर्नेहरूलाई हटाउँदा संख्या १६ सय १५ मा झर्यो ।

डिजिटल पैसाका बारेमा छलफल नगर्नेहरूलाई हटाएपछि ६२० जनाको समूह बच्यो ।

सतोशीले लेखेका लेखहरूमा त्यस्ता शब्दहरू पहिचान गरियो जसको कुनै पर्यायवाची छैन । ती शब्दहरू ६२० जना संदिग्धमध्ये कसले सबैभन्दा बढी प्रयोग गरेका छन् भनेर मापन गरियो ।

एडम ब्याक यसमा सबैभन्दा माथि आए जसका ५२१ पर्यायवाची नभएका शब्दहरू सतोशीसँग मिले ।

थप दुई तरिकाबाट पुष्टि गर्ने प्रयासः
१. हाइफनको प्रयोगः सतोशीले हाइफन (–) को प्रयोगमा गरेका ३२५ वटा फरक–फरक गल्तीहरू पहिचान गरियो । ब्याकका ६७ वटा हाइफन सम्बन्धी गल्तीहरू सतोशीसँग मिले जुन अन्य कसैको भन्दा बढी थियो ।

२. लेख्ने शैलीको फिल्टरः
सतोशी जस्तै वाक्यहरूको बीचमा दुईवटा स्पेस दिने ५६२ जना भेटिए ।

ब्रिटिस हिज्जे प्रयोग गर्नेहरूलाई छुट्ट्याउँदा संख्या ४३४ मा झर्यो ।

इट्’स र इट्समा झुक्किने ११४ जना मात्र बचे ।

वाक्यहरूलाई अल्सोबाट अन्त्य गर्ने ५६ जना बाँकी रहे ।

अन्तमा ईमेल र ई–मेल तथा अमेरिकी चेक र बेलायती चेक दुवै शब्द प्रयोग गर्ने शैलीका आधारमा फिल्टर गर्दा एडम ब्याकको नाम मात्र बाँकी रह्यो ।

बिटकोइनका पिताले सन् २००८ मा सतोशी नाकामोतोको नाममा बिटकोइनको ह्वाइटपेपर जारी गरेका थिए । उनले संसारलाई पहिलो क्रिप्टोकरेन्सी दिए तर आफैं कहिल्यै अगाडि आएनन् ।

न्युयोर्क टाइम्सको सिद्धान्त सही हो भने एक ब्रिटिस नागरिकले किन जापानी नाम प्रयोग गरे भन्ने प्रश्न अझै बाँकी छ ।

केही शब्दावलीहरू
सतोशी नाकामोतोः यो एक छद्म नाम हो जुन बिटकोइनका निर्माताले प्रयोग गरेका थिए । आजसम्म यो एक व्यक्ति हो वा समूह भन्ने कसैलाई थाहा छैन ।

साइफरपंकः गोपनीयता र सुरक्षाका लागि क्रिप्टोग्राफी (कोडिङ) प्रयोग गर्नेहरूको समूह ।

बिटकोइन माइनिङः यो नयाँ बिटकोइन बनाउने र लेनदेन प्रमाणित गर्ने प्रक्रिया हो ।

विशेषज्ञको टिप्पणीः बिटकोइनको सफलता यसको निर्माता अज्ञात हुनुमा पनि लुकेको छ । यदि सतोशीको पहिचान खुल्यो भने यसले बजारको स्थिरतामा असर पार्न सक्छ ।