
काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा २ जनाको बढुवा भएको छ । कार्यकारी निर्देशक रोशनकुमार सिग्देलको अवकाशसँगै एक कार्यकारी निर्देशक पद रिक्त रहेको थियो ।
त्यस्तै, विदेशी विनिमय व्यवस्थापन विभागमा कार्यरत कार्यकारी निर्देशक किरण पण्डित डेपुटी गभर्नर नियुक्त भएसँगै अर्को एक गरी २ कार्यकारी निर्देशक पद रिक्त भएका थिए ।
रिक्त रहेका २ कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा निर्देशकहरू (अधिकृत प्रथम श्रेणी) मा कार्यरत रहेकामध्येबाट पहिलो र दोस्रो वरीयतामा रहेका हिमप्रसाद न्यौपाने र मुक्तिनाथ सापकोटा बढुवा भएका छन् ।
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेका दुई डेपुटी गभर्नरमध्ये एक मात्र नियुक्त गरेकाले अर्को एक कार्यकारी निर्देशक पद भने रिक्त हुन सकेन । जसले गर्दा गोविन्दप्रसाद नागिला भने कार्यकारी निर्देशकमा बढुवा हुनबाट छुटेका छन् ।
बिहीबार बढुवा भएका हिमप्रसाद न्यौपाने र मुक्तिनाथ सापकोटा भने अब रिक्त रहेको डेपुटी गभर्नरका प्रतिस्पर्धी भएका छन् । बढुवा भएसँगै हिमप्रसाद न्यौपानेलाई बैंकिङ विभाग र मुक्तिनाथ सापकोटालाई आन्तरिक लेखापरीक्षण विभागको प्रमुखमा पदस्थापन गरिएको छ ।
यस्तै, रिक्त भएको विदेशी विनिमय व्यवस्थापन विभागमा भने डा. डिल्लीराम पोखरेलको सरुवा भएको छ ।








प्रतिक्रिया