
जनकपुरधाम । सिराहाको सिरहा नगरपालिकामा कर्मचारी कुटपिट प्रकरणमा नगर प्रमुख नविन यादवमाथि अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार मेयर यादवसहित २ जनामाथि मुद्दा दर्ता भई अनुसन्धान थालिएको हो ।
५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवको जाहेरीका आधारमा मेयर यादव र रोहित मेस्तरविरुद्ध मुद्दा अघि बढाइएको हो । प्रहरीले म्याद थपको अनुमति पनि लिएको छ ।
गत सोमबार बिहान कार्यालय समयमै उपस्थित नभएको विषयलाई लिएर सुरू भएको विवाद चर्किँदै जाँदा कुटाकुटमा परिणत भएको थियो । मेयरमाथि कार्यालय सहयोगीलाई लात्ती र मुक्काले आक्रमण गरेको आरोप छ । त्यसपछि बाहिरी व्यक्तिसमेत प्रयोग गरी पुनः कुटपिट गराएको पीडित पक्षको दाबी छ ।
घटनापछि आक्रोशित कर्मचारीहरूले मेयरमाथि कारबाहीको मागसहित नगरपालिकामा धर्ना र प्रदर्शन गरिरहेका छन् ।
आन्दोलनरत कर्मचारीहरूले पीडितको निःशुल्क उपचार, उचित क्षतिपूर्ति, दोषीमाथि कडा कानुनी कारबाही तथा सुरक्षित र सम्मानजनक कार्य वातावरणको सुनिश्चितता गर्नुपर्ने माग अघि सार्दै काम ठप्प पारेका छन् ।








प्रतिक्रिया