
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलेक्ट्रिक सिगरेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहितका व्यक्तिहरू विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बिहीबार महरामाथि ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा बिगो दाबी गर्दै मंगलबार आरोपपत्र दायर गरेको हो।
२०७९ पुस १० गते चिनियाँ नागरिक लि हाङ सोङ ले फ्लाई दुबईको उडानबाट नेपाल ल्याएको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाइएर सुन तस्करी गरेको अख्तियारले गरेको अनुसन्धानमा फेला परेको छ। सुरुमा भन्सार कार्यालयले ती भेपहरू जफत गरेको भए पनि पछि गोदाममा रहेका सक्कली भेप (सुनसहितका) लाई नक्कली भेपसँग साटफेर गरी सुन गायब पारिएको अनुसन्धानबाट खुलेको थियो।
अख्तियारको दाबी अनुसार पूर्वसभामुख महरा र उनका छोरा राहुल महराले चिनियाँ तस्करहरूसँग साँठगाँठ गरी जफत भएको सुन छुटाउन र तस्करहरूलाई अवैध रूपमा सहयोग पुर्याउन भन्सारका उच्च अधिकारीहरूलाई दबाब दिएका थिए।
महरा र तस्करहरूबीच अस्वाभाविक भेटघाट र टेलिफोन सम्पर्क भएको तथा उनीहरूले आफ्नो पद र ओहोदाको दुरुपयोग गरी राज्यलाई अर्बौँ राजस्व चुहावट गराई व्यक्तिगत लाभ लिएको अख्तियारको ठहर छ।
यस प्रकरणमा अख्तियारले महराका साथै उनका छोरा राहुल, भन्सार विभागका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ लगायतका कर्मचारी र चिनियाँ तस्करहरूलाई पनि प्रतिवादी बनाएको छ।
भन्सारका कर्मचारीहरूले गोदाममा रहेको सामान सुरक्षित नराखी तस्करहरूसँग मिलेर सुन साटफेर गर्न सघाएको र सिसीटिभीले नदेख्ने ठाउँमा सामान राखेर बदनियत राखेको भेटिएको छ।
जम्मा ८४८० ग्राम सुनको मूल्य बराबरको बिगो दाबी गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको सजाय र जरिवानाको मागदाबी गरेको छ।










प्रतिक्रिया