इरान-अमेरिका युद्धविराममा चीनको के भूमिका ?

147
Shares

एजेन्सी । अमेरिकाले इरानसँग दुई हप्ते युद्धविरामको घोषणा गरेसँगै एउटा ठूलो प्रश्न खडा भएको छ ।

यो सम्झौता वास्तवमा कसले गरायो ? पृष्ठभूमिमा रहेर गोप्य रूपमा काम गर्ने चीनले वा निरन्तर कूटनीतिमार्फत गति निर्माण गर्ने पाकिस्तानले ?

घटनाक्रमको समयरेखाले अहिले के संकेत गर्छ भने चीनको केही प्रभाव भए पनि पाकिस्तानको भूमिका सुरुवाती मध्यस्थताबाट विकसित हुँदै महत्त्वपूर्ण मोडमा एक स्पष्ट दबाबसम्म पुगेको थियो ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले युद्धविराम घोषणा गर्ने आफ्नो ट्रुथ सोसल पोस्टमा आफ्नो निर्णयलाई सिधै पाकिस्तानको पहलसँग जोडेका छन् । उनले भनेका छन्, ‘पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ र फिल्ड मार्शल असिम मुनिरसँगको कुराकानीको आधारमा, जहाँ उनीहरूले आज राति इरानतर्फ पठाइँदै गरेको विनाशकारी शक्तिलाई रोक्न अनुरोध गरेका थिए, र इरानले हर्मुज जलयोजक पूर्ण, तत्काल र सुरक्षित रूपमा खोल्न सहमत भएमा, म दुई हप्ताको अवधिका लागि इरानमाथिको बमवर्षा र आक्रमण स्थगित गर्न सहमत छु । यो दुईतर्फी युद्धविराम हुनेछ !’

पाकिस्तानको संलग्नता अन्तिम समयमा मात्र सुरु भएको होइन । यसको पहिलो आधिकारिक स्वीकारोक्ति मार्च २६ मा आएको थियो जब उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले इस्लामाबादले अमेरिका र इरानबीच परोक्ष वार्ताको सहजीकरण गरिरहेको पुष्टि गरेका थिए ।

उनले दुवै पक्षबीच पाकिस्तानमार्फत सन्देशहरू आदानप्रदान भइरहेको बताए । त्यसले पहिलोपटक देशलाई सरकारी स्तरमा औपचारिक रूपमा मध्यस्थकर्ताको रूपमा स्थापित गर्यो । यो घटनाक्रम सोही दिन अन्तर्राष्ट्रिय रिपोर्टिङमा पनि देखियो जहाँ पाकिस्तानलाई अमेरिका–इरान परोक्ष वार्ताको मध्यस्थकर्ताको रूपमा वर्णन गरिएको थियो ।

मार्च २८ सम्ममा इरानका राष्ट्रपतिले पाकिस्तानलाई यसको मध्यस्थता प्रयासका लागि धन्यवाद दिएपछि यो भूमिकाले थप मान्यता पायो जसले तेहरानबाट यसलाई स्वीकार गरिएको संकेत गर्यो ।

गए राति पाकिस्तानको भूमिका अझ प्रत्यक्ष भयो । युद्धविराम घोषणा हुनुभन्दा ठीक अघि प्रधानमन्त्री शहबाज शरिफले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई सैन्य कारबाही स्थगित गर्न सार्वजनिक अपील गरे ।

‘मध्यपूर्वमा जारी युद्धको शान्तिपूर्ण समाधानका लागि कूटनीतिक प्रयासहरू स्थिर, बलियो र शक्तिशाली रूपमा अगाडि बढिरहेका छन् र निकट भविष्यमा ठोस नतिजा ल्याउने सम्भावना छ । कूटनीतिलाई आफ्नो बाटो लिन दिनको लागि म राष्ट्रपति ट्रम्पलाई दुई हप्ताका लागि समयसीमा थप्न हार्दिक अनुरोध गर्दछु ।’

ट्रम्पले युद्धविराम घोषणा गर्नुभन्दा अघि सरिफको अकाउन्टबाट गरिएको एउटा सामाजिक सञ्जाल पोस्टले थप चासो जगायो । सुरुमा यो सन्देशको शीर्षक ‘ड्राफ्ट – एक्समा पाकिस्तानका प्रधानमन्त्रीको सन्देश भनेर प्रकाशित गरिएको थियो जसले यो तुरुन्तै सार्वजनिक गर्न नचाहेको हुन सक्ने संकेत गर्छ ।

एएनआई रिपोर्टका अनुसार, सो पोस्टमा लेखिएको थियो, ‘ड्राफ्ट – एक्समा पाकिस्तानका प्रधानमन्त्रीको सन्देश । मध्यपूर्वमा जारी युद्धको शान्तिपूर्ण समाधानका लागि कूटनीतिक प्रयासहरू स्थिर, बलियो र शक्तिशाली रूपमा अगाडि बढिरहेका छन् र निकट भविष्यमा ठोस नतिजा ल्याउने सम्भावना छ । कूटनीतिलाई अगाडि बढ्न दिन, म राष्ट्रपति ट्रम्पसँग समयसीमा दुई हप्ता थप गर्न हार्दिक अनुरोध गर्दछु । पाकिस्तान पूर्ण इमानदारीका साथ इरानी भाइहरूलाई सद्भावको रूपमा सोही दुई हप्ताको अवधिका लागि हर्मुज जलयोजक खोल्न अनुरोध गर्छ । हामी सबै युद्धरत पक्षहरूलाई यस क्षेत्रमा दीर्घकालीन शान्ति र स्थिरताको हितमा कूटनीति मार्फत युद्धको निर्णायक अन्त्य गर्न दुई हप्ताको लागि सबै ठाउँमा युद्धविराम गर्न आग्रह गर्दछौं ।’

पछि उक्त पोस्टलाई सामग्री यथावत राखेर ड्राफ्ट लेबल हटाई सम्पादन गरियो ।

यो पोस्टको समय र त्यसपछिको युद्धविराम घोषणाले धेरैको ध्यान खिच्यो किनकि ट्रम्पले प्रस्तावसँग मेल खाने गरी दुई हप्ते विश्रामको घोषणा गरे ।

शरिफले पछि दुवै पक्ष शत्रुता रोक्न सहमत भएको बताए र अन्तिम सम्झौताका लागि वार्ता गर्न अप्रिल १० मा इस्लामाबादमा प्रतिनिधिमण्डलहरूलाई निमन्त्रणा दिए ।

उनले भने, ‘अत्यन्त नम्रताका साथ म यो घोषणा गर्न पाउँदा खुसी छु कि इरानको इस्लामिक गणतन्त्र र अमेरिका आफ्ना सहयोगीहरू सहित लेबनन र अन्य ठाउँमा तत्कालै लागू हुने गरी युद्धविराम गर्न सहमत भएका छन् ।’

प्रस्तावित इस्लामाबाद वार्ता मुख्य समस्याहरूको समाधानमा केन्द्रित हुने अपेक्षा गरिएको छ जहाँ पाकिस्तानले प्रत्यक्ष संलग्नताका लागि आयोजकको रूपमा आफूलाई उभ्याएको छ ।

इरानको प्रतिक्रियाले यस शृंखलालाई थप स्पष्ट पारेको छ । ह्वाइट हाउसको एक्स पोस्टमार्फत साझा गरिएको विज्ञप्तिमा तेहरानले प्रत्यक्ष रूपमा पाकिस्तानको भूमिकालाई स्वीकार गरेको छ ।

‘इरानको इस्लामिक गणतन्त्रको तर्फबाट म यस क्षेत्रमा युद्ध अन्त्य गर्न अथक प्रयास गर्नुभएका मेरा प्रिय भाइहरू पाकिस्तानका महामहिम प्रधानमन्त्री शरिफ र महामहिम फिल्ड मार्शल मुनिरप्रति कृतज्ञता र प्रशंसा व्यक्त गर्दछु ।’

विज्ञप्तिले इरानको अडानलाई पाकिस्तानको पहल र चलिरहेको वार्तासँग स्पष्ट रूपमा जोड्यो ।

‘प्रधानमन्त्री शरिफको ट्वीटमा गरिएको भ्रातृपूर्ण अनुरोधको जवाफमा र अमेरिकाले आफ्नो १५ बुँदे प्रस्तावका आधारमा वार्ताका लागि गरेको अनुरोधका साथै वार्ताको आधारको रूपमा इरानको १० बुँदे प्रस्तावको सामान्य ढाँचा स्वीकार गर्ने ट्रम्पको घोषणालाई विचार गर्दै म इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को तर्फबाट घोषणा गर्दछुः इरान विरुद्धको आक्रमण रोकियो भने हाम्रा शक्तिशाली सशस्त्र बलहरूले आफ्नो रक्षात्मक कारबाही बन्द गर्नेछन् ।’

इरानले एक महत्त्वपूर्ण विश्वव्यापी मार्गमा अस्थायी व्यवस्थाको पनि रूपरेखा प्रस्तुत गर्याे । ‘दुई हप्ताको अवधिका लागि इरानको सशस्त्र बलसँगको समन्वय र प्राविधिक सीमाहरूलाई ध्यानमा राखेर हर्मुज जलयोजकबाट सुरक्षित पारवहन सम्भव हुनेछ ।’

यस विज्ञप्तिले पाकिस्तानको अपील, अमेरिकी प्रस्ताव र इरानको प्रतिक्रियालाई एउटै समयरेखामा जोडेको छ ।

पाकिस्तानको भूमिका स्पष्ट रूपमा देखिँदा समेत इरानलाई वार्ताको टेबुलमा ल्याउनका लागि ट्रम्पलाई कसले मद्दत ग-यो भनी सोध्दा उनले चीनतर्फ संकेत गरे । ‘मैले हो भन्ने सुनेको छु । हो, उनीहरू संलग्न थिए ।’

यो संक्षिप्त टिप्पणीले बेइजिङले सम्भवतः इरानसँगको आफ्नो आर्थिक र रणनीतिक सम्बन्धमार्फत पृष्ठभूमिमा भूमिका खेलेको हुन सक्ने संकेत गर्छ । तर, चीनको संलग्नताको बारेमा कुनै विस्तृत सार्वजनिक विवरण दिइएको छैन ।

ट्रम्पले सम्झौतालाई निर्णायक भनेका छन् । ‘पूर्ण र समग्र विजय । शतप्रतिशत । यसमा कुनै शंका छैन ।’ बृहत्तर ढाँचाका धेरैजसो तत्त्वहरूमा सहमति भइसकेको छ, यद्यपि केही मुद्दाहरू अझै खुला छन् भनी उनले बताए ।

विज्ञहरू भने अझै सतर्क छन् । फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसीजका जोनाथन शान्जरले भने, ‘हेरौं, यो शासनलाई कुनै पनि हालतमा विश्वास गर्न सकिँदैन,’ र कमजोर भएको इरानले अझै पनि अप्रत्याशित व्यवहार गर्न सक्ने चेतावनी दिए ।

उनले भने, ‘कमजोर र क्रुद्ध इरानले बदला लिन खोज्न सक्छ भन्ने चिन्ता गर्ने ठाउँ प्रशस्त छ… यो घाइते जनावर जस्तै हुन सक्छ जुन निकै खतरनाक हुन्छ ।’

अहिलेको घटनाक्रमले ओभरल्यापिङ (एउटामा अर्को खप्टिएको) भूमिकाहरू देखाउँछ । चीन पर्दा पछाडिको सम्भावित प्रभावको रूपमा देखिएको छ जसलाई ट्रम्पले संक्षिप्त रूपमा स्वीकार गरेका छन् । पाकिस्तानले भने निरन्तरको ट्य्राक देखाएको छ । मार्चमा परोक्ष वार्ताको सहजीकरणदेखि इरानबाट मान्यता प्राप्त गर्ने र युद्धविरामसँग मेल खाने सार्वजनिक दुई हप्ते अपील गर्नेसम्म पाकिस्तानको भूमिका छ ।

यो युद्धविराम प्रारम्भिक मध्यस्थता, अन्तिम समयको कूटनीति वा गोप्य बाह्य प्रभावमध्ये केले बढी आकार पायो भन्ने कुरा अझै टुंगिएको छैन । वार्ताको अर्को चरणले कुन भूमिका निर्णायक साबित भयो भन्ने कुरा स्पष्ट पार्न सक्छ ।