टेलिकमको प्रिपेड प्याकेज दुई दिन लम्बियो, मूल्य नबढी समय थपिँदा ग्राहकलाई लाभ

644
Shares

काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका प्याकेजलाई बढाएर ३० दिन बनाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । कम्पनीका अनुसार ‘कम्बो–२९९ प्याक’ को समयावधि मंगलबार रातिदेखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिएको छ ।

यो निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिना र नेपाल टेलिकमबीच भएको छलफलपछि तत्काल कार्यान्वयनमा आएको हो । नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रीना डंगोलले हाल एउटा २८ दिने प्याकेजलाई ३० दिनमा रूपान्तरण गरिसकिएको र आगामी बैशाख ११ गतेसम्म यो अवधिका सबै प्याकेजलाई ३० दिनमा रूपान्तरण गरिसक्ने जानकारी दिइन।

यस व्यवस्थाबाट एनटीसीका ग्राहकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ । यो अवस्था लागू भएसँगै अब महिनामा एकपटक रिचार्ज गर्दा पुग्ने भएकाले प्रयोगलाई सहज बनाउनेछ । साथै उही मूल्यमा दुई दिन बढी सेवा पाउने भएकाले ग्राहकले डेटा, भ्वाइस तथा एसएमएस प्रयोगमा अतिरिक्त सुविधा प्राप्त गर्नेछन् ।

यसले खर्च व्यवस्थापनलाई पनि सहज बनाउने र उपभोक्ता सन्तुष्टि बढाउने विश्वास गरिएको छ । एनटीसीको यस्तो सेवालाई उपभोक्तामैत्री सुधारका रूपमा लिइएको छ भने यसले टेलिकम क्षेत्रमा प्रतिस्पर्धात्मक वातावरणलाई समेत थप गतिशील बनाउने अपेक्षा गरिएको छ ।