
काठमाडौं । अमेरिका र इरानबीच जारी तनावका बीच दुई हप्ताका लागि युद्धविरामको घोषणा भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताका लागि सबै प्रकारका सैन्य आक्रमण र बमबारी स्थगित गर्ने निर्णय भएको जानकारी दिएका छन्। अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराममा सहमति भएपछि मध्यपूर्व क्षेत्रमा तनाव कम हुने अपेक्षा गरिएको छ।
पाकिस्तानको विशेष मध्यस्थतामा भएको यो सहमतिपछि इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण ‘होर्मुज स्ट्रेट’ तुरुन्तै खोल्ने सर्त स्वीकार गरेको छ।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत यस ऐतिहासिक मोडबारे जानकारी दिँदै लेखेका छन्, ‘पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख असिम मुनिरको विशेष अनुरोधमा म इरानमाथिको आक्रमण दुई हप्ताका लागि रोक्न सहमत भएको छु। इरानले तुरुन्तै होर्मुज स्ट्रेट खोल्नुपर्नेछ।’
ट्रम्पका अनुसार अमेरिकाले इरानबाट १० बुँदे प्रस्ताव प्राप्त गरेको छ, जसमा दुई देशबीचका धेरै विवादास्पद मुद्दाहरूमा सहमति जुटेको छ। यो दुई हप्ताको समय सम्झौतालाई अन्तिम रूप दिन र कार्यान्वयन प्रक्रिया अघि बढाउन प्रयोग गरिनेछ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पनि युद्धविरामको पुष्टि गरेको छ। इरानले यसलाई आफ्नो विजयका रूपमा चित्रण गर्दै आफ्ना नागरिकहरूलाई राष्ट्रिय एकता कायम राख्न र विजय मनाउन आग्रह गरेको छ। मेहर समाचार एजेन्सीका अनुसार इरानका सर्वोच्च नेता आयतोल्लाह मोज्तबा खामेनीले यो सम्झौतालाई अनुमोदन गरिसकेका छन्।
इराकले उक्त सम्झौताको स्वागत गर्दै यसले क्षेत्रीय शान्ति, सुरक्षा र स्थायित्व मजबुत हुने विश्वास व्यक्त गरेको छ।
इराकको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा संकट नियन्त्रणका प्रयासलाई समर्थन गर्दै वार्ता र कूटनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ। साथै, युद्धविरामको पूर्ण पालना गर्न र थप तनाव बढाउने गतिविधिबाट टाढा रहन आग्रह गरिएको छ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनीरको पहलमा भएको वार्तापछि अन्तिम समयमा उक्त निर्णय आएको बताइएको छ। निर्धारित आक्रमण समयभन्दा झन्डै डेढ घण्टा अघि ट्रम्पले आफ्नो निर्णय परिवर्तन गरेका थिए।
इरानका विदेशमन्त्री अब्बास अरघचीले पनि अस्थायी सहमति भएको पुष्टि गर्दै यदि इरानमाथि आक्रमण रोकिएमा आफ्ना सशस्त्र बलहरूले प्रतिरक्षात्मक कारबाही स्थगित गर्ने बताएका छन्। उनका अनुसार आगामी दुई सातासम्म इरानका सुरक्षा निकायसँग समन्वय गरी हर्मुज जलडमरूमध्य हुँदै सुरक्षित आवतजावत सम्भव हुनेछ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले वार्ता सकारात्मक दिशामा अघि बढेमा युद्धविराम अवधि थप लम्ब्याउन सकिने संकेत दिएको छ। आगामी दिनहरूमा पाकिस्तानको इस्लामाबादमा थप वार्ता हुने अपेक्षा गरिएको छ।
युद्धका क्रममा इराकमा इरान समर्थित समूहहरूले अमेरिकी हितविरुद्ध आक्रमण गरेका थिए भने अमेरिका र इजरायलले तेहरानसँग सम्बन्धित लडाकुहरूलाई लक्षित गर्दै हवाई हमला गरेका थिए। इरानले उत्तरी इराकमा रहेका कुर्द विद्रोही समूहहरूलाई पनि निशाना बनाएको थियो।
इरानी पक्षले अबका थप वार्ताहरू पाकिस्तानको राजधानी इस्लामाबादमा हुने बताएको छ। युद्धविराम अवधिभर इरानले होर्मुज स्ट्रेटबाट हुने ढुवानीलाई सुरक्षित र खुला राख्ने प्रतिबद्धता जनाएको छ।
यसअघि ट्रम्पले इरानले माग पूरा नगरे ‘आज राति नै एक सभ्यता समाप्त हुन सक्छ’ भन्ने चेतावनी दिएका थिए, जसले विश्वभर ठूलो त्रास सिर्जना गरेको थियो। उनले विद्युत् केन्द्र, पुल लगायत पूर्वाधारमा आक्रमण गर्ने धम्कीसमेत दिएका थिए, जसलाई धेरै कानुनविद्हरूले सम्भावित युद्ध अपराधको रूपमा व्याख्या गरेका थिए।
युद्धविराम घोषणा गर्दै ट्रम्पले अमेरिका आफ्नो सैन्य उद्देश्य पूरा गरिसकेको दाबी गर्दै इरानसँग दीर्घकालीन शान्ति सम्झौताका लागि आधार तयार भएको बताएका छन्। उनका अनुसार इरानले पेश गरेको १० बुँदे प्रस्ताव वार्ताका लागि उपयुक्त आधार बनेको छ।
ट्रम्पले आक्रमणको धम्की दिएको अन्तिम समयसीमा (डेडलाइन) भन्दा करिब एक घण्टा अगाडि यो सहमति भएको हो। यसलाई मध्यपूर्वमा कुटनीतिको ठूलो सफलताका रूपमा हेरिएको छ।
इजरायल पनि सहमत
यसैबीच, ह्वाइट हाउसले इजरायल पनि यो दुई हप्ते युद्धविराममा सहभागी हुन सहमत भएको पुष्टि गरेको छ। ह्वाइट हाउसका एक अधिकारीका अनुसार यस अवधिमा इजरायलले इरानमाथि कुनै पनि सैन्य कारबाही गर्ने छैन।








प्रतिक्रिया