विराटनगर अस्पतालको व्यापार ५३% ले बढ्यो, साढे १७ करोड खुद नाफा

अकुपेन्सी र बिरामीको संख्या बढ्दा कारोबारमा उल्लेख्य वृद्धि

385
Shares

काठमाडौं । विराटनगर अस्पतालले एकै वर्ष करिब पौने ३ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ६८ करोड ३० लाख रुपैयाँको कारोबार गरेको हो ।

सन् २०२४ मा १ अर्ब ७९ करोड ५० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२३ मा १ अर्ब १९ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

अस्पतालको कारोबार गत आवमा ५३ प्रतिशतले वृद्धि भएको छ ।

अस्पतालका अनुसार गत आवमा उच्च अकुपेन्सी लेभल र बिरामीको संख्या बढ्दा कारोबारमा उल्लेख्य वृद्धि भएको हो ।

अस्पतालले गत आवमा मात्रै १७ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सन् २०२४ मा १० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

अस्पतालको कुल नगद सञ्चय ४४ करोड २० लाख रुपैयाँ पुगेको छ । सन् २०२४ मा २८ करोड १० लाख रुपैयाँ थियो । त्यसैगरी, अस्पतालले चालु आवको ६ महिनाको अवधिमा १ अर्ब ६९ करोड ५० लाख रुपैयाँ कारोबार गरिसकेको छ ।

सन् २००८ मा ज्ञानेन्द्रमान सिंह कार्कीले स्थापना गरेको कम्पनीले विभिन्न विशेष स्वास्थ्य सेवा दिँदै आएको छ । अस्पतालले ८ सय ५० शय्याको सुविधाका साथ सेवा दिँदै आएको छ । अस्पतालले स्वास्थ्य सेवासँगै एमबीबीएस, बीएस्सी नर्सिङ, बीपीटी र बीएस्सी एएमएलटीको कक्षा सञ्चालन गर्दै आएको छ ।

अस्पतालले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब ४० करोड रुपैयाँको रेटिङ गराएको छ । अस्पतालले दीर्घकालीन कर्जाका लागि ४ अर्ब १५ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि २५ करोड रुपैयाँको रेटिङ गराएको हो।

Skip This