
काठमाडौं । नेचर इन्टरनेशनलले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमै करिब सवा १ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आवको ६ महिनाको अवधिमा १ अर्ब २० करोड रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले गत आवमा १ अर्ब ३८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२४ मा ७१ करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा ६५ करोड रुपैयाँको मात्रै कारोबार गरेको थियो । कम्पनीले गत आवमा १ करोड १० लाख रुपैयाँको खुद नाफा कमाएको छ ।
सन् २०१० मा स्थापना भएको कम्पनीले उच्च गुणस्तरको सामग्री र फुड केमिकल उद्योगमा सेवा दिँदै आएको छ ।
कम्पनी आयातकर्ता र वितरक हो । कम्पनीले मकैको स्टार्च, पामोलिन तेल विभिन्न उद्योग जस्तै- खाना, फर्मा, चकलेट, चाउचाउ, बिस्कुट, पेय पदार्थ र अन्य खाद्य क्षेत्रमा सेवा दिँदै आएको छ । कम्पनीले ३ सयभन्दा बढी सामग्री बिक्री वितरण गर्दै आएको छ ।
विराटनगरमा ६ हजार स्क्वायर फिट क्षमतामा वेयरहाउस रहेको कम्पनीका नेचुरल इन्ग्रिडियन्ट प्रालि र सिंघानिया पोलिमर प्रालि सहायक कम्पनी छन् ।
सहायक कम्पनी नेचुरल इन्ग्रिडियन्टले ब्लेन्डिङ र बेकरीको रिप्याकेजिङ, बिस्कुट, चकलेटको कच्चा पदार्थ र औद्योगिक कच्चा पदार्थ विभिन्न उद्योगका लागि कारोबार गर्दै आएको छ । अर्को सहायक कम्पनीले प्लास्टिकजन्य सामग्री र प्लास्टिक ट्रे उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
अभिषेक सिंघानिया निर्देशक रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २५ करोड ५० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब २४ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।










प्रतिक्रिया