मे महिनामा ट्रम्प र सीबीच शिखरवार्ता, व्यापार युद्धका विषयमा कुराकानी हुने

98
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आठ वर्षपछि चीनको आफ्नो पहिलो भ्रमणको क्रममा मे महिनामा चीनका राष्ट्रपति सी चिनपिङसँग भेट्ने कार्यक्रम छ ।

वाशिङटनले व्यापक र कहिलेकाहीँ अनिश्चित विश्वव्यापी भन्सार (ट्यारिफ) लागू गरेको ठीक एक वर्षपछि हुन लागेको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

विश्वका दुई ठूला अर्थतन्त्रहरूबीचको टकराव जस्तालाई तस्तै भन्सार लगाउने अवस्थाबाट विकसित भएर अहिले तनाव व्यवस्थापन गर्ने चरणमा पुगेको छ । यसअघि धेरै चरणका व्यापार वार्ताहरू, फोन संवादहरू र गत वर्ष दुई राष्ट्रपतिहरूबीचको भेटवार्ता भइसकेका छन् ।

मार्चः अमेरिकाले चिनियाँ उद्योगहरूमाथि सेक्सन ३०१ अन्तर्गत अनुचित व्यापार जाँच सुरु गर्यो । चीनले पनि त्यसको जवाफमा पारस्परिक अनुसन्धान सुरु गर्यो । ट्रम्प र राष्ट्रपति सी चिनपिङबीचको शिखर वार्ताको तयारी भइरहेको भए पनि इरान युद्ध जारी रहेकाले ट्रम्पले बेइजिङ भ्रमण मे महिनाको मध्यसम्मका लागि सारेका छन् ।

अमेरिकाका अर्थमन्त्री स्कट बेसन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रियरले पेरिसमा चिनियाँ उप–प्रधानमन्त्री हे लिफेङ र शीर्ष व्यापार वार्ताकार ली चेनगाङसँग छैटौं चरणको वार्ता गरे, जसलाई दुवै पक्षले रचनात्मक भनेका छन् ।

फेब्रुअरीः अमेरिकी सर्वोच्च अदालतले ट्रम्पको विश्वव्यापी भन्सार व्यवस्थालाई अस्वीकार गर्यो । ट्रम्पले भने आफूले अझै पनि भन्सारको प्रयोग जारी राख्ने संकेत दिएका छन् ।

जनवरीः चीनले सन् २०२५ को अन्त्य कीर्तिमानी व्यापार बचतका साथ ग-यो । अमेरिकातर्फको निर्यातमा आएको गिरावटका बीच दक्षिणपूर्वी एसिया, अफ्रिका र ल्याटिन अमेरिकातर्फ व्यापार मोडेकाले चीनले यो लाभ प्राप्त गरेको देखिन्छ ।

सन् २०२५ अक्टोबरः चीनले महत्त्वपूर्ण खनिजहरूमा आफ्नो प्रभुत्व देखायो । उसले रेयर अर्थ तत्त्वहरूको निर्यात नियन्त्रणलाई फराकिलो बनायो र सेमिकन्डक्टर प्रयोगकर्ताहरूमाथि निगरानी बढायो ।

अमेरिकाले चिनियाँ आयातमा थप १०० प्रतिशत भन्सार थप्यो र महत्त्वपूर्ण सफ्टवेयरमा निर्यात नियन्त्रण लागू गर्यो । दुवै देशले एकअर्काको ढुवानी उद्योगलाई पनि निशाना बनाए ।

त्यसपछि ट्रम्प र सीले दक्षिण कोरियाको बुसानमा भेट गरे र नयाँ व्यापार सम्झौतामा सहमत भए । वाशिङटनले भन्सारमा केही कटौती गर्ने भयो भने बेइजिङले अवैध फेन्टानाइलको व्यापार रोक्ने, अमेरिकी भटमासको खरिद पुनः सुरु गर्ने र रेयर अर्थ निर्यातको अवरोधलाई रोक्ने सहमति गर्याे ।

सेप्टेम्बरः अमेरिका र चीनले टिकटकको लगानी फिर्ताबारे छलफल गरे । अमेरिकाले रसायन, विमान इन्जिन र तिनका पाटपुर्जाहरूको व्यापारबारे चीनसँग कुरा गर्न दबाब दियो ।

जुन–अगस्टः केही चिनियाँ रेयर अर्थ म्याग्नेट उत्पादकहरूले निर्यात इजाजतपत्र पाउन थालेपछि ट्रम्पले व्यापार सम्झौता सही मार्गमा रहेको बताए । अमेरिकाले एनभिडियालाई आफ्नो उन्नत आर्टिफिसियल इन्टेलिजेन्स चिप्स चीन निर्यात गर्न इजाजत दिन थाल्यो भने ट्रम्पले चीनलाई अमेरिकी भटमासको खरिद चार गुणा बढाउन आग्रह गरे । भन्सार सम्झौतालाई थप ९० दिनका लागि थपियो ।

मेः जेनेभामा भएको व्यापार वार्ताको पहिलो चरणमा दुवै पक्ष ९० दिने सम्झौतामा सहमत भए । त्यसले उच्च भन्सार दरहरू घटाउन अनुमति दियो । तीन हप्तापछि चीनले भन्सार घटाउने र महत्त्वपूर्ण खनिज निर्यातमा खुकुलो बनाउने सम्झौता उल्लंघन गरेको आरोप ट्रम्पले लगाए । चीनले भने अमेरिकाले चीनविरुद्ध धेरै भेदभावपूर्ण र प्रतिबन्धात्मक उपायहरू ल्याएको बतायो ।

अप्रिलः चिनियाँ सामानहरूमा १० प्रतिशत दण्डात्मक भन्सारका साथ सत्तामा फर्किएपछि ट्रम्पले अप्रिलको सुरुमा सबै आयातमा लिबरेशन डे भन्सार घोषणा गरे जसले चीनसँगको सम्बन्धलाई थप बिगार्यो । चीनले पनि जवाफमा कारबाही गर्यो र दुवै देशले एक–अर्का विरुद्धको कर १०० प्रतिशतभन्दा माथि पुर्याए । चीनले केही रेयर अर्थको निर्यातमा पनि प्रतिबन्ध लगाउन सुरु गर्यो ।