जनवरी विरोध प्रदर्शनमा सहभागी २ जनालाई इरानले दियो मृत्युदण्ड

315
Shares

एजेन्सी । इरानी न्यायपालिकाको मिजान सञ्चामाध्यमले आइतबार जानकारी दिए अनुसार, जनवरीको अशान्तिका बेला सैन्य इलाकामा आक्रमण गर्न र शस्त्रागारमा पहुँच बनाउन खोजेको अभियोगमा दोषी ठहरिएका दुई पुरुषलाई इरानले मृत्युदण्ड दिएको छ ।

अधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलका अनुसार, मोहम्मद अमिन बिग्लारी र शाहीन वाहेदपरस्तका रूपमा पहिचान गरिएका यी व्यक्तिहरू सोही मुद्दामा मृत्युदण्डको सामना गरिरहेका चार जनाको समूहमध्येका थिए ।

उक्त सञ्चारमाध्यमका अनुसार, हतियार र सैन्य उपकरण चोरी गरी सामूहिक हत्या गर्न खोज्ने दंगाकारीमध्येका यी दुई प्रतिवादीको सजायलाई इरानको सर्वोच्च अदालतले सदर गरेको हो ।

गत साता इरानले १८ वर्षीय अमिरहुसेन हातामीलाई मृत्युदण्ड दिएको छ । उनी इस्लामिक गणतन्त्रको इतिहासकै सबैभन्दा ठूलो दमनको रूपमा रहेको देशव्यापी सरकारविरोधी प्रदर्शनबाट उत्पन्न सोही मुद्दामा दोषी ठहरिएका थिए ।

हालैको एक प्रतिवेदनमा एम्नेस्टीले प्रदर्शनमा सहभागी भएका कारण ११ जना पुरुषहरूले आसन्न मृत्युदण्डको जोखिम सामना गरिरहेको बताएको छ ।

दोषी ठहरिनुअघि उनीहरूलाई हिरासतमा यातना र अन्य दुर्व्यवहार गरिएको थियो र जबर्जस्ती गराइएको स्वीकारोक्तिमा आधारित पूर्ण रूपमा अन्यायपूर्ण सुनुवाइ मार्फत सजाय सुनाइएको प्रतिवेदनमा थपिएको छ ।

Skip This