५६ दिनका लागि ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

63
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिकत तरलता भएपछि आइतबार ४० अर्ब तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ रहेको अधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ५६ दिनको लागि उक्त तरलता प्रशोचन गर्न लागेको हो ।

निक्षेप संकलन उपकरणको बोलकबोल आजै (चैत २२ गते) दिउँसो ३ः०० बजेसम्म ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’ मार्फत हुनेछ । संकलित निक्षेपको निष्कासन पनि आजै गरिने र यसको सावाँ तथा ब्याज भुक्तानी आगामी २०८३ जेठ १७ गते हुनेछ ।

यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ’क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । सहभागी संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकम (४० अर्ब) सम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलको माध्यमबाटै तय गरिनेछ। बहु–ब्याजदरमा पनि बोलकबोल गर्न सकिने र सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई पहिलो प्राथमिकता दिइने बैंकले जनाएको छ।

उक्त रकमलाई बैंकहरूले अनिवार्य नगद मौज्दात गणना गर्न पाउने छैनन्। यसलाई वैधानिक तरलता अनुपात र तरलता अनुपातमा भने गणना गर्न पाइनेछ। निक्षेप उपकरणलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा समेत प्रयोग गर्न सकिने व्यवस्था छ।

राष्ट्र बैंकका अनुसार समान ब्याजदरमा आह्वान गरिएको रकमभन्दा बढीको प्रस्ताव आएमा समानुपातिक आधारमा बाँडफाँड गरिनेछ। साथै, यस उपकरणको अवधि समाप्त हुनुअघि भुक्तानी हुने छैन।

पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरता भएपछि राष्ट्र बैंकले निरन्तर रूपमा निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा खिच्दै आएको छ । यस्तै राष्ट्र बैंक ऋणपत्र जारी गरेर १ वर्षको लागि २ खर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ । ब्याजदर करिडोरको तल्लो सीमा निक्षेप संकलन दरमा स्थायि निक्षेप सुविधा पनि उपलब्ध गराएको छ ।

राष्ट्र बैंकको १९ चैतको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि राष्ट्र बैंकले खिचेको रकम ९ खर्ब १८ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

Skip This