
काठमाडौं । खुकुरी रमसहित अन्य ब्रान्डको मदिरा बेच्ने सगरमाथा मार्केटिङले ७ महिनामा साढे ५ अर्ब रुपैयाँको कारोबार गरेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको ७ महिनामा ५ अर्ब ५० करोड ५० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२५ मा ६ अर्ब १० करोड ५० लाख रुपैयाँ, सन् २०२४ मा ५ अर्ब ७७ करोड ३० लाख रुपैयाँ, सन् २०२३ मा ५ अर्ब ५२ करोड ७० लाख रुपैयाँ र सन् २०२२ मा ६ अर्ब २८ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीले द नेपाल डिस्टिलरिज प्रालिले उत्पादन गरेको खुकुरी रम, न्यूड भोड्का, कर्दा रम र एरिस्टोक्र्याट ह्विस्कीको कारोबार गर्दै आएको छ । आर्थिक सुस्तताका बाबजुद कम्पनीको व्यापार ५ देखि ६ प्रतिशतले बढेको जनाएको छ ।
कम्पनीले बिक्री गर्दै आएको ब्रान्डमध्ये खुकुरी रम नेपाली बजारमा लोकप्रिय छ । गत आवमा कम्पनीको कुल कारोबारमध्ये खुकुरी एक्सएक्सएक्स रमबाट मात्रै ८७ प्रतिशत आम्दानी भएको रेटिङमा उल्लेख छ ।
कम्पनीका अनुसार गत आवमा कारोबार नाफा घटेको थियो । कम्पनीले सन् २०२४ मा ३.५ प्रतिशत कारोबार नाफा गरेकोमा गत आवमा २.५ प्रतिशतमा झरेको थियो । तर, चालु आवको ७ महिनामा व्यापार पुनः बढेको छ । यस अवधिमा कम्पनीको व्यापार ३.२ प्रतिशतले सुधार भएको हो ।
कम्पनीले विशेषगरी चिसो मौसममा उच्च कारोबार गर्ने गरेको छ । पुस र माघ महिनामा मात्रै ६५ प्रतिशतदेखि ७० प्रतिशतसम्म व्यापार हुने गरेको छ ।
हेमन्तराज प्रसाईंको ६० प्रतिशत र दत्तराम प्रसाईंको ४० प्रतिशत स्वामित्व रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि ६९ करोड रुपैयाँको रेटिङ गराएको छ ।










प्रतिक्रिया