इरान युद्ध चलिरहेको बेलामै हेगसेथले किन सेनाप्रमुखलाई बर्खास्त गरे ?

588
Shares

एजेन्सी । इरान युद्ध जारी रहँदा अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले बिहीबार अमेरिकी सेनाका प्रमुख र अन्य दुई जनरलहरूलाई बर्खास्त गरेका छन् ।

हेगसेथले अमेरिकी सेनाका चिफ अफ स्टाफ जनरल र्यान्डी जर्जलाई तत्काल अवकाश लिन भनेको एक पेन्टागन अधिकारीले सीएनएनलाई बताए । उनले बिहीबार अन्य दुई सैन्य जनरलहरूलाई पनि बर्खास्त गरेको एक अमेरिकी अधिकारीले जानकारी दिए ।

तिनमा प्रमुख च्याप्लेन मेजर जनरल विलियम ग्रीन जुनियर र आर्मी ट्रान्सफर्मेसन एन्ड ट्रेनिङ कमान्डका कमान्डर जनरल डेभिड होड्ने रहेका छन् ।

इरान युद्धबारे राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरेको एक दिनपछि हेगसेथको यो कदम आएको हो । उक्त भाषणमा ट्रम्पले इरानमाथि आक्रमणलाई तीव्र बनाउने संकेत गरेका छन् जबकि यसअघि उनले अमेरिकाले दुई देखि तीन हप्ताभित्र युद्ध समाप्त गर्न सक्ने संकेत दिएका थिए ।

पेन्टागनका मुख्य प्रवक्ता सीन पार्नेलले बिहीबार एक्समा लेख्दै जर्जको बर्हिगमन पुष्टि गरे, ‘जनरल र्यान्डी ए. जर्जले ४१औं चिफ अफ स्टाफको पदबाट तत्काल लागू हुने गरी अवकाश लिनुहुनेछ । युद्ध विभाग जनरल जर्जको राष्ट्रप्रतिको दशकौंको सेवाको लागि कृतज्ञ छ ।’

बिहीबारको आकस्मिक घोषणाले सेनाको वरिष्ठ नेतृत्वलाई अचम्ममा पारेको अमेरिकी अधिकारीले सीएनएनलाई बताए । रक्षा मन्त्रालयका अन्य कर्मचारीले जस्तै उनीहरूले पनि जर्जको जबर्जस्ती अवकाशबारे सार्वजनिक घोषणा भएपछि मात्र थाहा पाएका थिए ।

जर्जले बिहीबार एक बैठकमा रहँदा हेगसेथको फोन कलबाट यसबारे थाहा पाएको अर्का एक अमेरिकी अधिकारीले बताए । पछि उनले आफ्ना कर्मचारीहरूसँग व्यक्तिगत रूपमा यस घोषणाको बारेमा कुरा गरे र समाचार सुन्दा उनका कर्मचारीहरू धेरै शान्त र गम्भीर देखिएको अधिकारीले बताए ।

सेना प्रमुखको रूपमा जर्जले सेना सचिव ड्यान ड्रिस्कलसँग मिलेर काम गरेका थिए जो ह्वाइट हाउससँग नजिकका वरिष्ठ अधिकारी हुन् र जसलाई हेगसेथले खतराको रूपमा लिएका छन् र कहिलेकाहीँ उनीसँग विवादित सम्बन्ध पनि रहेको छ ।

जर्जको तत्काल अवकाशको आकस्मिक र सार्वजनिक प्रकृतिको कारण अधिकारीहरूलाई इरानसँगको जारी द्वन्द्वका बीच संयुक्त प्रमुखहरूमध्ये एकलाई हटाउने विरुद्ध तर्क गर्ने ठाउँ बाँकी नरहेको पहिलो अमेरिकी अधिकारीले बताए । विशेषगरी, जर्जको नेतृत्वमा सेनाले सैनिक परिचालन गरिरहेको छ र संयुक्त बललाई महत्त्वपूर्ण एकीकृत वायु र क्षेप्यास्त्र रक्षा क्षमता प्रदान गर्ने प्राथमिक जिम्मेवारी पनि सेनाकै हो ।

प्रमुखको रूपमा जर्जले संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केन र हेगसेथलाई ती क्षमताहरूको सम्बन्धमा सल्लाह र निर्देशन दिएका थिए ।

‘यो निर्णय धेरै सोचविचार गरेर लिएको जस्तो लाग्दैन,’ पहिलो अमेरिकी अधिकारीले भने ।

सीबीएस न्युजले जर्जलाई हटाएको खबर सबैभन्दा पहिले रिपोर्ट गरेको थियो ।

जर्ज करियर इन्फ्यान्ट्री अफिसरका रूपमा सन् १९८८ मा वेस्ट पोइन्टको अमेरिकी सैन्य प्रतिष्ठानबाट सेनामा प्रवेश गरेका थिए । उनले सेप्टेम्बर २०२३ देखि चिफ अफ स्टाफको रूपमा सेवा गर्दै आएका छन् । उनले यसअघि जोइन्ट बेस लुइस–म्याककोर्डमा आई कोर्प्सको कमान्ड गरेका थिए र बाइडन प्रशासनको समयमा रक्षा सचिव लोयड अस्टिनको वरिष्ठ सैन्य सहायकको रूपमा सेवा गरेका थिए ।

रक्षा सचिवको वरिष्ठ सैन्य सहायकको काम प्रायः गैर–राजनीतिक मानिन्छ र उत्कृष्ट सैन्य अधिकारीहरूलाई दिइने भूमिका हो । तर, अस्टिनसँग जर्जको निकटतालाई हेगसेथ र उनको समूहले उनको विरुद्धमा एउटा दागको रूपमा लिएको छ ।

हेगसेथले आफ्ना वरिष्ठ सैन्य सहायक जनरल क्रिस लाभेनलाई सेनाको उपप्रमुखको रूपमा मनोनित गर्दा उनले अन्ततः जर्जको ठाउँ लिने सैन्य र पेन्टागन अधिकारीहरू बीच अड्कलबाजी भएको थियो । उपप्रमुखको रूपमा जर्जको अनुपस्थितिमा लाभेनले सम्भवतः कार्यवाहक चिफ अफ स्टाफको रूपमा काम गर्नेछन् ।

हेगसेथको लागि काम गर्नुअघि एरिजोना विश्वविद्यालयको आरओटीसीबाट सन् १९९० मा सेनामा प्रवेश गरेका लाभेन दक्षिण कोरियाको आठौं सेनाको कमान्डिङ जनरल थिए र त्यसअघि उनले उत्तर क्यारोलिनाको फोर्ट ब्रागमा ८२औं एयरबोर्न डिभिजनको कमान्डरको रूपमा छोटो समय सेवा गरेका थिए ।

उनको आधिकारिक जीवनीका अनुसार, ८२औं एयरबोर्न डिभिजनको कमान्डिङ सामान्यतया दुई वर्षको काम हो यद्यपि लाभेनले दुई वर्ष नपुग्दै त्यो भूमिका छोडे र दक्षिण कोरिया जानुअघि अमेरिकी सेना कमान्डको कमान्डरको विशेष सहायक बनेका थिए ।