
जनताबाट अनुमोदित भएर आउनुभएका सम्पूर्ण माननीय सदस्यहरूलाई यो सम्मानित सदनमा हार्दिक स्वागत गर्न चाहन्छु । यो संसद् राष्ट्र निर्माणका सहिदहरूदेखि जेएनजीलगायत सबै बलिदानको सन्तान हो । म ती सम्पूर्ण सहिदहरूप्रति शिर झुकाएर श्रद्धापूर्वक श्रद्धाञ्जली अर्पण गर्दछु ।
नेपाली जनताले यसपटक ऐतिहासिक रेकर्डका साथ राष्ट्रिय स्वतन्त्र पार्टीलाई करिब दुई तिहाइको मतादेश दिएका छन् । म जनतालाई आभार मात्र प्रकट गर्दिनँ, यही रोस्टमबाट प्रतिज्ञा गर्छु, यो मतादेशको ऋण हामी जिम्मेवारी पूरा गरेर तिर्नेछौँ । यो मतादेशमा जनताको आशा पनि छ, आक्रोश पनि छ । मलाई थाहा छ, हामीले पाएको मत समर्थनको मात्र होइन, परिवर्तनको मत हो । हामीलाई जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न हो । म गर्वका साथ भन्न सक्छु, हामीले बदल्न सुरु गरिसकेका छौं ।
सभामुख महोदय, सत्तारुढ दलको सभापतिका रूपमा अब हामीले बोलेर मात्र पुग्दैन । मैले मात्र होइन, रास्वपाका हरेक माननीयले कामबाटै आफूलाई, पार्टीलाई र सरकारलाई प्रमाणित गर्नुपर्छ । अब हामीले राम्रो बोल्नुभन्दा पनि हाम्रा कामहरू र सरकारका कामहरू आफैँ अत्यन्त राम्रोसँग बोल्नेछन् र ती बोल्न सुरु गरिसकेका कुरा फेरि पनि म निवेदन गर्न चाहन्छु ।
सभामुख महोदय, हामीलाई हनिमुन पिरियडको सुविधा पनि चाहिँदैन । हामी दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्न चाहन्छौं र गर्न सुरु गरिसकेका छौं । तपाईंहरूले सरकारको रफ्तार देखिरहनुभएको छ । अब कर्मचारीतन्त्रसहित सिंगो देशले यो रफ्तारसँग गति मिलाउनुको विकल्प छैन । हामी आफ्ना मात्र होइन, जायज छन् भने विपक्षी दलका चुनावी प्रतिबद्धताको पनि स्वामित्व लिन तयार भएर आएका छौं र यसको सार्वजनिक घोषणा हामीले गरिसकेका छौं ।
सभामुख महोदय, सरकारका प्राथमिकता, योजना र दिशा सविस्तार सम्माननीय प्रधानमन्त्री ज्यूबाटै आवश्यक परे बोलेर र आवश्यक नपर्दा नबोलेरै कामबाट प्रस्तुत हुने कुरा पनि म सम्मानित सदनलाई जानकारी गराउनेछु ।
म आज केवल केही राजनीतिक विषयमा प्रवेश गर्न चाहन्छु। सभामुख महोदय, यो सम्मानित संसद्मा यसअघि पनि पटक–पटक एकल बहुमतका सरकार नबनेका होइनन्, तर ती सरकारहरू इतिहासका अङ्क बने, इतिहास बदल्ने औजार बन्न सकेनन् । किन सकेनन् ? दृष्टिकोणमा समस्या थियो कि प्राथमिकतामा पारदर्शिता र जवाफदेहितामा कमजोरी थियो कि कार्यान्वयनमा? किन अवसरहरूलाई परिणाममा बदल्न सकिएन? हामी इतिहासबाट सिक्न लाज मान्ने छैनौं । जनताले अहिले हामीलाई दिएको विशाल बहुमतको इतिहास, यो पनि फेरि गुमेको अवसर भनेर लेखियो भने हामी कलङ्कित हुनेछौं । हामीलाई त्यो मञ्जुर छैन ।
रास्वपाका साथीहरूलाई म सम्झाउँछु, हामी यहाँ प्रश्न सोधेर आएका हौं । अहिले बस्ने ठाउँ फेरियो होला, तर आज पनि ती प्रश्नहरूप्रति हाम्रो नैतिक जिम्मेवारी उस्तै छ । अब साबित गर्नुछ कि हामीलाई केवल प्रश्न सोध्न मात्र आउँदैन, उत्तर दिन पनि आउँछस समस्या देखाउन मात्र होइन, समाधान खोज्न पनि आउँछ ।
प्रतिपक्षी दलहरूलाई मेरो विनम्र आग्रह छ, हामीमाथि चौबीसै घण्टा निगरानी गरिदिनुहोला । शासनमा तपाईंहरूको लामो अनुभव छ । हाम्रा कमजोरी उजागर गरिदिनुहोला, गल्ती देखाइदिनुहोला । यदि हामीले बाटो बिरायौँ भने सच्याइदिनुहोला। यदि हामी जनताबाट टाढा हुन खोज्यौँ भने हामीलाई जनताको आवाज सम्झाइदिनुहोला । हामीबाट अहङ्कार नबढोस्, हामीमा कुनै अहङ्कार नछाओस्, हाम्रा निर्णयहरू एकतर्फी नहुन् ।
लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष प्रतिस्पर्धी मात्र होइनन्, एक-अर्काका पूरक पनि हुन् । एकले काम गर्छ, अर्कोले निगरानी गर्छ । एकले योजना बनाउँछ । हामी प्रतिपक्षको आवाज कमजोर हुन दिने छैनौँ, किनकि प्रतिपक्षको आवाज कमजोर बनाइयो र उपेक्षा गरियो भने लोकतन्त्र कमजोर हुनेछ । यो हामीले अस्ति भर्खरै देखिसकेका छौं ।
यो संसद् बहसको थलो हुनेछ, प्रतिशोधको होइन । हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संशोधन गरिएको छ र अध्यादेशसमेत ल्याइएको छ । त्यस्ता गलत क्रियाकलाप यथाशीघ्र सच्याइने कुरा म यो सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु । प्रतिपक्षमाथि अहङ्कार र प्रतिशोधको त्यो अध्याय अब दोहोरिने छैन ।
आस्थाका आधारमा फरक व्यवहार हुने छैन । अब अन्यायपूर्वक विधि नै मिचेर सुन्न मन नलागेका कुरा नसुनौँ भनेर कसैको माइक काटिने छैन । संसदीय समितिहरूमा सङ्ख्याकै बलमा प्रतिशोध र अत्याचार हुने छैन, तर सुशासनको वेग भने रोकिने छैन । न्याय पाउने पहिलो हक सहिदकी आमाको हो, त्यसलाई प्रतिशोध भन्न पाइने छैन ।
यो सरकार जेनजी विद्रोहको पनि सन्तान हो । हिजो संविधान र कानुनको आवरणमा नेता र पार्टीका सिफारिसबाट नियुक्ति लिएकाहरूले स्वेच्छिक रूपमा राजीनामा दिँदै विधिको पालना गर्नमा सहयोग गरिदिनुहुन म अपिल गर्न चाहन्छु। सरकार नयाँ नीति, कानुन, मापदण्ड र मान्यताका आधारमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया लागू गर्न चाहन्छ । हिजो नियुक्ति लिएका सार्वजनिक सेवा र निकायका पदाधिकारीहरूले स्वेच्छाले मार्ग प्रशस्त गरिदिनुहुनेछ भन्ने अपेक्षा पनि गर्दछु ।
सभामुख महोदय, छिमेकी राष्ट्रहरू र मित्रराष्ट्रसँगका सम्बन्धलाई सडकमा लैजाने र सत्ता छाड्न परेपछि विदेशी चलखेल भन्ने गैरजिम्मेवार र सस्तो खेल अब हुने छैन । प्रतिपक्षलाई समेत साथमा लिएर हामी मैत्रीपूर्ण, सहकार्यपूर्ण र पारदर्शी परराष्ट्र नीति तय गर्नेछौं । त्यो रणनीतिक र दीर्घकालीन सोचमा आधारित व्यापार, लगानी, शिक्षा, पर्यटन र प्रविधिमैत्री हुनेछ । त्यसले पहिला राष्ट्रहित र त्योसँगै अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास र स्थायित्व सुनिश्चित गर्नेछ । स्वदेशी र विदेशी लगानीकर्तालाई यही रोस्टमबाट मेरो अपिल छ, अब नेपाल लगानीका लागि पूर्ण सुरक्षित छ, किनकि राजनीतिक स्थिरता, कानुनी सुरक्षा र पारदर्शी प्रशासनको हामी ग्यारेन्टी गर्छौं ।
प्राकृतिक स्रोत र युवा जनशक्तिको यो देशमा अभाव छैन । म गैरआवासीय नेपाली दाजुभाइ-दिदीबहिनीहरूलाई अपिल गर्छु, नेपालमा केही गरौं। तपाईं नेपालको आर्थिक विकासमा जोडिनुहोस् । हामी एक पटकको नेपाली, सधैँको नेपालीुको बाचा पूरा गरेरै छाेड्नेछौं। नेपालको विकाससँग तपाईंको पुँजी, सीप, अनुशासन र आत्मविश्वासलाई जोड्न जे गर्नुपर्छ, हामी त्यही गर्छौं, जसरी पनि गर्छौं । तपाईंहरूको लगानी सुनिश्चित बनाउनेछौँ, तपाईंहरूको सम्मान सुनिश्चित गर्नेछौं ।
देशभित्र म निजी क्षेत्रलाई पूर्ण आश्वस्त पार्न चाहन्छु, बिचौलिया र माफियाहरूले बिगारेको व्यावसायिक वातावरण हामीले सुधार गर्न सुरु गरिसकेका छौं। नीतिहरू अब बजारमा बेचिने छैनन् । निर्णयहरू कसैको दबाबमा बन्ने छैनन् । व्यावसायिक क्षेत्रमा तपाईंहरूले अनुभव गरेको असुरक्षा, अनिश्चितता र दबाब सधैँका लागि समाप्त हुनेछ । बिचौलिया र माफियागिरी अब रहने छैनन् । समान अवसर, पारदर्शिता, निष्पक्षता र व्यावसायिक स्वतन्त्रताको जिम्मा हामी लिन्छौँ, सरकारले लिन्छ ।
म एउटा प्रसंग यहाँ प्रस्तुत गर्न चाहन्छु सभामुख महोदय । मेरा मित्र माननीय खगेन्द्र सुनुवार निर्वाचित भएर यहाँ आउनुभएको छ । चुनावी दौडका सिलसिलामा उहाँका विषयमा विवाद आउँदा, थाहा छैन उहाँले गल्ती गर्नुभयो-गर्नुभएन, तर उहाँले माफी माग्नुभयो, यति छिटै माफी माग्नुभयो । भन्नुभयो, मबाट त्यस्तो गल्ती भएजस्तो मलाई लाग्दैन, तर गल्ती भएको रहेछ भनेर म माफी माग्छु। म आज यो सिंगो सदनबाट सिंगो देशलाई भन्न चाहन्छु, गल्ती गरेको हो कि होइन भन्दा अन्योल हुँदा खगेन्द्र सुनुवारले माफी मागे, खगेन्द्र सुनुवारहरूमाथि युगौँयुगसम्म गरिएको अन्यायका लागि हामीले माफी माग्यौँ?
यो देशको दलित समुदायलाई मैले आज सार्वजनिक क्षमायाचनाका साथ केही भन्नु छ । यो सरकार शताब्दीऔँदेखिको विभेदको, अन्यायको, अत्याचारको इतिहाससँग पहिलो पटक सामूहिक र सार्वजनिक माफी माग्दै छ, त्यो पनि यो सदनबाट । आजसम्मको विभेद सामाजिक गल्ती थिएन, सङ्गठित अपराध थियो । यो देश किन बनेन थाहा छरु किनकि जसका हातमा सीप थियो, तिनलाई हामीले अछुत मान्यौँ। अब कुनै पनि नेपाली जातका नाममा झुक्नुपर्ने छैन । म सिंगो पार्टी, सम्माननीय प्रधानमन्त्री ज्यू र सरकारको तर्फबाट पनि माफी माग्छौँ र यो माफीको मूल्य अब न्यायले तिर्नेछ भन्ने कुरा पनि सुनिश्चित गर्न चाहन्छु ।
यो रोस्टमबाट मैले आमा र दिदीबहिनीहरूलाई पनि केही भन्नु छ । यो देशमा तपाईंहरूले सबैभन्दा धेरै जिम्मेवारी बोकेर पनि सबैभन्दा कम अवसर पाउनुभयो । घर सम्हाल्नुभयो, परिवार बचाउनुभयो, समाज चलाउनुभयो, तर त्यसलाई काम मानिएन । महिलालाई अवसर अब अनुग्रह होइन, अधिकार हुनेछ ।
हामी सुनिश्चित गर्नेछौं- शिक्षा र रोजगारीमा बराबर पहुँच, राज्यका हरेक तहमा अर्थपूर्ण प्रतिनिधित्व, कर्मस्थल र समाजमा सुरक्षा र सम्मान, अनि महिला विरुद्धका हिंसामा शून्य सहनशीलता । कुनै छोरीले अब आफ्नो सपना सानो बनाउनुपर्ने छैन। अबको यात्रा केवल समानताको होइन, सशक्तीकरणको हुनेछ । सँगसँगै ज्येष्ठ नागरिकहरूको आर्थिक सुरक्षा, सामाजिक कल्याण र आत्मसम्मान पनि हाम्रो कर्तव्य हुनेछ ।
आजको संसद्को जनादेशका वास्तविक रचयिता हुनुहुन्छ, वैदेशिक रोजगारमा रहेका नेपाली दाजुभाइ-दिदीबहिनीहरू । यो देशमा आजसम्म सधैँ तपाईंहरूले पठाएको रेमिट्यान्सको कुरा भयो, तर आज म पैसाको होइन, तपाईंहरूले तिर्नुभएको व्यक्तिगत मूल्यको कुरा गर्छु । परिवारबाट अलग्गिनुभयो, आमाबुबाको साथ गुमाउनुभयो, कलिला छोराछोरीको बाल्यकाल गुमाउनुभयो, चाडपर्वको रमाइलो, परिवारको माया, आफ्नो गाउँघरको न्यानोपन गुमाउनुभयो । कतिले आमाबुबाको मृत्युमा काँध थाप्न पाउनुभएन, कतिले सन्तानको पहिलो पाइला देख्न पाउनुभएन ।
आज म यहीँबाट क्षमायाचनाका साथ स्वीकार गर्छु, यो देशले तपाईंहरूको त्यागको उचित सम्मान गरेन । अब तपाईंहरूको पीडा केवल कथा बन्ने छैन, नीति बन्नेछ, राज्यको प्राथमिकता बन्नेछ । बिचौलिया र श्रम माफिया अब कारबाहीका भागेदार हुनेछन् । अबको नीति तथा कार्यक्रम र बजेट तपाईंहरूको हुनेछ । खाडी क्षेत्रमा अब जाने हाम्रा राजदूतहरू बिचौलियासँगको डिनर टेबलमा होइन, श्रमिकका शिविरहरूमा भेटिनेछन् ।
मैले युवा साथीहरूलाई विशेष अपिल गर्नु छ । यो परिवर्तन पनि तपाईंहरूको हो, यो सरकार पनि तपाईंहरूको हो, यो संसद् पनि तपाईंहरूको हो । संघर्ष, तपाईंहरूको आवाज र तपाईंहरूको विश्वासको परिणाम हो यो संसद् । तपाईंहरूलाई दक्ष र आत्मनिर्भर बनाउन, रोजगारी र उद्यमशीलतासँग जोड्न, नवप्रवर्तन र नेतृत्वका अवसरहरू पैदा गर्न सरकार प्रतिबद्ध छ ।
माननीय सांसद ज्यूहरू, जुनसुकै पार्टीबाट चुनिएर आए पनि हामी जनतालाई प्रतिनिधित्व गर्दछौं । त्यसैले अब हाम्रो लक्ष्य एउटै हुनुपर्छ-देशको समृद्धि, जनताको जीवनमा सुधार र न्यायपूर्ण समाजको निर्माण । मलाई विश्वास छ, यो सहकार्य, उत्तरदायित्व र परिवर्तनको प्रतीक हुनेछ ।
(बिहीबार प्रतिनिधिसभामा रास्वपा सभापति रवि लामिछानेले गरेको सम्बोधन)








प्रतिक्रिया