
एजेन्सी । इरानी सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार, इरानी सेनाले बिहीबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको हालैको अभिव्यक्तिको कडा खण्डन गर्दै जारी द्वन्द्व जारी रहने चेतावनी दिएको छ ।
वाशिङटनले स्थायी अपमान, लज्जा, पश्चात्ताप र आत्मसमर्पणको सामना नगरुन्जेलसम्म युद्ध जारी रहने इरानको भनाइ छ ।
इरानी सेना र इस्लामिक रिभोलुसनरी गाड्र्स कोर्प्स (आईआरजीसी) बीच समन्वय गर्ने इरानको सर्वोच्च परिचालन कमान्ड खातम अल–अम्बिया केन्द्रीय मुख्यालयका प्रवक्ताले इरानको सैन्य पूर्वाधार र क्षमतामा क्षति पुर्याएको अमेरिकी दाबीलाई खारेज गरेका छन् । इरानको सैन्य शक्तिका बारेमा अमेरिकी गुप्तचर जानकारी अपूर्ण रहेको विज्ञप्तिमा भनिएको छ ।
‘हाम्रो सैन्य शक्ति र उपकरणहरूका बारेमा तपाईंको गुप्तचर जानकारी अपूर्ण छ । हाम्रा विशाल रणनीतिक क्षमताहरूबारे तपाईंलाई केही थाहा छैन । हाम्रा रणनीतिक मिसाइल उत्पादन स्थलहरू, लामो दूरीका र सटीक प्रहार गर्ने ड्रोनहरू, आधुनिक हवाई रक्षा प्रणाली, इलेक्ट्रोनिक युद्ध वा विशेष उपकरणहरू नष्ट गरेको अनुमान नगर्नुहोस् । यस्ता अनुमानहरूले तपाईं फसिरहनुभएको दलदललाई अझ गहिरो बनाउनेछ,’ प्रेस टिभीका अनुसार प्रवक्ताले भने ।
विज्ञप्तिमा अमेरिकालाई आक्रमण सुरु गरेको आरोप लगाउँदै निरन्तर प्रतिशोध लिने वाचा गरिएको छ । प्रवक्ताले थपे, ‘हाम्रो सम्मानित, प्रिय, मुस्लिम राष्ट्र विरुद्ध तपाईंले सुरु गरेको आक्रमणको मूल्य तपाईंले चुकाउनुपर्नेछ । यो युद्ध तपाईंले स्थायी अपमान, पश्चात्ताप र आत्मसमर्पणको सामना नगरेसम्म जारी रहनेछ । तपाईंले पहिले नै पाउनुभएका गम्भीर प्रहारहरूको निरन्तरतामा हामीबाट अझ कडा र विनाशकारी आक्रमणहरूको अपेक्षा गर्नुहोस् ।’








प्रतिक्रिया