पोखरा पानारोमा रिसोर्टको निर्माण अन्तिम चरणमा, लागत कति ?

147
Shares

काठमाडौं । पोखरा पानारोमा रिसोर्ट एन्ड स्पाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

पर्यटकीय नगरी पोखराको मेथालाङ हिल, साराङकोटमा निर्माण भइरहेको रिसोर्टको काम अन्तिम चरणमा पुगेको हो ।

सन् २००९ मा ‘ले ग्ल्यामर लक्जरी रिसोर्ट एन्ड वेल्नेस’ नाममा दर्ता भएको कम्पनीले हाल उक्त परियोजनालाई ‘पानारोमा’ मा परिणत गरी सफ्ट ओपनिङसहित सञ्चालनमा ल्याएको छ ।

कम्पनीले साराङकोटमा १ लाख ३१ हजार ३ सय ५१ स्क्वार फिट क्षेत्रफलमा लक्जिरियस रिसोर्ट निर्माण गरिरहेको हो । उक्त रिसोर्टमा २८ वटा सुइट रुम र ४ वटा भिल्ला रहने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार रिसोर्ट २ अर्ब १६ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको छ । परियोजनाका लागि ५४:४६ को लागत अनुपात राखिएको छ । जसअनुसार कम्पनीले १ अर्ब १६ करोड ५० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर लगानी गर्नेछ भने १ अर्ब रुपैयाँ इक्विटीबाट लगानी गर्नेछ ।

हालसम्म बैंकबाट १ अर्ब १४ करोड २० लाख रुपैयाँ र इक्विटीबाट ५० करोड रुपैयाँको व्यवस्थापन भइसकेको छ । कम्पनीका अनुसार परियोजनामा ९४ प्रतिशत आर्थिक प्रगति भएको छ ।

कम्पनीले सुरुआतमा सन् २०२५ को अन्त्यसम्म व्यवसायिक सञ्चालन सुरु गर्ने योजना बनाएको थियो । तर, निर्माण कार्य ढिला हुँदा व्यवसायिक सञ्चालनमा असर परेको कम्पनीले जनाएको छ ।

रिसोर्टबाट ३६० डिग्री सनराइज भ्यू, हिमाल, फेवा ताल, पोखरा बजार, सनसेट तथा नाइट सिटी भ्यू अवलोकन गर्न सकिनेछ ।

कैलाश ग्रुप अफ कम्पनीजद्वारा सञ्चालित उक्त कम्पनीका प्रबन्ध निर्देशक टाशी गुरुङ रहेका छन् ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १४ करोड ६९ लाख रुपैयाँको रेटिङ गराएको छ । जसअन्तर्गत दीर्घकालीन कर्जाका लागि १ अर्ब १४ करोड १९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५० लाख रुपैयाँको रेटिङ गराइएको हो ।