उत्तर कोरियाले अमेरिकासम्म पुग्ने हतियार स्तरोन्नति गर्दै

140
Shares

एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले स्तरोन्नति गरिएको रकेट इन्जिनको जमिनमा गरिएको परीक्षणको निरीक्षण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले आइतबार जनाएको छ ।

यो उत्तरको हतियार कार्यक्रमको अर्को महत्त्वपूर्ण कदम हो ।

रक्षा विज्ञहरू उत्तर कोरियाले अमेरिकाको मुख्यभूमिसम्म पुग्ने अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रक्षेपणका लागि आफ्नो ठोस–इन्धनयुक्त रकेट इन्जिनहरू प्रयोग गर्ने योजना बनाइरहेको विश्वास गर्छन् ।

यी इन्जिनहरूले मिसाइल प्रक्षेपणलाई छिटो बनाउँछन् किनभने यिनलाई प्रज्वलन अघि निकै कम तयारीको आवश्यकता पर्छ ।
प्योङयाङको आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सीले परीक्षणको मिति वा स्थानबारे विस्तृत जानकारी नदिई यो पछिल्लो परीक्षण नयाँ पञ्चवर्षीय योजनाको अवधिमा राष्ट्रिय रक्षा विकास योजनाको हिस्सा भएको बताएको छ ।

गत वर्षको सेप्टेम्बर यता आधिकारिक रूपमा पुष्टि गरिएको यो पहिलो उच्च–थ्रस्ट ठोस–इन्धन इन्जिन परीक्षण हो । त्यतिबेला सरकारी सञ्चारमाध्यमले एउटा इन्जिनले १९ सय ७१ किलोन्युटनको अधिकतम थ्रस्ट उत्पन्न गरेको बताएको थियो ।

केसीएनएका अनुसार, हालैको परीक्षणले २५ सय किलोन्युटनको उच्च थ्रस्ट प्राप्त गरेको छ ।

कोरिया इन्स्टिच्युट फर नेशनल युनिफिकेसनका विश्लेषक हङ मिनले एएफपीलाई बताए अनुसार, यस विकासले उत्तर कोरियाको विश्वभरका लक्ष्यहरूमा प्रहार गर्न सक्षम मिसाइलहरू प्राप्त गर्ने संकल्प प्रदर्शन गर्छ ।

उनले थपे, ‘बढेको अधिकतम थ्रस्टलाई हेर्दा यसले विश्वव्यापी मारक क्षमता भएका आईसीबीएमहरूका साथै मिसाइल रक्षा प्रणालीहरूलाई विफल पार्ने क्षमता राख्ने उसको मनसायलाई संकेत गर्छ ।’

केसीएनएद्वारा सार्वजनिक गरिएका तस्बिरहरूमा नेता किम जोङ उनले इन्जिनको एक भाग जस्तो देखिने वस्तुको निरीक्षण गरिरहेको र उनको वरिपरि अधिकारीहरू रहेको देखाइएको छ ।

अर्को एउटा तस्बिरमा जमिनमा जडान गरिएको इन्जिनबाट आगोको ज्वाला निस्किएको देखिन्छ जसले वरपरको परीक्षण स्थललाई सुन्तला रंगको प्रकाशले उज्यालो बनाएको छ ।

किमले आफ्नो रणनीतिक सेना निर्माणमा उत्तर कोरियाको रक्षा क्षमता परिवर्तनको महत्त्वपूर्ण चरणमा प्रवेश गरेको बताए ।

कोरिया इन्स्टिच्युट फर डिफेन्स एनालिसिसकी ली हो–रयुङले उत्तर कोरियाले कम थ्रस्टको इन्जिनबाटै अमेरिकी मुख्य भूमिसम्म पुग्न सक्ने मिसाइल प्रक्षेपणका लागि आवश्यक इन्जिन प्रविधिमा निपुणता हासिल गरिसकेको प्रदर्शन गरिसकेको बताएकी छन् ।

‘उनीहरूले त्यो विन्दु पार गरिसकेका छन्,’ उनले भनिन् ।

अबको प्रश्न मिसाइल अमेरिका पुग्न सक्छ कि सक्दैन भन्ने होइन । बरु यसले धेरैवटा वारहेडहरू बोक्न सक्छ कि सक्दैन भन्ने हो, उनले भनिन् ।

बहु–वारहेड मिसाइलले एकैपटकको प्रक्षेपणबाट धेरै लक्ष्यहरूमा प्रहार गर्न सक्छ र एकैसाथ छरिएर आउने रि–एन्ट्री भेहिकल मार्फत रक्षा प्रणालीलाई विफल पार्न सक्छ ।

‘धेरै वारहेड भएको मिसाइल बढी गह्रौं हुने भएकाले यसलाई उच्च थ्रस्ट शक्तिको आवश्यकता पर्छ,’ उनले भनिन् ।

‘उत्तर कोरियाले आफू बहु–वारहेड आईसीबीएम प्रक्षेपण गर्न सक्षम रहेको देखाउनका लागि यस्तो प्रविधिमा आफ्नो निपुणता प्रमाणित गर्न परीक्षण प्रक्षेपण गर्न आवश्यक छ ।’ प्योङयाङले अन्तिम पटक अक्टोबर २०२४ मा आईसीबीएमको परीक्षण प्रहार गरेको थियो ।

अर्को एउटा केसूएनए रिपोर्टका अनुसार, किमले विशेष बल तालिम केन्द्रको पनि भ्रमण गरे जहाँ सैनिकहरूले बञ्चरो र घन लगायतका हतियारहरू चलाइरहेको अभ्यासको उनले निरीक्षण गरेका थिए ।

यो प्रदर्शनले फलामे मुड्की भएका सयौं योद्धासँग मुकाबिला गर्न तयार पारिएको उनीहरूको शारीरिक र प्राविधिक क्षमता देखाएको केसीएनएले भन्यो ।