
एजेन्सी । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले आइतबार कडा चेतावनी जारी गर्दै इरानी शैक्षिक संस्थाहरू र सम्पदा पूर्वाधारहरूमा अमेरिकी र इजरायली आक्रमणको बदलामा पश्चिमी एसियाली क्षेत्रमा रहेका अमेरिकी र इजरायली विश्वविद्यालयहरूलाई वैधानिक लक्ष्य मान्न सकिने बताएको छ ।
इरानी सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) ले टेलिग्राममा सार्वजनिक गरेको एक विज्ञप्तिमा, आईआरजीसीले तेहरानको युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा भएको बमवर्षा सहित इरानी विश्वविद्यालयहरूमा भएका हालैका आक्रमणहरूको निन्दा गरेको छ र अमेरिकी–इजरायली सेनाहरूलाई इरानी शैक्षिक पूर्वाधारलाई निशाना बनाएको आरोप लगाएको छ ।
आईआरआईबीलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी–जायोनी आक्रमणकारी सेनाहरूले तेहरान युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा बमबारी गरेर पटक–पटक इरानी विश्वविद्यालयहरूलाई निशाना बनाएका छन् ।’
निश्चित शर्तहरू पूरा नभएसम्म पश्चिम एसियामा अमेरिका र इजरायलसँग सम्बद्ध सबै विश्वविद्यालयहरू वैधानिक लक्ष्य हुने चेतावनी विज्ञप्तिमा दिइएको छ ।
आईआरजीसीले यस क्षेत्रका अमेरिकी र इजरायली विश्वविद्यालय क्याम्पसहरू नजिकका कर्मचारी, प्राध्यापक, विद्यार्थी र बासिन्दाहरूलाई आफ्नो सुरक्षाका लागि कम्तीमा एक किलोमिटर टाढा रहन आग्रह गरेको छ ।
साथै, ती संस्थाहरूलाई प्रतिशोधबाट बचाउन चाहने हो भने अमेरिकी सरकारले सोमबार, मार्च ३० को मध्याह्न (तेहरान समय) सम्ममा इरानी विश्वविद्यालयहरूमा भएको बमबारीको आधिकारिक रूपमा निन्दा गर्न माग गरेको छ ।
‘ह्वाइट हाउसका लापरवाह शासकहरूले थाहा पाउनुपर्छ– कब्जा गर्ने शासनका सबै विश्वविद्यालयहरू र पश्चिम एसियाली क्षेत्रमा रहेका अमेरिकी विश्वविद्यालयहरू हाम्रा वैधानिक लक्ष्यहरू हुन् । त्यसैले ध्वस्त भएका इरानी विश्वविद्यालयहरूको बदलामा दुई विश्वविद्यालयहरूको विनाश हुनेछ । हामी यस क्षेत्रका अमेरिकी विश्वविद्यालयका सबै कर्मचारी, प्राध्यापक र विद्यार्थीहरू र तिनीहरूका वरपरका क्षेत्रका बासिन्दाहरूलाई आफ्नो ज्यान जोगाउन उल्लिखित विश्वविद्यालयहरूको एक किलोमिटरको दायराभन्दा बाहिर रहन सल्लाह दिन्छौं,’ विज्ञप्तिमा थपिएको छ ।
यसअघि, इरानको परराष्ट्र मन्त्रालयका आधिकारिक प्रवक्ता इस्माइल बाकाईले एक्समा एक पोस्ट गर्दै यस क्षेत्रमा जारी द्वन्द्वका बीच अमेरिका र इजरायलले आफ्ना शैक्षिक संस्था र वैज्ञानिक पूर्वाधारहरूलाई जानाजानी निशाना बनाएको आरोप लगाएका छन् । उनले इरान विरुद्धको अमेरिकी–इजरायली सैन्य अभियानले विश्वविद्यालय, अनुसन्धान केन्द्र, ऐतिहासिक स्मारक र प्रमुख वैज्ञानिकहरूलाई व्यवस्थित रूपमा प्रहार गरेर आफ्नो वास्तविक उद्देश्य प्रकट गरेको दाबी गरे ।
बाकाईले यी आक्रमणहरूलाई हाम्रो देशको वैज्ञानिक जग र सांस्कृतिक सम्पदालाई अपांग बनाउने प्रयासका रूपमा वर्णन गरेका छन् ।
उनले विशेषगरी इरानको उच्च शिक्षा र अनुसन्धानको केन्द्र मानिने इसफहान युनिभर्सिटी अफ टेक्नोलोजी र तेहरानको युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीलाई विगत ३० दिनको द्वन्द्वका क्रममा निशाना बनाइएको उल्लेख गरे । साथै, उनले इरानको आणविक कार्यक्रमलाई रोक्न र आसन्न खतरालाई सम्बोधन गर्ने अमेरिका र इजरायलको दाबीलाई दुष्ट बहाना भन्दै खारेज गरे जुन तेहरानको बुझाइमा बौद्धिक र सांस्कृतिक संस्थाहरूलाई कमजोर पार्ने व्यापक रणनीतिको हिस्सा हो ।
‘इसफहान युनिभर्सिटी अफ टेक्नोलोजी र तेहरानको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी विगत ३० दिनदेखि इरानी राष्ट्र विरुद्धको अवैध युद्धका क्रममा आक्रमणकारीहरूले जानाजानी प्रहार गरेका धेरै विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूमध्ये दुई मात्र हुन् । वास्तवमा, इरानविरुद्धको अमेरिकी–इजरायली आक्रामकताले आफ्नो वास्तविक उद्देश्य प्रकट गरिरहेको छः विश्वविद्यालय, अनुसन्धान केन्द्र, ऐतिहासिक स्मारक र प्रमुख वैज्ञानिकहरूलाई व्यवस्थित रूपमा निशाना बनाएर हाम्रो देशको वैज्ञानिक आधार र सांस्कृतिक सम्पदालाई अपांग बनाउनु । इरानको आणविक कार्यक्रम र आसन्न खतराको मुकाबिला गर्नु त दुष्ट बहाना मात्र थिए, जुन उनीहरूको वास्तविक नियत लुकाउन बुनिएका बनावटी कुराहरू हुन्,’ पोस्टमा लेखिएको छ ।








प्रतिक्रिया