मध्यपूर्व युद्धमा यमनको प्रवेश, इजरायलमाथि प्रहार गर्यो मिसाइल

966
Shares

काठमाडौं । मध्यपूर्व द्वन्द्वमा यमन पनि सहभागी भएको छ।

इजरायल रक्षा बल (आईडीएफ) ले शनिबार यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र रोकेको बताएको छ।

रोयटर्सका अनुसार, इरानसँग अमेरिका(इजरायल युद्ध सुरु भएयता यमनबाट पहिलोपटक आक्रमण भएको हो।

आईडीएफले सामाजिक सञ्जालमा लेखेको छ, ‘यमनबाट इजरायलतर्फ प्रहार गरिएको क्षेप्यास्त्रलाई रोकिएको छ। आईडीएफको वायु रक्षा प्रणालीले खतरा रोक्न काम गरिरहेको छ।’

यमनमा हुथी गुटका प्रवक्ता याह्या सारीले विज्ञप्ति जारी गरी आक्रमणको जिम्मेवारी लिएका छन्।

उनले भनेका छन्, ‘यदि कुनै देश अमेरिका र इजरायलसँग मिलेर इरानविरुद्ध लाग्छ भने हाम्रा ट्रिगरमा छन् र सिधै सैन्य हस्तक्षेप गर्नेछौँ।’

‘यदि लाल सागर प्रयोग गरेर अमेरिका र इजरायलले इरान वा कुनै मुस्लिम देशविरुद्ध आक्रमण गर्छन् भने हामी हस्तक्षेप गर्नेछौँ।’

यसअघि इरानले साउदी अरेबियाको राजकुमार सुल्तान एयर बेसमा आक्रमण गरेको थियो, जसमा धेरै अमेरिकी सैनिक घाइते भएका छन्।

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता मध्यपूर्वमा द्वन्द्व फैलिएको हो।

यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्।

अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।