
विराटनगर । कोशी प्रदेशका मोरङ, सुनसरी र झापामा कुखुरामा लाग्ने घातक बर्डफ्लु संक्रमण फैलिँदा कुखुरापालक व्यवसायी ठुलो नोक्सानी भोग्न बाध्य भएका छन् । मङ्गलबारसम्ममा यी तीन जिल्लाका विभिन्न १२ कुखुरा फार्ममा बर्डफ्लु संक्रमित ६० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ ।
प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी बर्डफ्लु संक्रमण फोकल पर्सन डा. दीपा दिवालीका अनुसार मोरङको विराटनगर, सुन्दरहरैंचा, उर्लाबारी र कटहरी, सुनसरीको इटहरी र गढी तथा झापाको दमकसहित आसपासको क्षेत्रमा बर्डफ्लु संक्रमण फैलिएको छ ।
त्यस क्षेत्रमा हालसम्म ६० हजारभन्दा बढी कुखुरा र ५० हजारभन्दा बढी अण्डा नष्ट गरिएको छ । दिवालीले भनिन्, ‘दिनहुँ संक्रमित कुखुरा र अण्डा नष्ट गरेर संक्रमण नियन्त्रणको प्रयास भइरहेको छ ।’ उनका अनुसार क्षतिको वास्तविक विवरण आइसकेको छैन ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख अजयकुमार साहका अनुसार विराटनगर महानगरपालिका–४ स्थित दाहाल कृषि फार्ममा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमित पोल्ट्री फार्मको संख्या पाँच पुगेको छ । यसअघि सुन्दरहरैँचा–४ को हलेसी महादेव कृषि फार्म, उर्लाबारी–८ को अठियाबारी कृषि फार्म, कटहरी–२ को ए टु जेठ (ई टु जेड) पोल्ट्री फार्म र कटहरी–६ को कामाख्या पोल्ट्री फार्ममा संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएसँगै प्रभावित क्षेत्रमा नियन्त्रण अभियान सञ्चालन गरिएको छ । त्यसक्रममा संक्रमित फार्मका सबै कुखुरा, अण्डा, दाना र अन्य सामग्री नष्ट गर्ने काम भइरहेको छ ।
यसबेला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सबै चिकित्सक र प्राविधिक संक्रमण नियन्त्रणमा खटिएका छन् । दिवालीले भनिन्, ‘संक्रमित कुखुरा, अण्डा र दाना नष्ट गर्ने र संक्रमण फैलिन नदिन स्प्रे गर्ने अभियान तीव्र रूपमा गरिए पनि संक्रमण नियन्त्रण नहुँदा थप जोखिम बढेको छ ।’
मोरङ, सुनसरी र झापामा संक्रमण पुष्टि भएका १२ वटै फार्ममा संक्रमित कुखुरा, अण्डा र दाना नष्ट गर्ने पहिलो चरणको काम सकिएको छ । सरकारी टोलीले संक्रमित क्षेत्रमा मरेका पन्छी तथा तिनका मलमूत्र सुरक्षित रूपमा व्यवस्थापन गर्न विशेष सावधानी अपनाएको छ । ती सामग्रीलाई खाल्डो खनेर गाड्ने र औषधि स्प्रे गरी संक्रमण नियन्त्रणको प्रयास गर्दा संक्रमण अन्य क्षेत्रमा फैलिन नदिन सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्राविधिक टोलीले बर्डफ्लु अत्यन्तै संक्रामक रोग भएकाले जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएका छन् । हाल नियन्त्रणका प्रयास जारी रहे पनि जोखिम पूर्ण रूपमा हटिनसकेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।








प्रतिक्रिया