मौसम अपडेट: आज रातिदेखि भोलिसम्म यी ४ प्रदेशमा हावाहुरीको सम्भावना

560
Shares

काठमाडौं । देशका विभिन्न भागमा आज राती र भोलिसम्म तीव्र गतिको हावाहुरी चल्ने सम्भावना देखिएकाले जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

अपराह्न साढे ४ बजे सूचना जारी गर्दै महाशाखाले मधेश प्रदेशसहित कोशी, बाग्मती र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागमा हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । मौसममा आएको यो परिवर्तनका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै महाशाखाले सचेत गराएको हो ।

महाशाखाले जारी गरेको बुलेटिन अनुसार हावाहुरीका कारण कमजोर रुखहरू ढल्न सक्ने र पुराना वा कमजोर संरचनाका छानाहरू उड्न सक्ने, विद्युत आपूर्ति र सञ्चार सेवामा अवरोध पुग्न सक्ने,हवाई उडान र सडक यातायात समेत प्रभावित हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

हावाहुरीबाट हुन सक्ने सम्भावित क्षतिबाट बच्नका लागि आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

हावाहुरी चल्दा घरभित्रै बस्न, असुरक्षित रुख वा संरचनाको फेदमा नबस्न र यात्रा गर्दा विशेष ध्यान दिन सुझाव दिइएको छ।

मौसम पूर्वानुमान महाशाखाले यो मौसमी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको जानकारी दिएको छ । मौसममा आउने फेरबदल अनुसार सूचनाहरू अद्यावधिक गरिने भएकाले सबैलाई नियमित रूपमा आधिकारिक मौसम सूचनाको जानकारी लिन समेत अनुरोध गरिएको छ।

Skip This