नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा उपलब्ध

112
Shares

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२ देशमा प्रयोग गर्न सकिने भएको छ । यसका लागि ती देशका ८९ सेवा प्रदायकसँग नेपाल टेलिकमले सम्झौता गरेको छ ।

चालु आर्थिक वर्षको साउन महिना पश्चात लाटभिया, स्लोभेनिया, टर्की, ताइवान-आरओसी, घाना, रोमानिया र लाओसका विभिन्न सेवाप्रदायकसँग र पाकिस्तान, बेलारुस र श्रीलंकाका थप सेवाप्रदायकसँग यसका लागि सम्झौता भएको छ ।

नेपाल टेलिकमले पहिले देखि नै अन्य विभिन्न देशहरुमा यो सुविधा उपलब्ध गराइरहेको छ । अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, बेलारुस, बुल्गेरिया, क्यानडा, चीन, क्रोएसिया, साइप्रस, डेनमार्क, इजिप्ट, जर्मनी, घाना, ग्रीस, हङकङ, हंगेरी, आइसल्याण्ड, भारत, इन्डोनेसिया, आयरल्याण्ड, इजरायल, इटाली, जापान, कजाकस्तान, कुवेत, लाटभिया, लिच्चेन्सटाइन र लक्जेम्वर्गमा रोमिङ सेवा प्रयोग गर्न सकिन्छ ।

मलेसिया, मकाउ, माल्टा, मौरिसस, मेक्सिको, म्यानमार, नेदरल्याण्ड, न्युजिल्याण्ड, नर्वे, ओमान, पाकिस्तान, फिलिपिन्स, पोर्चुगल, कतार, रोमानिया, रसिया, साउदी अरेबिया, सिंगापुर, स्लोभेनिया, दक्षिण कोरिया, श्रीलंका, स्वीडेन, स्विजरल्याण्ड, ताइवान-आरओसी, थाइल्याण्ड, टर्की, युएई, युके, युएसए, उज्वेकिस्तान, भियतनाम र लाओसमा समेत रोमिङ सेवा प्रयोग गर्न सकिन्छ ।

रोमिङ सेवा अन्तर्गत भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिन्छ । आगामी दिनमा क्रमशः अन्य देशहरुमा समेत यो सेवा उपलब्ध हुनेछ ।

नेपाल टेलिकमले विदेशमा जाने वा बस्ने नेपालीहरुलाई लक्षित गरी उपलब्ध गराएका विभिन्न सेवा मध्ये रोमिङ सेवा निकै नै उपयोगी छ ।

प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि नेपाल टेलिकमले भारत बाहेक माथि उल्लेखित अन्य देशमा रोमिङ सेवा स्वतः सुचारु हुने सुविधा उपलब्ध गराएको छ । भारतका लागि चाहिँ आफ्नो मोबाइलबाट *1415*7# डायल गरी मेनुमा गएर रोमिङ विकल्प छान्नुपर्ने हुन्छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताको हकमा सेवा सुचारु गर्न मोबाइलमा कम्तिमा पाँच हजार रुपैयाँ ब्यालेन्स रहेको हुनुपर्छ । प्रयोगकर्ता नेपालमा भएको अवस्थामा आफ्नो मोबाइलबाट *1415*7# डायल गरी सेवा सुचारु गर्न सकिन्छ ।

नेपालमा भएको समयमा रोमिङ सेवा एक्टिभ नगरी विदेश गएमा त्यहीबाट पनि यो सेवा एक्टिभ गर्नको लागि इमेल मार्फत अनुरोध गर्न सकिन्छ । यसका लागि सबैभन्दा पहिले नेपाल टेलिकमको वेबसाइटमा गएर रीतपूर्वक फारम भरिसकेपछि आफ्नो नागरिकता वा पासपोर्टको प्रतिलिपि र भरिएको फारमलाई इमेल गर्नुपर्छ ।

इमेल मार्फत प्राप्त भएको सेवा एक्टिभेसन अनुरोधलाई नेपाल टेलिकमको रोमिङ सपोर्ट टिमले प्रमाणिकरण गरी नियमपूर्वक अनुरोध प्राप्त प्रिपेड मोबाइलमा रोमिङ सेवा उपलब्ध गराइन्छ ।

Skip This