
काठमाडौं । इन्धनको मूल्यवृद्धिपछि सार्वजनिक यातायात सञ्चालनमा प्रत्यक्ष असर परेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ।
महासंघले सोमबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको आपूर्तिमा असहजता भएको जनाउँदै हालै पेट्रोलियम पदार्थको मूल्य बढाएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पेट्रोलियम पदार्थ सार्वजनिक यातायात सञ्चालनको मुख्य आधार भएकाले एकैपटक भएको मूल्यवृद्धिले यातायात व्यवसायी र उपभोक्ता दुवैमा प्रत्यक्ष प्रभाव परेको महासंघले उल्लेख गरेको छ।
महासंघका अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक यातायात सञ्चालनको लागत पनि उल्लेख्य रूपमा बढेको छ। नेपाल आयल निगमले गत चैत २ गतेदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको जनाएको छ।
सार्वजनिक यातायातको भाडा वैज्ञानिक आधारमा समायोजन गर्ने प्रावधान भए पनि लामो समयदेखि भाडा समायोजन नभएको महासंघले जनाएको छ । यातायात व्यवस्था विभागले संघीय स्तरमा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा स्वचालित प्रणालीमार्फत भाडा समायोजन गर्ने व्यवस्था भए पनि विगत केही समयदेखि त्यसअनुसार भाडा समायोजन नभएको महासंघको गुनासो छ।
महासंघका अनुसार सार्वजनिक सवारी साधनको भाडा निर्धारण गर्दा १३ वटा सूचकलाई आधार मान्ने व्यवस्था छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै ती सूचकहरूमा पनि असर परेको भन्दै वैज्ञानिक विधिअनुसार तत्काल भाडा समायोजन गर्नुपर्ने माग गरिएको छ।

महासंघले संघीय स्तरको भाडा समायोजन यातायात व्यवस्था विभागमार्फत र प्रदेशअन्तर्गत सञ्चालन हुने सवारी साधनको भाडा सम्बन्धित प्रदेश मन्त्रालयमार्फत यथाशीघ्र समायोजन गर्न सरकारसँग आग्रह गरेको छ।
महासंघका महासचिव डेकनाथ गौतमले हस्ताक्षर गरेको विज्ञप्तिमा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन सुधार गर्न र बजारलाई स्थिर बनाउन सरकारसँग आवश्यक कदम चाल्न पनि माग गरिएको छ।
यदि इन्धन मूल्यवृद्धिअनुसार भाडा समायोजन नगरे सार्वजनिक यातायात सञ्चालनमा थप समस्या आउन सक्ने महासंघले चेतावनी दिएको छ।







प्रतिक्रिया