पर्यटन क्षेत्रका १७ कम्पनीको आईपीओ आउँदै, पाँचतारे होटलकै १ करोड १७ लाख कित्ता सेयर जारी हुने


काठमाडौं । नेपालका पर्यटन तथा हवाई क्षेत्रका विभिन्न १७ कम्पनीको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) आउने भएको छ । नेपाल धितोपत्र बोर्डमा आईपीओको लागि आवेदन दिएर पाइपलाइनमा रहेका विभिन्न १७ वटा पर्यटन तथा हवाई उड्डयनका कम्पनी छन् । यी मध्ये तीन वटा पाँचतारे होटलकै १ करोड १७ लाख कित्ता सेयर जारी हुने भएको छ ।

आईपीओको लागि पाँचतारे होटल अकामाले ४२ लाख ८५ हजार कित्ता सेयरको निष्कासन गर्दै छ । यो होटलले ४२ करोड ८५ लाख ८० हजार रुपैयाँको सेयर निष्कासन गर्ने भएको छ ।

वर्णवास म्युजियम होटलले ३९ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्दै छ । यो होटलले ३९ करोड ६० लाख रुपैयाँको सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

पाँचतारे होटल इच्छाले पनि ३५ लाख कित्ता सेयर निष्कासन गर्दै छ । यो होटलले ३५ करोड रुपैयाँ मूल्यको सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति मागेको छ ।

यसबाहेक पर्यटन क्षेत्रमा एपेक्स हस्पिटालिटीले २२ लाख ५० हजार कित्ता, अन्नपूर्ण केवलकारले ४३ लाख ४० हजार कित्ता, ठमेल प्लाजा होटलले २२ लाख ५० हजार कित्ता सेयर निष्कासनको अनुमति मागेको छ ।

माउन्टेन ग्लोरी लिमिटेडले ४० लाख कित्ता, मौलाकालिका केवलकारले १८ लाख ७९ हजार कित्ता, नगरकोट रिसोर्टले १५ लाख कित्ता, होटल सबरिनाले ४७ लाख ४ हजार कित्ता सेयर निष्कासनको अनुमति मागेको छ ।

होलिडे इन एक्सप्रेसले ३८ लाख कित्ता, अतिथि रिसोर्ट एण्ड स्पाले १६ लाख २५ हजार कित्ता, होटल पार्क ल्याण्डले १५ लाख कित्ता सेयरको आईपीओ जारी गर्ने अनुमति मागेको छ ।

उड्डयन क्षेत्रमा भने तीन वटा कम्पनी, श्री एयरलाइन्स, प्रभु हेलिकप्टर र कैलाश हेलिकप्टरले आईपीओ जारी गर्न चाहेका छन् । धितोपत्र बोर्डमा यी कम्पनीले दिएको आवेदन अनुसार श्री एयरलायन्सले २०० रुपैयाँको प्रिमियम मूल्यमा आईपीओ निकाल्न अनुमति मागेको छ ।

कैलाश हेलिकप्टरले ३२७ रुपैयाँको प्रिमियम मूल्यमा ३ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न अनुमति मागेको छ । प्रभु हेलिकप्टरले पनि ६१ लख २५ हजार कित्ता सेयरको आईपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति माग गर्दै आवेदन दिएको छ । आवेदन दिएकाहरुको आईपीओ अनुमति पाइपलाईनमा रहेको धितोपत्र बोर्डले जानकारी दिएको छ ।