
काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि चैत ९ गतेदेखि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले जारी पूँजीको २५ प्रतिशत सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले पहिलो चरणमा आगामी चैत ९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गर्ने भएको हो। कम्पनीले आईपीओ निष्कासन गर्न स्वीकृति पाएको कुल ४२ लाख ९० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको छ।
त्यस्तै, ५ प्रतिशत सेयर सामूहिक लगानी कोष र ४ प्रतिशत सेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता सेयर भने दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो निष्कासन चैत १२ गते बन्द हुनेछ। मागअनुसार आवेदन नपरेमा चैत २३ गतेसम्म लम्बिने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयरएनपी बी’ रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ८.११ वर्ष रहेको छ भने डिस्काउन्ट लगानी फिर्ता हुने अवधि ११.३५ वर्ष रहेको छ। कम्पनीको खुद वर्तमान मूल्य १५ अर्ब ९७ करोड ५९ लाख ३९ हजार २५७ रुपैयाँ रहेको छ भने आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत रहेको छ।







प्रतिक्रिया