उमेदवारी खारेज भएका किशोरी साहको मुद्दा सर्वोच्चको पेशीमा, के आउला आदेश ?

301
Shares

काठमाडौं । कालोसूचीमा परेर उमेदवारी खारेज भएका धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार किशोरी साह कमलको मुद्दा शुक्रबार सर्वोच्च अदालतको पेशीमा चढेको छ ।

उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालत गएका साहको मुद्दा शुक्रबार न्यायाधीश शारङ्गा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ ।

निर्वाचन आयोगले निर्वाचनको दुई दिन अगाडि फागुन १९गते साहको उमेदवारी खारेज गरेको थियो । निर्वाचन आयोगको निर्णय विरुद्ध साह १९ फागुनमै अदालत गएका थिए । उनको मुद्दामा फागुन २५ मा सर्वोच्च अदालतले कारण देखाउ आदेशसहित आज शुक्रबारलाई दुबै पक्षलाई बोलाएको छ ।

आयोगले अदालतको फैसला मान्ने शर्तमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उमेदवार मातृका यादवलाई विजयी गराएको छ । आयोगको निर्णय उल्टिएको अवस्थामा साहले जित्ने छ । साहको उमेदवारी खारेज भएपनि ३० हजार भन्दा बढी मत परेको थियो । उनको मत गणना गरेर निर्वाचन आयोगले सुरक्षित राखेको छ ।