
एजेन्सी । मध्यपूर्वमा जारी द्वन्द्वका कारण निम्तिएको बढ्दो ऊर्जा संकटका बीच बिजुली र इन्धन बचत गर्न चालिएको आपतकालीन कदमस्वरूप बंगलादेशले सोमबारदेखि सबै विश्वविद्यालयहरू बन्द गर्ने भएको छ । यसले गर्दा ईद–उल–फितरको बिदा पनि अगाडि सारिएको छ ।
अधिकारीहरूका अनुसार, यो निर्णय देशभरका सबै सार्वजनिक र निजी विश्वविद्यालयहरूमा लागू हुनेछ । यस कदमले बिजुलीको खपत घटाउने मात्र नभई सवारी जामलाई पनि कम गर्ने र इन्धनको बर्बादी रोक्न मद्दत गर्ने अधिकारीहरूको भनाइ छ ।
विश्वविद्यालयका क्याम्पसहरूमा आवासीय हल, कक्षाकोठा, प्रयोगशाला र वातानुकूलन (एसी) का लागि ठूलो मात्रामा बिजुली खपत हुने भएकाले चाँडै बिदा दिँदा देशको दबाबपूर्ण विद्युत् प्रणालीमा राहत मिल्ने अधिकारीहरूले बताएका छन् ।
बंगलादेशका सरकारी र निजी विद्यालयहरू इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानका लागि पहिले नै बन्द भइसकेका छन् जसको अर्थ अब यस अवधिमा देशभरका अधिकांश शैक्षिक संस्थाहरू बन्द रहनेछन् ।
मध्यपूर्वमा चलिरहेको द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा बजारमा आएको अवरोधपछि इन्धन र ग्यास आपूर्तिको विषयमा बंगलादेशले बढ्दो अनिश्चितताको सामना गरिरहेका बेला यो कदम चालिएको हो ।
आफ्नो ऊर्जा आवश्यकताको ९५ प्रतिशत आयातमा निर्भर रहेको यस देशले सर्वसाधारणमा देखिएको त्रासपूर्ण खरिद र भण्डारण गर्ने प्रवृत्तिपछि शुक्रबारदेखि इन्धन बिक्रीमा दैनिक सीमा तोकेको छ ।
बृहत्तर मितव्ययिता उपायहरूको हिस्सास्वरूप सरकारले विद्युत् खपत कम गर्नका लागि यस अवधिमा सबै विदेशी पाठ्यक्रम पढाउने विद्यालय र निजी कोचिङ सेन्टरहरूलाई पनि सञ्चालन स्थगित गर्न आग्रह गरेको छ ।
ग्यासको चरम अभावका कारण बंगलादेशले आफ्ना पाँच सरकारी मल कारखानामध्ये चारवटाको सञ्चालन रोक्न बाध्य भएको छ र उपलब्ध ग्यासलाई देशव्यापी लोडसेडिङ हुन नदिन विद्युत् उत्पादन केन्द्रहरूतिर मोडिएको छ ।
देशले आपूर्तिमा देखिएको खाडल पुर्नका लागि थप कार्गोहरूको खोजी गरिरहँदा स्पट मार्केटबाट निकै उच्च मूल्यमा एलएनजी पनि खरिद गरेको छ ।
‘हामी खपत घटाउन र विद्युत्, इन्धन तथा आयात आपूर्तिमा स्थिरता सुनिश्चित गर्न सक्दो प्रयास गरिरहेका छौं,’ ऊर्जा मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने ।








प्रतिक्रिया