सम्पूर्ण अपडेट

दुबई युद्धको चपेटामा परेपछि त्यहाँ बस्न हिचकिचाए एसियाका धनाढ्यहरू

798
Shares

एजेन्सी । पछिल्ला वर्षहरूमा क्षेत्रभरिबाट अर्बौं डलर आकर्षित गरेको दुबई शहरलाई इरान युद्धले त्रसित बनाएपछि एसियाका धेरै धनी परिवारहरूले त्यहाँको आफ्नो लगानी र उपस्थितिको बारेमा पुनर्विचार गरिरहेका छन् ।

धेरै परामर्शदाताहरूले ब्लूमबर्ग न्युजलाई बताएअनुसार, उनीहरूलाई ग्राहकहरूबाट बसाइँसराइको योजना स्थगित गर्नका लागि फोनहरू आइरहेका छन् भने अन्यले कुनै समय सुरक्षित र स्थिर मानिने यस क्षेत्रमा आफ्नो लगानी घटाउने उपायहरू खोजिरहेका छन् । दुबईमा पहिले नै रहेकाहरूले अशान्ति बढेको खण्डमा आकस्मिक योजनाहरू बनाइरहेका छन् ।

‘लगानीका अवसर र कर छुटको फाइदाका लागि मध्यपूर्व गएका एसियाली लगानीकर्ताहरू आफ्नो निर्णयमा पुनर्विचार गरिरहेका छन् र सम्भवतः आफ्नो पैसा हङकङ वा सिंगापुर फिर्ता लैजाँदैछन्,’ हङकङस्थित मल्टि–फ्यामिली अफिस एनम क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निक सियाओले भने ।

इरानसँग अमेरिका र इजरायलको युद्ध घरदैलोमै आइपुगेपछि उदाँउदो वित्त र सम्पत्ति केन्द्रको रूपमा दुबईको उदयले अहिले कठिन परीक्षाको सामना गरिरहेको छ । साउदी अरबदेखि बहराइनसम्मका देशहरूमा नयाँ आक्रमण भएपछि दोस्रो हप्तामा लडाइँ झन् तीव्र भएको छ ।

गत साता दुबईस्थित अमेरिकी दूतावास नजिकै भएको ड्रोन आक्रमणले आगलागी निम्त्यायो । यस क्षेत्रका हजारौं उडानहरू रद्द गरिएका छन् यद्यपि एयरलाइन्सहरूले ती पुनः सुरु गर्ने प्रयास गरिरहेका छन् ।

यस शहरको आश्चर्यजनक वृद्धिले विश्वका धनीहरूका साथै धेरै बैंक र वाल स्ट्रिटका पैसा प्रबन्धकहरूलाई आकर्षित गरेको छ । बोस्टन कन्सल्टिङ ग्रुपका अनुसार, अबु धाबीसहितको संयुक्त अरब अमिरात (यूएई) सन् २०२४ मा वित्तीय सम्पत्तिका लागि विश्वको सबैभन्दा छिटो बढ्दो केन्द्रहरूमध्ये एक थियो ।

विदेशी लगानीकर्ताहरूबाट करिब ७०० अर्ब डलर युएईमा जम्मा गरिएको उक्त फर्मको अनुमान छ । दुबईमा मात्रै १२ खर्ब डलरभन्दा बढी नियन्त्रण गर्ने फ्यामिली अफिसहरू रहेका छन् ।

एसियाली सम्पत्ति यस विस्तारको एक महत्त्वपूर्ण कारक बनेको छ । दुबईस्थित सम्पत्ति सल्लाहकार फर्म यू एचक्यूका प्रबन्ध साझेदार यान म्राजेकका अनुसार, युएईमा स्थापना भएका २२ सय ७० भन्दा बढी फाउन्डेसनहरूमध्ये करिब एक चौथाइको स्वामित्व एसियालीहरूको छ ।

दुबई इन्टरनेशनल च्याम्बरको एक विज्ञप्ति अनुसार, सन् २०२५ मा यस संस्थाले आकर्षित गरेका सबै बहुराष्ट्रिय कम्पनीहरूमध्ये ४७ प्रतिशत एसियाका थिए ।

टोकियोस्थित नोमुरा होल्डिङ्स इन्कका साथै सिंगापुरका दुई ठूला ऋणदाताहरू डीबीएस ग्रुप होल्डिङ्स लिमिटेड र ओभरसी–चाइनिज बैंकिङ कर्पोरेशनले धनीहरूको बढ्दो माग पूरा गर्न दुबईमा आफ्नो कार्य सञ्चालन विस्तार गरेका छन् ।

‘यो पक्कै पनि एक चेतावनी हो,’ हङकङस्थित मल्टि–फ्यामिली अफिस जेएमएस ग्रुपका प्रिन्सिपल फेलिक्स लाईले भने, ‘मानिसहरूले आफ्नो परिवार र पैसासहित मध्यपूर्व जाने निर्णयमा पुनर्विचार गर्नुपर्ने हुन सक्छ यद्यपि अहिल्यै निर्णय गरिहाल्नु चाँडो हुनेछ ।’

लाईले १५ जना ग्राहकहरूलाई ओमानबाट हङकङ उडाउन केही दिनभित्रै करिब ३ लाख डलरको लागतमा निजी जेटको व्यवस्था गरे । ‘उनीहरूलाई मूल्यको चिन्ता छैन,’ लाईले भने, ‘उनीहरू त्यहाँबाट निस्कन चाहन्छन् ।’

ब्लूमबर्ग न्युजसँगको अन्तर्वार्तामा धेरैले बसाइँ सर्नुअघि मध्यपूर्वमा हुने कहिलेकाहीँको अवरोधका लागि आफू तयार रहेको बताए पनि विस्फोटका आवाज सुन्नु र आकाशमै ड्रोन तथा रकेटहरू खसालिएको देख्नुले उनीहरूलाई समीक्षा गर्न बाध्य तुल्यायो ।

करिब दुई वर्षअघि कृषि व्यवसायमा संलग्न एक पाकिस्तानी परिवारको पैसा व्यवस्थापन गर्न दुबई सरेका तामूर परवेजले अहिले कुराहरू अनिश्चित रहेको बताए । ‘हामी यसै महिना एउटा सम्झौता टुंग्याउने तयारीमा थियौं तर अहिले त्यो रोकिएको छ,’ परवेजले भने, ‘यो धेरै हप्तासम्म चल्यो भने सम्झौताहरू रद्द हुन थाल्नेछन् ।’

आफ्नै फ्यामिली अफिस चलाउने र मध्यपूर्वसँगको सम्बन्ध प्रवर्धन गर्न सन् २०२३ मा हङकङमा एम्बेसडर क्लब स्थापना गर्ने प्याट्रिक साङले लामो समयसम्म युद्ध चलेमा शहरको प्रतिष्ठामा आँच आउन सक्ने बताए । यसले केही प्रवासीहरूलाई छोड्न प्रेरित गर्न सक्छ जसरी धेरै वर्षअघि लोकतन्त्र समर्थक दंगापछि धेरैले हङकङ छोडेका थिए ।

‘मलाई लाग्छ, त्यहाँबाट पलायन हुनेछ,’ साङले भने, ‘तपाईं एक प्रवासी हुनुहुन्छ भने आफ्नो परिवारको साथ किन जोखिम लिनुहुन्छ र ?’

यूएई बेलायतका धनी बासिन्दाहरूका लागि पनि लोकप्रिय गन्तव्य बनेको छ किनकि बेलायतले आफ्ना धनीहरूमाथि कर बढाउन खोजेको छ । ५० लाख कम्पनी फाइलिङको ब्लूमबर्ग विश्लेषणले व्यापारिक नेताहरू पलायन हुने ठूलो संख्या देखाउँछ जसमा यूएई र स्विट्जरल्यान्ड जस्ता सम्पत्ति केन्द्रहरूसँगै शीर्ष गन्तव्यको रूपमा रहेको छ ।

यसमा प्रिमियर लिगको एस्टन भिल्ला फुटबल क्लबका सह–मालिक नासेफ साविरीस, जो यूएई र इटालीको बीचमा समय बिताउँछन्, र भारतको सबैभन्दा ठूलो सम्पत्तिका मालिकमध्ये एकका उत्तराधिकारी ३९ वर्षीय श्राविन मित्तल समावेश छन् ।
यसैबीच, ब्लुक्रेस्ट क्यापिटल म्यानेजमेन्टका संस्थापक माइकल प्लाटले बेलायती टापु जर्सीको आफ्नो आवासीय अनुमति त्यागेर यूएईलाई आफ्नो घर बनाएका छन् ।

मित्तलको परिवारले भारतीय दूरसञ्चार क्षेत्रको दिग्गज भारती एयरटेललाई नियन्त्रण गर्दछ । उनीहरूले अबु धाबीमा आफ्नो सम्पत्ति व्यवस्थापन गर्न मद्दत गर्ने कम्पनीहरू स्थापना गरेका छन् । यूएईमा ठूलो मात्रामा भारतीय सम्पत्ति रहेको छ र धेरै विश्वव्यापी सम्पत्ति प्रबन्धकहरूसँग ती सम्बन्धहरू व्यवस्थापन गर्न समर्पित गैरआवासीय भारतीय डेस्कहरू छन् ।

उच्च सम्पत्ति भएका व्यक्तिहरूका लागि वित्तीय सेवा दिने एनेस ग्लोबलका संस्थापक र मुख्य कार्यकारी अधिकृत इस्ले रोबिन्सनले केही लगानीकर्ताहरू सावधानीका रूपमा यस क्षेत्रमा आफ्नो लगानी घटाउन खोजिरहेको बताए । तर, अरूले यसलाई खरिद गर्ने अवसरको रूपमा देख्न सक्छन् ।

दुई दिनको बन्दपछि खुलेको दुबईको सेयर बजारले पनि धक्का बेहोरेको छ । दुबई फाइनान्सियल मार्केट जनरल इन्डेक्स बुधबार ४.७ प्रतिशतले तल झरेर बन्द भयो जुन मे २०२२ पछिको सबैभन्दा ठूलो गिरावट हो । हप्ताको अन्त्यसम्म यो गिरावट जारी रह्यो ।

सन् २०२० को सुरुदेखि उपभोग वृद्धि, घरजग्गाको उछाल र वित्तीय सेवाहरूको विस्तारका कारण यो सूचकांक दोब्बरभन्दा बढी भएको थियो ।

यी आक्रमणहरूले एक स्थिर व्यापारिक केन्द्रको रूपमा यूएईको प्रतिष्ठालाई चुनौती दिए पनि केही लगानीकर्ता र बासिन्दाहरूले ब्लूमबर्ग न्युजलाई बताएअनुसार देशको बलियो पूर्वाधार र शासनले यसलाई पुनः पुरानै लयमा फर्कन र सम्भवतः अझ बलियो भएर निस्कन मद्दत गर्ने उनीहरूलाई लाग्छ ।

दुबईबाट हुने कुनै पनि दीर्घकालीन बहिर्गमन युद्ध कति समयसम्म चल्छ भन्ने कुरामा भर पर्नेछ ।

‘अनिश्चितता केही हप्तासम्म लम्बियो भने केही कम्पनीहरूले तत्कालका लागि विस्तार रोक्न सक्छन्,’ मध्यपूर्वमा कार्यालयहरू भएको धनी मानिसहरूको बसाइँसराइ सेवा मल्टीपोलिटनका प्रमुख कार्यकारी अधिकृत निर्भय हान्डाले भने ।