सम्पूर्ण अपडेट

निराशालाई आशामा बदल्ने अभिभारा नयाँ सरकारको काँधमा

98
Shares

चितवन । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा युवा पुस्ता उत्साहित बनेका छन् । उनीहरुले अब बन्ने स्थिर सरकारले रोजगारी सिर्जना र सुशासन दिनेमा ढुक्क छन् । जेनजी आन्दोलनपछि भएको आम निर्वाचनले दिएको परिणामलाई युवाहरुले सकारात्मक रुपमा लिएका छन् ।

भरतपुर महानगरपालिका–१० निवासी पृथ्वी धिताल अहिलेको परिवर्तन देशका लागि भएको बताउनुहुन्छ । युवा पुस्ताका लागि रोजगारी र सुशासन नै महत्वपूर्ण रहेको उनले बताए ।

उनले भने,’अहिले भएको निर्वाचनको परिणामले युवा पुस्तालाई सम्बोधन गर्छ ।’ यदि त्यसो हुन नसके फेरि अर्को विद्रोह नहोला भनेर भन्न नसकिने उनको भनाइ छ । उनले भने, ‘जेनजी आन्दोलन पछिको निर्वाचनले देशवासीलाई विश्वस्त बनाउनुपर्ने छ ।’ अहिले देशमा सुशासन कायम गदैं भ्रष्टाचार नियन्त्रण र युवालाई रोजगारीको वातारवरण सिर्जना गर्न अवश्यक रहेको उनले बताए ।

प्यूठानबाट उपचारका लागि बिरामी लिएर चितवन आउनु भएका प्रेम श्रेष्ठ अब बन्ने सरकारले परिवर्तन गर्न आवश्यक रहेको बताउँछन् । उनका अनुसार शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा काम गर्न सकेन भने अहिलेको परिवर्तनसमेत खेरा जाने चिन्ता उनमा छ । जेनजी आन्दोलन पछि बन्न लागेको सरकारमा जनताको अपेक्षा पूरा गर्न सक्ने क्षमता हुन आवश्यक रहेको उनले बताए ।

भरतपुर महानगरपालिका–२ क्षेत्रपुर निवासी प्रवास पराजुली अब सुशासनको प्रत्याभूति हुन आवश्यक रहेको बताउँछन् । उनले अब बन्ने सरकारले भ्रष्ट्राचार नियन्त्रण र सुशासनको पक्षमा कसरी काम गर्छ भन्ने हेर्ने समय आएको बताए । उनले भने, ‘वैदेशीक रोजगारीमा रहेका युवालाई स्वदेश फर्काउने र नेपालका उद्योग कल कारखाना सञ्चालन गरेर रोजगारी सिर्जना गर्दै देशको आर्थिक संवृद्धिमा लाग्न आवश्यक छ ।’

भरतपुर महानगरपालिका–१४ निवासी रचना दाहाल अहिलेको परिवर्तनलाई कमजोर सोच्न नहुने बताउँछिन् । उनले भनिन्, ‘यो परिवर्तनलाई कमजोर सोच्ने हो भने फेरि अर्को विद्रोह हुनसक्छ । यो परिवर्तनलाई आत्मसाथ गर्दै देश र जनताको पक्षमा काम गर्न अब बन्ने सरकार लाग्नुपर्छ ।’ जनताले परिवर्तनको पक्षमा देखाएको मत खेर जान दिने छुट कसैमा नभएको भन्दै उनले भ्रष्ट्राचार नियन्त्रण, स्वास्थ्य, शिक्षा र रोजगारीलाई मूलमर्म मान्न आग्रह गरिन् ।

युवाहरुले अब बन्ने सरकारले पाएको मत अनुसार देशलाई अगाडि बढाउनेमा ढुक्क छन् । अन्य दलहरुले सरकारलाई निगरानीमा राखेर काम गर्न दिनुपर्नेमा उनीहरुको जोड छ । शिक्षा र रोजगारीका लागि युवा शक्ति विदेश जानबाट रोकेर यही पढ्ने र काम गर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्नेमा धेरैको जोड छ ।

सरोकारवाला नियकायसँग छलफल गरी जनताको निराशालाई आशामा बदल्न उनीहरुले सुझाएका छन् ।