सम्पूर्ण अपडेट

न बुथ कब्जा, न घाइते : यसपटकको निर्वाचन शान्तिपूर्ण, २०७९ मा ४ जनाको ज्यान गएको थियो

175
Shares

काठमाडौं । सुरक्षाका दृष्टिले चुनौतीपूर्ण मानिएको यसपटकको निर्वाचन अपेक्षाभन्दा निकै शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । विगतका निर्वाचनको तुलनामा हिंसात्मक घटना, झडप, बुथ कब्जा र मानवीय क्षतिका घटना नदेखिएकाले सुरक्षाका हिसाबले यसलाई ऐतिहासिक रूपमा सफल मानिएको छ।

निर्वाचनअघि सुरक्षाकर्मीहरूबीच भने अवस्था सहज नहुने अनुमान गरिएको थियो। निर्वाचनको करिब एक महिनाअघि एक प्रहरी अधिकृतले अनौपचारिक रूपमा सुरक्षा चुनौतीबारे चिन्ता व्यक्त गर्दै प्रहरीको मनोबल कमजोर रहेको बताएका थिए।

उनका अनुसार पछिल्लो समय देखिएको ‘जेनजी आन्दोलन’, हतियार लुटपाट, कैदीबन्दी फरार हुने घटनालगायत कारणले सुरक्षा अवस्था चुनौतीपूर्ण बनेको थियो। स्रोतसाधनको अभाव, बन्दोबस्ती सामग्रीको कमी तथा सुरक्षाकर्मीको मनोबल कमजोर हुनु पनि चिन्ताको विषय बनेको थियो।

तर ती सबै आशंका विपरीत निर्वाचन अपेक्षाभन्दा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले जटिल परिस्थितिका बीच सम्पन्न भएको यो निर्वाचन सुरक्षाका हिसाबले ऐतिहासिक भएको बताएका छन्।

उनले विगतका विभिन्न निर्वाचनमा आफू प्रत्यक्ष संलग्न भएको अनुभव सुनाउँदै अहिलेको निर्वाचन निकै व्यवस्थित र शान्तिपूर्ण रहेको बताए।

उनका अनुसार पञ्चायतकालदेखि विभिन्न राजनीतिक कालखण्डमा निर्वाचन गराइएको अनुभव भए पनि अहिलेको जस्तो चुनौतीपूर्ण अवस्थाबीच शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन दुर्लभ उदाहरण हो।

यसपटकको निर्वाचनमा सुरक्षा व्यवस्था, मतदान व्यवस्थापन, झडपका घटना तथा मानवीय क्षतिको दृष्टिले उल्लेखनीय सुधार देखिएको छ।

२०७९ को निर्वाचनमा हिंसात्मक घटना

यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा भने देशका विभिन्न जिल्लामा राजनीतिक दलका कार्यकर्ता र समर्थकबीच व्यापक झडप भएका थिए।

ती घटनाका कारण कतिपय स्थानमा मतदान नै स्थगित गर्नुपर्ने अवस्था आएको थियो। सो निर्वाचनका क्रममा बाजुरामा २ जना र कालिकोटमा २ जना गरी ४ जनाको मृत्यु भएको थियो।

त्यसबाहेक इलाम, सप्तरी, दोलखा, दाङ, नवलपरासी पश्चिम, हुम्ला, दार्चुला, ललितपुर, तनहुँ, म्याग्दी, खोटाङ र भोजपुरमा गरी २३ जना घाइते भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ।

यस्तै ताप्लेजुङ, इलाम, भोजपुर, उदयपुर, सिरहा, कास्की, नवलपरासी पश्चिम, दाङ, दैलेख, मुगु र दार्चुलालगायत जिल्लामा विस्फोटक पदार्थ राखेर निर्वाचन प्रक्रिया बिथोल्ने प्रयाससमेत गरिएको थियो।

त्यसबेला ताप्लेजुङदेखि कञ्चनपुरसम्म २९ जिल्लाका ५० स्थानमा झडपका घटना भएका थिए। उदयपुर, दोलखा र सिन्धुपाल्चोकमा बुथ कब्जाका घटना भएका थिए भने देशभर ६२ मतदानस्थलमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको थियो।

यसपटक सामान्य विवाद मात्र

यसपटकको निर्वाचनमा भने त्यस्ता घटना दोहोरिएनन्। दोलखाको मालु क्षेत्रमा सामान्य विवाद भएपछि प्रहरीले तीन राउन्ड हवाई फायर गर्नुपरेको थियो। केही समय रोकिएको मतदान पुनः शान्तिपूर्ण रूपमा सञ्चालन भएर सम्पन्न भएको थियो।

यसअघि भने दोलखामा निर्वाचनका क्रममा पटक–पटक झडप र ज्यान जाने घटना समेत भएका थिए।

सुरक्षा संयन्त्रको समन्वय

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका अनुसार मतदान केन्द्रहरूमा सुरक्षाकर्मीको उपस्थितिलाई व्यवस्थित र प्रभावकारी बनाइएकाले ठूलो झडप वा हिंसात्मक घटना हुन पाएन।

मतदानका क्रममा केही स्थानमा सामान्य विवाद देखिए पनि सुरक्षाकर्मीले संयमित र प्रभावकारी ढंगले स्थिति नियन्त्रणमा लिएपछि मतदान प्रक्रिया सहज रूपमा सम्पन्न भएको उनको भनाइ छ।

निर्वाचन सुरक्षाका लागि सातै प्रदेशमा प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) परिचालन गरिएको थियो।

यसका साथै नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन सुरक्षामा खटिएका प्रहरीको भूमिका पनि उल्लेखनीय रहेको बताइएको छ।

निर्वाचनअघि नै माघ २१ गतेदेखि नेपाली सेना परिचालन गरेर सुरक्षा अवस्था व्यवस्थित बनाइएको थियो।

सुरक्षा निकायका अनुसार यसपटक सेनासहित सबै सुरक्षा संयन्त्रबीच भएको प्रभावकारी समन्वयका कारण निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्भव भएको हो।