सम्पूर्ण अपडेट

चुनावी सरकारबाट बाहिरिएका तीन पूर्वमन्त्रीको शानदार जित, ‘दम्भका कारण’ कुलमानले मात्रै हारे

203
Shares

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारबाट चुनाव लड्न बाहिरिएका चार जना मन्त्रीमध्ये तीन जनाले शानदार जित हासिल गरेका छन् ।

कार्की नेतृत्वको सरकारमा ऊर्जा तथा जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको नेतृत्व गरेका तत्कालीन मन्त्री कुलमान घिसिङ चुनावी प्रतिस्पर्धामा पराजित भएका छन् । उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिस्पर्धा गरेका थिए ।

घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेसँग पराजित भएका हुन् । पाण्डेले १८ हजार ७५७ मत ल्याउँदा घिसिङले ११ हजार १७१ मत मात्रै ल्याएका थिए ।

सरकार छोड्नुअघि आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीलाई रास्वपामा मिलाएर घिसिङले चुनावमा जाने सहमति गरेका थिए । तर घिसिङले सरकारबाट बाहिरिएलगत्तै रास्वपासँग भइसकेको सहमतिपछि बार्गेनिङ गरेर पूर्वसहमति तोडे र आफैँ उज्यालो पार्टीको नेतृत्व गरे । आफ्नो पार्टीको अस्तित्व जोगाउन भन्दै चुनावमा होमिएका घिसिङले हारेसँगै उनको पार्टीले एक सिट पनि जितेको छैन ।

चुनावी सरकारबाट मनोनयन गर्ने अघिल्लो दिन मात्रै बाहिरिएका तत्कालीन सञ्चारमन्त्री जगदीश खरेल, तत्कालीन युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र तत्कालीन शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले भने जित हासिल गरेर सांसद हुन सफल भएका छन् ।

खरेल ललितपुर क्षेत्र नम्बर २ बाट विजयी भएका छन् । खरेल ३२ हजार ७१ मतान्तरसहित ३९ हजार ४९१ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४२० मत मात्रै पाएका छन् ।

सञ्चार कर्मबाट सञ्चारमन्त्री भएका खरेल तीन महिनामात्रै सरकारमा बसेका थिए । उनी ताजा जनादेशबाट सांसद बनेर संसद् भवन प्रवेश गर्न सफल भएका छन् ।

महावीर पुनले भने कुनै चर्चा र हल्लाविना नै सरकार छोडेर एक्कासी चुनावी प्रतिस्पर्धाका लागि मनोनयन गर्न म्याग्दी पुगेका थिए । उनले सनकको भरमा मन्त्री पद छोडेर हिँडेका थिए । म्याग्दी पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि मात्रै उनले चुनाव लड्न मन्त्री पद छोडेको विषय बाहिरियो ।

पुनले म्याग्दीबाट नेकपा एमालेका हरिकृष्ण श्रेष्ठलाई करिब १५ हजार मतान्तरले पराजित गरेका छन् । पुनले २२ हजार ८५० मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ७ हजार ९१९ मत मात्रै पाएका छन् । यद्यपी पुनलाई रास्वपाले नै चुनावमा समर्थन गरेर जित निकाल्न सघाएको छ ।

युवा तथा खेलकुद मन्त्री छोडेर सिराहा १ बाट चुनावी प्रतिस्पर्धामा रहेका बब्लु गुप्ताले पनि जित हासिल गरेका छन् । गुप्ताले नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई ३१ हजार ५३८ मत अन्तरले पराजित गरेका छन् । गुप्ताले ४१ हजार ३२२ मत ल्याएर विजयी हुँदा चौधरीले ९ हजार ७८४ मत मात्रै प्राप्त गरेका छन् ।