सम्पूर्ण अपडेट

धनुषा १ मा उम्मेदवारी खारेज भएका रास्वपा उम्मेदवार १३ हजारभन्दा बढी भोटले अगाडि

3.3k
Shares

जनकपुरधाम । उमेदवारी खारेज भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा १ का उमेदवार किशोरी साह कमलले २१ हजार मत पाएका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न ‘घण्टी’ मा सबैभन्दा बढी मत परेको देखिएको हो।

पछिल्लो मतपरिणामअनुसार घण्टीमा २० हजार ९१६ मत खसेको छ । यो मतपरिणाम अन्य उम्मेदवारले पाएको मतभन्दा १३ हजारभन्दा बढी हो।

तर घण्टी चिह्नका उम्मेदवार साहको उम्मेदवारी निर्वाचन आयोगले चुनावको दुई दिनअघि खारेज गरिसकेकाले उक्त मतको गणना सम्बन्धी विषय विवादित बनेको छ। यही कारण आयोगले अहिलेसम्म उक्त क्षेत्रको औपचारिक मतपरिणाम सार्वजनिक गरेको छैन।

पछिल्लो मतगणनाअनुसार उम्मेदवारी कायम रहेका उम्मेदवारहरूमध्ये नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादव ७ हजार ५६६ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका रामपल्टन साह ७ हजार ४२८ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका रामचन्द्र मण्डल ६ हजार ६०५ मतसहित तेस्रो स्थानमा रहेका छन्।

सबैभन्दा बढी मत पाएको घण्टी चिह्नका उम्मेदवारको उम्मेदवारी नै खारेज भएपछि अन्तिम परिणाम कस्तो हुने भन्ने विषयमा अन्योल देखिएको छ।

साहविरुद्ध फागुन १० गते निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । साहको स्वामित्वमा रहेको ‘कमल निर्माण सेवा’ कालोसूचीमा रहेको दाबी गर्दै उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उक्त उजुरी फागुन ११ गते निर्वाचन आयोगमा पठाएको थियो।

त्यसपछि आयोगले फागुन १४ गते साहसँग स्पष्टीकरण र प्रमाण पेस गर्न निर्देशन दिएको थियो। आवश्यक कागजातको अध्ययनपछि आयोगले फागुन १८ गते उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो।

उम्मेदवारी खारेज भएपछि साहले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। उक्त रिटमा हालसम्म कुनै आदेश जारी भएको छैन भने फागुन २४ गतेका लागि पेसी तोकिएको छ।

यसबीच घण्टी चुनाव चिह्नमा परेको मतको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग निर्णय माग गरेको थियो।

आयोगले तीन बुँदे निर्देशन जारी गर्दै घण्टी चिह्नमा स्वस्तिक छाप लागेका मतपत्रको छुट्टै लगत राख्दै गणना गर्न निर्देशन दिएको छ। अन्य उम्मेदवारका मतपत्रको गणना गरी निर्वाचन परिणाम प्रकाशन गर्न पनि आयोगले निर्देशन दिएको छ।