सम्पूर्ण अपडेट

काठमाडौं–४ मा पछिपरेपछि एमाले सचिव राजनले भने: अर्को चुनावमा उम्मेदवारी दिन्न

532
Shares

काठमाडौं । नेकपा एमालेका सचिव राजन भट्टराईले आगामी संसदीय निर्वाचनमा काठमाडौं–४ बाट उम्मेदवारी नदिने घोषणा गरेका छन् । यस क्षेत्रबाट ठूलो मतान्तरले पछाडि परेपछि उनले यस्तो निर्णय गरेका हुन् ।

भट्टराईले यसपटक पनि अन्तिम समयमा मात्रै उम्मेदवारी दिने निर्णय गरेको बताए। काठमाडौं–४ मा दुई पटक हार व्यहोरिसकेका उनले नेपाली कांग्रेसका सभापति गगन थापा उक्त क्षेत्रबाट नलड्ने भएपछि मात्र उम्मेदवारी दिन राजी भएका थिए।

भट्टराईले भने, “म यहाँहरूका बीच सूर्य चिह्न लिएर निर्वाचनमा आएको थिएँ। तर यसपटक पनि यहाँहरूको विश्वास जित्न सकिन। लोकतन्त्रमा जनअभिमत नै अन्तिम र सर्वोच्च हुन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै, यस निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गर्दछु। विजयउन्मुख मित्र तथा सम्बन्धित दललाई हार्दिक बधाई ज्ञापन गर्दछु। निर्वाचनका क्रममा सहयोग, साथ र समर्थन दिनुहुने पार्टीका कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा सम्पूर्ण जनसमुदायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।”

उनले थपे कि राजनीतिमा पराजय अन्तिम सत्य नभएको हुनाले यो आत्मसमीक्षा र नयाँ पाठ सिक्ने अवसर पनि भएको छ।

“इतिहासले देखाएको छ-आत्मसमीक्षा, सुधार र जनतासँगको सम्बन्धलाई पुनः सुदृढ गर्दै अघि बढ्दा फेरि जनताको विश्वास जित्न सकिन्छ। लोकतान्त्रिक यात्रामा धैर्यता, आत्ममूल्यांकन र निरन्तरता सधैं महत्वपूर्ण रहन्छ। अन्त्यमा मेरो व्यक्तिगत निर्णय; आगामी कुनै पनि निर्वाचनमा म यस क्षेत्रबाट उम्मेदवार नबन्ने पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु।”